काठमाडौं– इनरुवामा जारी मनमोहन मेमोरियल स्मृति कपको पहिलो सेमिफाइनल खेल सकिएको छ । खेलबाट विभागीय टोली त्रिभुन आर्मी क्लब फाइनल प्रवेश गरेको छ ।
आज भएको खेलमा प्रदेश ३ लाई ६४ रनले हराउँदै आर्मीले फाइनल यात्रा तय गरेको हो । ४६.३ ओभरमा पूरै विकेट गुमाउँदै आर्मीले २१६ रन बनाएर २१७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रदेश ३ ले ३८.१ ओभरमा पूरै दश विकेट गुमाएर १५२ रनमात्र बनाउन सक्यो ।
प्रदेश ३ का ओपनर रित गौतम एक रन पनि नलिई आउट भए । उनी पहिलो बलमै आउट भएका थिए । त्यस्तै र्का ओपनर सुवास खकुरेलले १५ बल खेलेर २ चौका हान्दै १५ रन बनाए । रितलाई विक्रम सोबले मैदान बाहिर पठाएका थिए भने सुवास रन आउट भए ।
त्यस्तै ३ चौकाका साथ ३३ बलमा १७ रन प्रहार गरेका इशान पाण्डेलाई हरिबहादुर चौहानले आउट गराएका थिए। लक्ष्य भेट्न कसरत गरिरहेको प्रदेश ३ लाई सोनु तामाङले सर्वाधिक योगदान दिए । उनले ४ चौकाको मद्दतमा ७५ बलमा ७४ रन बनाए । कुशल मल्लको बल भीम सार्कीले क्याच गरेपछि तामाङ आउट भएका थिए । यसबाहेक कसैले पनि दोहोर अंक जोड्न सकेनन् ।
आर्मीका तर्फबाट शुसन भण्डारीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै शहबाव आलमले २ विकेट लिए भने विक्रम सोब, हरिबहादुर चौहान, हरिकृष्ण झा र कुशल मल्लले समान एक–एक विकेट लिए ।
खेलको पहिलो हाफमा आर्मीका लागि सर्वाधिक रन अनिल मण्डलले बनाए। उनले ७४ बलमा ३ चौकासँगै ४३ रन बनाए । मण्डललाई तिलक राजभण्डारीले आउट गराएका थिए ।
ओपनर हरिकृष्ण झाले २५ बलमा २४ को स्ट्राइक रेट बनाउँदै ६ रन जोडे । उनलाई बाहिर पठाउन गौतम केसीले फालेको बल आदिल खानले क्याच गरे । झा बाहिरिएपछि मैदान प्रवेश गरेका हरिबहादुर चौहानले ९ बल खेलेर एक रनभन्दा धेरै जोड्नै सकेनन् ।
चौहानलाई पनि गौतम केसीले आउट गराएका थिए । त्यस्तै ३७ बल खेलेर २९ रन बनाएका रोहित पौडेलले ४ चौका प्रहार गरे । खेलको लयमा जमिसकेका पौडेललाई नन्दन यादवले मैदानबाहिर पठाएका थिए । यादवको बल रामनरेश गिरीले क्याच गरेपछि पौडेल आउट भए ।
राजेश पुलामी १५ ओभरमा १७ रन निकाल्दै बाहिरिए । उनले ४ चौका प्रहार गरेका थिए ।
त्यस्तै विनोद भण्डारीले २० बलमा ६ रन प्रहार गरे । २६ बलमा ३७ रन बनाउँदै आक्रामक सुरुवात गरेका कुशल मल्लले ४ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै विक्रम शोव, शुसन भारीले क्रमशः २४ र १३ रन बनाएका छन् । शाहब आलम एक बलमा एक रन ल्याएर अविजित रहे । प्रदेश ३ का तर्फबाट गौतम केसी, तिलक भण्डारी, नन्दन यालव र इसान पाण्डेले समान २२ विकेट लिए ।