कैलालीको घोडाघोडी नगरपालिका–६ की धनकला धामीको इमो अकाउन्टमा म्यासेज आयो– ‘तपाईंलाई २५ लाख भारुको चिठ्ठा परेको छ, बधाई छ।’ म्यासेजले उनी त्यसैत्यसै पुलकित भइन्।
४० लाख रुपैयाँ हात पर्ने भएपछि को खुसी नहोला र ! खुसीको खबर कसलाई सुनाउँ भनेर औडाहा भएपछि छिमेकीलाई सुनाइन् र आफूलाई आएको म्यासेज पनि देखाइन्।
चिठ्ठा परेको म्यासेज पठाउनेले अर्को म्यासेज पनि पठायो। दोस्रो म्यासेजमा १० हजार रुपैयाँ मागिएको थियो पैसा पठाउने प्रक्रियाको लागि भनेर। ४० लाखको लड्डु मनमा फुटाउँदै धनकलाले दिइएको ठेगानामा पैसा पठाइदिइन्।
धनकलालाई अर्को म्यासेज आयो– चिट्ठामा परेको रकम नेपालमा लिँदा सरकारलाई २५ प्रतिशत कर तिर्नुपर्छ । भारतमै लिने हो भने सबै पैसा आफ्नै हुन्छ। हो त नि, सरकारलाई किन तिर्ने बेकारमा २५ प्रतिशत ? यस्तै सोचेर धनकलाले हुन्छ भनिन्।
सुरुमै मागेको पैसा पाएपछि म्यासेज पठाउनेले सोच्यो– राम्रै मुर्गा फेला परेजस्तो छ । त्यसपछि विभिन्न बहानामा पैसा माग्दै गयो । धनकलाले पनि पठाउँदै गइन् । ४० लाख हात पर्ने भएपछि केही खर्च त गर्नैपर्यो नि भनेर साथीभाइ आफन्तसँग सापट गरेर भए पनि पैसा पठाउँदै गइन् ।
कहिले पतिले विदेशबाट पठाएको पैसा पठाइन् भने कहिले चिनजान र छरछिमेकीबाट सापटी मागेर पठाइन्। मासिक सयकडा २ रुपैयाँ ब्याजमा ऋण निकालेर समेत पैसा पठाइन्। पैसा पठाउनुपर्ने व्यक्ति र जिल्ला पनि फरक–फरक हुन्थ्यो– कहिले सप्तरी, कहिले सिरहा, धनुषा त कहिले मोरङ।
४० लाखको आशमा धनकलाले पटक–पटक गरी १० लाख ४ हजार रुपैयाँ पठाइसकेकी थिइन्। तर, त्यति बेलासम्म पनिले उनले आफू ठगिँदैछु भन्ने भेउ पाउन सकेकी थिइनन्।
पैसा माग्ने क्रम रोकिएको थिएन। पुनः १ लाख २० हजार पठाउन भनेपछि चाहिँ उनको मनमा शंका उब्जियो। १० लाख ४ हजार डुबिसकेपछि बल्ल ठगिएको आशंकामा प्रहरीमा पुगिन्। उनको आशंका सही निस्कियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार धनकलालाई पछिल्लो पटक मोरङका विक्रम चौधरी र नारायण चौधरीको नममा पैसा पठाउन भनिएको थियो। त्यही आधारमा प्रहरीले धनकलालाई १० लाखभन्दा बढी ठग्ने गिरोहलाई पक्राउ गर्यो ।
दुई भारतीय र पाँच नेपालीलाई मोरङ प्रहरीको सहयोगमा कैलाली प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा–१२ का आईएमई सञ्चालक ३८ वर्षीया इन्दिरा पुरी, आईएमईमै कार्यरत ४२ वर्षीय मनमोहन अधिकारी, विराटनगर–१० का सजिलो मनि ट्रान्सफर सञ्चालक ३७ वर्षीय विश्वनाथ राजवंशी, रंगेली–६ का २८ वर्षीय भवेश कुमार मण्डल र सुनवर्षी–८ का २२ वर्षीय अब्दुल सलाम छन्। यस्तै भारत बिहारका २५ वर्षीय शतिष मण्डल र सोही ठाउँका ५५ वर्षीय मोहमद ईसु पनि पक्राउ परेका छन्।
प्रहरी निरीक्षक प्रकाश कार्कीका अनुसार उजुरी परेपछि धनकलाको इमोबाट प्रहरीले कुरा गर्न थाल्यो। सुरुमा मागेजति रकम खुरुखुरु पठाइरहेकी धनकलाले पछिल्लो पटकको १ लाख २० हजार पठाउन ढिलो गरेपछि ठग समूहले कतै प्रहरीलाई खबर त गरिएन भनेर आशंका गर्यो।
ठगले पैसा पठाउनुपर्ने जिल्ला, व्यक्ति र मनी ट्रान्सफर कम्पनी पनि बदल्न थाल्यो। प्रहरीलाई खबर गरेमा चिठ्ठा अरुको नाममा ट्रान्सफर गर्ने र पठाएको पैसा पनि फिर्ता नगर्ने भन्दै म्यासेजबाट धम्क्याउन थाल्यो।
कैलाली प्रहरीले मोरङ प्रहरीसँग समन्वय गरेर मनी ट्रान्सफरहरुलाई निगरानीमा राख्न लगाएको थियो। ‘आईएमई संचालकको समेत मिलेमतोको आशंका भएपछि सुरुमा इन्दिरालाई पक्राउ गरियो,’ प्रहरी निरीक्षक कार्कीले भने, ‘उनको इमो सर्च गर्दा कुरा भएको आधारमा अरु पक्राउ परेका हुन्।’
उनीहरुले अन्य व्यक्तिलाई समेत ठगी गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। पक्राउ परेकाहरुलाई कैलाली जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
इमोबाट नै ठगी गर्ने २ जनालाई कैलाली प्रहरीले यसअघि पनि मोरङबाट पक्राउ गरेको थियो। उनीहरु पुर्पक्षका लागि कारागार छन्।
यो पनि पढ्नुहोस्