बिहीबार, वैशाख १३, २०८१

भूमिसुधारमन्त्रीले नै खोला आफ्नो बनाएर बेचे

०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडाैं- ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ ।

triton college

आचार्यले भक्तपुरको हनुमन्ते खोलाको जग्गा ०३१ मै जिल्ला भूमि प्रशासन कार्यालयबाट निर्णय गराई आफ्नो नाममा गराएका हुन् ।

०२१ को नापीले मध्यपुर थिमि नगरपालिका–३ सागबारीस्थित २८ रोपनी तीन आना दुई पैसा जग्गा कित्ता नम्बर १०१२ मा हनुमन्ते खोलाको नाममा दर्ता गरेको थियो । तर, खोलाले धार परिवर्तन गरेको मौका छोपी ३१ वैशाख ०३१ मा आचार्यले खोलाको १७ रोपनी १४ आना आफ्नो नाममा दर्ता गरे ।

जिल्ला मालपोत कार्यालय भक्तपुरको जग्गाधनी पुर्जा स्रेस्ताअनुसार खोलाको कित्ता १०१२ लाई ११२० र ११२१ मा टुक्र्याएर ११२० को १७ रोपनी १४ आना उनले आफ्नो नाममा दर्ता गरेका थिए ।

भूमि प्रशासनको निर्णयबमोजिम खोलाको जग्गा आचार्यले आफ्नो नाममा दर्ता गरेको भन्ने मालपोतको लिखतमा उल्लेख छ । जग्गा दर्ता गराउने अधिकृत र सर्वेक्षकको नाम प्रस्ट नबुझ्ने गरी किर्ते गरिएको छ ।

corrent noodles
Metro Mart

कित्ता नम्बर ११२१ को जग्गा भने सरकार वा व्यक्ति कसको नाममा गरिएको भन्ने कार्यालयको ढड्डाबाट स्पष्ट खुल्दैन । नापी कार्यालय भक्तपुरले कित्ता नम्बर ११२१ को नक्सा भए पनि सो जग्गा खोला वा व्यक्तिको नाममा रहे–नरहेकोबारे स्पष्ट नभएको जनायो ।

खोलाको जग्गा आफ्नो नाममा ल्याएपछि उनले कित्ताकाट गरेर परिवारका सदस्यको नाममा समेत सारे । चार वर्षपछि कित्ता ११२० को १७ रोपनी १४ आनालाई बराबर दुई टुक्रा लगाएर कित्ता ११३० र ११३१ मा आठ रोपनी १५ आनाका दरले बनाए ।

उनले ५ असार ०३५ मा कित्ता ११३१ श्रीमती विमला उपाध्याय (मालपोतको रेकर्डमा बिमली) र कित्ता ११३० शिवबहादुर उप्रेतीको नाममा रजिस्ट्रेसन गराए ।

त्यसपछि पटक–पटक कित्ताकाट गर्दै अहिलेसम्म आइपुग्दा आचार्यले सबै जग्गा बेचिसकेका छन् । उक्त जग्गा धेरैपटक धेरै व्यक्तिका नाममा किनबेच भइसकेको छ । हनुमन्ते खोला धार परिवर्तन गरेर अहिले व्यक्तिका निजी जग्गामा बगिरहेको छ ।

तर, आचार्यले अतिक्रमण गरेको खोलाको जग्गामा भने घरहरू बनिसकेका छन् । कतिपय ठाउँमा प्लटिङ भएका छन् । कतै कृषि उपार्जनका लागि टनेलहरू बनेका छन् । मालपोत कार्यालय भक्तपुरको ढड्डा पल्टाउँदा सो क्षेत्रमा अहिले आचार्यका कुनै पनि पारिवारिक सदस्यको नाममा जग्गा देखिँदैन ।

आचार्यका माइला छोरा विनोद भने पञ्चायत सरकारले बुबाको नाममा रहेको सबै सम्पत्ति जफत गरेको र पछि आधार, प्रमाण पु¥याएरै फिर्ता ल्याएको दाबी गर्छन् ।

‘हनुमन्ते खोलाको जग्गा ०३१ मा बुबाले आफ्नो नाममा ल्याएको सही हो । आधार र प्रमाणविना आफ्नो नाममा दर्ता गरिएको होइन । बुबाले हामीलाई भन्नुभएअनुसार तत्कालीन भूमिसुधार प्रशासन कार्यालयमार्फत प्रमाण पुर्‍याएरै आफ्नो नाममा ल्याइएको हो,’ उनले भने । तर, पञ्चायत होस् या बहुदल या गणतन्त्र जुनसुकै शासन व्यवस्थामा पनि खोलाको जग्गा सधैँ राज्यकै हुन्छ, विनोद आचार्यले भनेजस्तो न व्यक्तिको हुन्छ, न त सरकारले आफ्नै जग्गा जफत गर्ने भन्ने हुन्छ ।

पूर्वमन्त्री आचार्यले हनुमन्ते खोलाको जग्गा आफ्नो बनाएको पुष्टि छोरा विनोदको झुटो दाबीले पनि गर्छ । जग्गा आफ्नो नाममा ल्याएपछि बुबाले त्यही जग्गा बैंकमा राखेर धितो निकालेको, मिल चलाएको र पछि ऋण तिर्न एक खण्ड शिवबहादुर उप्रेतीलाई बेचेको पनि विनोदले स्विकारेका छन् ।

०१५ मै सांसदमा निर्वाचित आचार्य ०२१ को नापी हुँदा भारतमा निर्वासित जीवन बिताइरहेका थिए । ०२५ मा नेपाल फर्किएका उनले नापीको १० वर्षपछि खोलाको जग्गा आफ्नो बनाएका थिए । त्यसको १७ वर्षपछि ०४८ मा उनी भूमिसुधार तथा व्यवस्थामन्त्री बनेका थिए ।

खोलाको जग्गा आफ्नो बनाउने आचार्य कांग्रेस वृत्तमा भने भूमिसुधारमा लड्ने क्रान्तिकारी नेता गनिन्थे । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्मा आचार्य क्रान्तिकारी मन्त्री रहेको कांग्रेस नेताहरू बताउँछन् ।

मोही किसानको पक्षमा आवाज उठाएकै कारण प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र राजपरिवारसँग सम्बन्ध चिसिएपछि आचार्यले मन्त्रीबाट राजीनामा दिनुपरेको ‘जगन्नाथ आचार्य स्मृति प्रतिष्ठान’ले प्रकाशित गरेको पुस्तकमा कांग्रेस नेताहरूले लेखेका छन् ।

रामचन्द्र पौडेल, बलबहादुर केसी, नरहरि आचार्य, अर्जुननरसिंह केसीलगायत नेताहरूले उनी मोही किसानका निष्ठावान र कर्मयोगी नेता भएको उक्त पुस्तकमा लेखेका छन् । आचार्यले १० वैशाख ०५० मा मन्त्रीबाट राजीनामा दिएका थिए । २६ वैशाख ०६१ मा उनको निधन भइसकेको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित: Jan 16, 2020| 08:22 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।