शुक्रबार, चैत २८, २०७६

समाचार समाज

जुन शब्दलाई कोरोनाले चर्चित बनायो

1585031590collageeee.jpg

झन्डै तीन महिनादेखि विश्व एउटा संक्रामक रोगसँग लडिरहेको छ। जन्मिदा नोवल कोरोना भाइरस भनिएको र पछि कोभिड–१९ नाम राखिएको भाइरसले विश्व नै हल्लाइदिएको छ।

डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तस्थित वुहान सहरमा देखा परेको यो भाइरसको चर्चा नेपालमा पनि तत्कालै सुरु भयो। कोरोना संक्रमितको उपचारका लागि रातारात अस्पताल बनेको, वुहानमा रहेका नेपालीका कुरा, उद्धारका लागि नेपाल सरकारलाई उनीहरुले गरेको आग्रह र दबाब आदि नेपाली सञ्चारमाध्यमका लागि मुख्य विषयवस्तु बन्न थाले।

वुहानमा रहेका १७५ नेपालीलाई एयरलिफ्ट गरेर ल्याएपछि त झन् कोरोना भाइरसले मिडियामा ठाउँ नपाएको कुनै दिन छैन। अहिले आम मानिसकै मुखमा झुण्डिएको छ- कोरोना।

कोरोना भाइरससँगै केही नयाँ शब्दहरु आम प्रयोगमा आए भने निकै कम प्रयोगमा आउने शब्दहरुको प्रयोग पनि व्यापक बन्यो।

क्वारेन्टाइन

सामान्यतयाः क्वारेन्टाइन भन्नाले विदेशबाट पशुपन्छी आयात गर्दा तिनको स्वास्थ्य परीक्षण गर्ने कार्यलाई बुझिन्छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुसेवा विभाग अन्तर्गत पशु क्वारेन्टाइन कार्यालय छ।

वुहानबाट उद्धार गरेर ल्याइएका नेपालीहरुलाई राख्न भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन बनाएपछि भने क्वारेन्टाइन मानिसमा पनि लागु हुने रहेछ भन्ने धेरैलाई थाहा भयो।

कुनै पनि सरुवा रोग संक्रमणको लक्षण देखिएमा वा शंका लागेमा परीक्षणको रिपोर्ट नआउन्जेल अरूबाट अलग बस्नुलाई क्वारेन्टाइनमा बस्नु भनिन्छ। रोग फैलन नपाओस् भनेर शंकास्पद व्यक्तिलाई विशेष निगरानीसहित क्वारेन्टाइनमा राखिन्छ।

घरमै कसैसँगको सम्पर्क–संसर्ग बिना परहेजमा बस्नुलाई चाहिँ होम वा सेल्फ क्वारेन्टाइन भनिन्छ।

आइसोलेसन

आइसोलेसन भनेको एकान्तबास हो। यसको अर्थ रोगको सम्भावित संक्रमणबाट बच्न बाहिरी सम्पर्कबाट अलग बस्नु हो। आइसोलेसन एक्लै वा परिवारका सदस्यहरूबीच सीमित राख्नुपर्छ। अरूसँग भेटघाट वा प्रत्यक्ष सम्पर्कमा जानु हुँदैन। आइसोलेसन अस्पताल वा घरमै पनि हुनसक्छ।  संक्रमण पुष्टि भएपछि एक्लै राखेर उपचार गर्नुलाई पनि आइसोलेसन भनिन्छ।

लकडाउन

‘लकडाउन’ भनेको एक किसिमले ‘कर्फ्यु’ जस्तै हो। लकडाउन हुँदा नागरिकहरु घरबाट निस्किन पाउँदैनन्। औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्किन पाइन्छ।

सुरक्षा निकाय, खानेपानी, सञ्चारलगायत अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधन पनि बन्द हुन्छन्।

लकडाउनको अवस्थालाई जनाउने नेपाली शब्द पनि छ– बन्दाबन्दी। नेपाली शब्दकोषका अनुसार बन्दाबन्दी भनेको ‘झ्यालकोढा, बाटोघाटो आदि सबै बन्द हुने काम, पूरा मात्रामा बन्द भएको, सबैतिर थुनिएको’ अवस्था हो।  

स्यानिटाइजर

हातको सरसफाइको लागि प्रयोग गरिने अल्कोहलयुक्त वस्तु हो– स्यानिटाइजर। यसले हातमा भएका किटाणु नष्ट गर्छ। कोभिड–१९ को जोखिमसँगै यसको प्रयोग बढेको छ। स्यानिटाइजरको कहिल्यै प्रयोग नगर्नेहरु पनि अहिले पकेटमा बोकेर हिँडेका भेटिन्छन्।

साबुन–पानी उपलब्ध नभएको अवस्थामा मात्र स्यानिटाइजर प्रयोग गर्नु राम्रो हुन्छ। कुनै वस्तु छोएमा, छोइएमा साबुन–पानी नहुने ठाउँमा यसलाई प्रयोग गर्न सकिन्छ। बजारमा दुई सयदेखि चार–पाँच सयसम्मको स्यानिटाइजर पाइन्छ।

एयरलिफ्ट

हुन त एयरलिफ्ट शब्द नयाँ होइन तर कोरोनासँगै केही दिन यो शब्द नेपाली मिडियामा छायो। वुहानमा कोरोना संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजले 'एयरलिफ्ट' गरेको थियो। एयरलिफ्टलाई नेपालीमा हवाई उद्धार भन्न सकिन्छ। चार वर्षअघि एयरलिफ्ट नामको हिन्दी फिल्म बनेको थियो ।

सन् १९९० मा कुवेतमाथि इराकले गरेको आक्रमण र त्यसपछि त्यहाँ बस्दै आएका भारतीय नागरिकले भोग्नुपरेको समस्याबारे चलचित्र बनेको थियो। त्यहाँ रहँदै आएका करिब १ लाख ७० हजार भारतीयलाई चलचित्रका नायक अक्षय कुमारले कसरी बचाउँछन् र भारत फर्काउन सफल हुन्छन् भन्ने कथामा आधारित छ यो चलचित्र। यो एक वास्तविक घटनामा आधारित चलचित्र हो।

कोभिड–१९

कोरोना भाइरस परिवारकाे नयाँ भाइरस हाे- कोभिड–१९ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएकाे हो।

को को अर्थ कोरोना, भी को अर्थ भाइरस र डी को अर्थ डिजिज् हो। १९ ले भने भाइरस देखा परेको वर्ष अर्थात् २०१९ लाई जनाउँछ। भाइरसको नाम कुनै निश्चित भौगोलिक स्थान, पशु प्रजाति वा व्यक्तिको नामलाई बदनाम हुनबाट रोक्न अन्तर्राष्ट्रिय सल्लाहका आधारमा उक्त नाम राखिएको डब्लुएचओले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्