इटहरी– संखुवासभा चैनपुरकी सुमित्रा शाक्य धरानमा धातुका हस्तकलाका सामान बनाउँछिन्। २०५४ मा विवाह गरेर धरान आएकी उनले धातुका हस्तकला सामान बनाउन थालेको दशक पुगिसक्यो।
उनको कला राम्रो छ। बजारमा माग पनि राम्रो छ। तर, ब्रान्ड भने ढाँट्नुपर्ने बाध्यता छ। ‘धराने करुवा भन्दा बिक्दैन। जत्ति नै राम्रो बनाए पनि चैनपुरकै भन्नुपर्ने बाध्यता छ,’ उनले सुनाइन्।
शुद्ध मैन, माटो, कोइला र धातु प्रयोग गरेर करुवालगायत सामान बनाउँछिन् शाक्य। शुभकार्यमा प्रयोग हुने कलश, बत्ती बाल्ने पानस, पानी राख्ने करुवा, अम्खोरादेखि नेवार समुदायमा रक्सी राख्न प्रयोग हुने अन्तिलगायत धेरै सामग्री उनकोमा पाइनछ।
धरान–१५ पाथीभरा लाइनमा रहेको आफ्नो घरमा पानस, अन्ति, कलशलगायत विभिन्न नेपाली दैनिक जीवनमा प्रयोग हुने घरेलु सामान बनाउने शाक्य धरानले ब्रान्ड बेच्न नपाएकोमा दुःखी छिन्। भन्छिन्, ‘मेटलका सामान धरानमा बन्छन् भन्ने धेरैलाई थाहा छैन। अब हामी थाहा दिने सोचाइमा छौँ।’
२२ सयदेखि दुई लाख रुपैयाँसम्मका धातुका सामान बनाउने शाक्यले पछिल्लो समय विभिन्न मेला, महोत्सवमा धराने धातुका सामानको प्रदर्शनी गरिरहेकी छिन्। केही महिनाअगाडि धरानमा भएको महिला उद्यमी मेलामा त उनी पुरस्कृतसमेत भइन्।
मैनबाट विभिन्न आकृतिका फर्मा बनाएर धातुका सामान बनाउन कम्तिमा दुई महिना लाग्छ। शाक्यका अनुसार साना ५० वटा अन्ति बनाउन दुई महिना लाग्छ। ठूलो आकारको पानस बनाउन तीन महिना लाग्छ। फर्मामा आकृति बनाएर विभिन्न बुट्टेदार सामान बनाउन थप हातको कला आवश्यक पर्ने शाक्य बताउँछिन्।
आगोमा धातु पगालेर बन्ने धातुका सामानलाई मौसम पनि सहज हुनुपर्छ। समयमा घाम नलागेमा मेहनत खेर जान्छ। झन्झटिलो काम भएकोले नयाँ यता आकर्षित हुन नसकेको शाक्य सुनाउँछिन्।
श्रीमान् विराटकाजी शाक्यसँगै जेठाजुको परिवार पनि मिलेर उनीहरु धातुका सामान बनाउँछन्। यो उनीहरुको पुस्तैनी पेशा हो। नयाँ पुस्ता यो पेशामा नआएकोमा उनको दुखेसो छ। ‘बाहिर पढेर आएका मेरै छोराछोरी यो काम जान्दैनन्,’ उनले भनिन्।
बजारमा माग राम्रो भए पनि उत्पादन भने सकेजति गर्न नसकिएको शाक्यले सुनाइन्। उनका अनुसार एउटा पसलमै सामान दिँदा वर्षभरिको मेहनत सकिन्छ। एउटा राम्रो सामान तयार गर्नै दुई महिना लाग्ने भएकोले वर्षमा एक दर्जनभन्दा बढी स्तरीय सामान बनाउन सकिँदैन।
आफ्ना उत्पादनको विज्ञापन नगरे पनि धराने ब्रान्ड बनाउन भने आफू सक्रिय भएको शाक्यको भनाइ छ। भन्छिन्, ‘राम्रो सामान बनाउन सफल भएका छौँ। अब धरानकै नाममा बेच्न सफल हुने आशा छ।’