शुक्रबार, चैत २८, २०७६

विशेष

वर्ष दिन नबित्दै बिर्सिएकाे त्याे विपत्ति

1584949180tornado.jpg
तस्बिर साभार : हिमालखबर।

बारा-पर्सामा ३० जनाको ज्यान लिएको, सयौं घाइते र हजारौं घरबारविहीन बनाएको टोर्नेडो कसरी आयो? यसले किन सीमित ठाउँमा मात्रै क्षति पुर्‍यायो?

१७ चैत २०७५ साँझ पर्साको जगरनाथपुरदेखि बाराको पचरौता, बैरियासम्म चलेको तीव्र गतिको हुन्डरीले ३० जनाको ज्यान लियो। क्षणभरमै २ हजार ८०० परिवार घरबारविहीन भए।

जल तथा मौसम विज्ञान विभाग, ‘द स्मल अर्थ नेपाल’ र इसिमोडको संयुक्त टोलीले प्रारम्भिक अध्ययन गरेपछि २२ चैतमा त्यो टोर्नेडो (नेपाली नाम : घुम्रपात) भएको पुष्टि गर्‍यो।

टोर्नेडोले बारामा २९ र पर्सामा एक जना गरी ३० जनाको ज्यान लिएको थियो भने ११ सयभन्दा बढी घाइते भए। १९ सयभन्दा बढी घरमा क्षति पुग्यो। 

फनफनी घुम्दै अघि बढेको शक्तिशाली घुम्रपातले बाटोमा परेका मानिस, बस्तुभाउ र घरमात्रै होइन, बाँसका झ्याङदेखि पीपलको रुखसमेत जरैदेखि उखेल्यो । सडकमा रोकिएका ठूल्ठूला ट्रक पल्टायो।

नेपालमा ‘रेकर्ड’ गरिएको पहिलो टोर्नेडो यही हो। वैज्ञानिक टोलीले करिब तीन महिनापछि यसको विस्तृत विवरण ‘रिपोर्ट अन बारा–पर्सा टोर्नेडो’ जुन २०१९ मा सार्वजनिक गर्‍यो।

“नेपालमा त्यसअघि पनि कुनै समयमा घुम्रपात गएको हुन सक्छ, जुन रेकर्डमा छैन,” स्थलगत अध्ययनमा सहभागी जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठ भन्छिन्, “तर, तथ्यांक संकलन र आधुनिक उपकरणसहित मौसम विश्लेषण गर्न थालिएपछि नेपालमा घुम्रपात गएको यो नै पहिलो हो।”

टोलीले प्रभावित क्षेत्रका स्थानीय तथा प्रत्यक्षदर्शीको अनुभव, ड्रोन उडानबाट लिइएका तस्बिर, भौगोलिक सूचना प्रणालीबाट प्राप्त तथ्यांक विश्लेषणपछि उक्त हुण्डरी घुम्रपात भएको निष्कर्षमा पुगेको उल्लेख गरेको छ।

माथिल्लो वायुमण्डलको मौसमी नक्साहरूको विश्लेषण, भूउपग्रहबाट लिइएको इन्फ्रारेड तस्बिर, रेडियो सोन्डको तथ्यांक, हावाको चाप र अन्य विवरणको विश्लेषणबाट घुम्रपात गएको पुष्टि भएकोे श्रेष्ठ बताउँछिन्। “हाम्रोमा स्टेसन नेटवर्क र टोर्नेडो गएको स्थान नजिक राडारको व्यवस्था नभएकाले स्थलगत अध्ययन गर्नुपरेको हो,” उनी भन्छिन्।

बारा–पर्सामा घुम्रपात हिँडेको बाटो। तस्बिर स्रोत : रिपोर्ट अन बारा–पर्सा टोर्नेडो।

कसरी आयो ?

मौसमविदका अनुसार टोर्नेडो फनफनी घुम्दै आकाशतर्फ ठाडो वहने र क्युमिलिफर्म बादल वा त्यसको ठिक तलबाट सुरु भई जमिनसम्म एउटा सोली आकारमा आउने तीव्र गतिको हुरी हो। हुरीबतासभन्दा घुम्रपातबाट हुने क्षति बढी हुन्छ।

बारा र पर्सामा भएको नोक्सानका आधारमा घुम्रपातको हावाको गति १८० देखि २६५ किलोमिटर प्रतिघण्टाको थियो। अर्थात् वैज्ञानिक र अनुसन्धानकर्ताको भाषामा ‘इन्हेन्स्ड फुजिता स्केल–थ्री’ (ईएफ–थ्री) शक्तिको थियो।

नोक्सानको आधारमा घुम्रपातलाई ईएफ–जिरोदेखि ईएफ–फाइभसम्म वर्गीकरण गरिएको हुन्छ। मौसमविद् श्रेष्ठका अनुसार ईएफ–जिरोले कम क्षति पुर्‍याउँछ भने क्रमशः बढ्दै गएर ईएफ–फाइभको क्षति अत्यधिक हुन्छ।

प्रतिवेदनअनुसार २०० देखि ७५० मिटरसम्मको चौडाइमा रहेको घुम्रपातले पर्साको सखुवा–पर्सौनीबाट बाराको बैरियाससम्म ४४ किलोमिटरको दूरी तय गरेको थियो। उक्त घुम्रपातले पर्सामा क्षति गर्नुभन्दा केही मिनेटअघि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको ९ किलोमिटर दूरीमा सामान्य क्षति पुर्‍याएको थियो।

चितवनको रामपुरमा बेलुका साढे चारदेखि ५ः१५ सम्म हावाको चाप फाइभ–एचपीए (हेक्टोपास्कल) थियो। १५ मिनेटभित्रै उक्त चाप सिक्स–एचपीए पुग्यो।

७ः१५ बजे उस्तै प्रकृतिको त्योभन्दा कम चापको हावा बाराको परवानीपुरमा पुग्यो। परवानीपुर र रामपुरबीचको दूरी ८९.९ किलोमिटर छ। योबीचमा हावा ४३ किलोमिटर प्रतिघण्टाको गतिमा हिँडेको छ।

मौसमविद् श्रेष्ठका अनुसार उक्त पोखरामाथिको बादल दक्षिणपूर्वी दिशातर्फ बग्दै चितवन राष्ट्रिय निकुञ्ज पुगेर घुम्रपातको रुप लियो। त्यहाँबाट अघि बढेको घुम्रपातले बारामा ठूलो विनाश गर्‍यो।

बारा–पर्साको विनाशपछि घुम्रपात दक्षिणपूर्वी दिशातर्फ अघि बढ्दै बाङ्लादेशसम्म पुगेको थियो। तर, यसले त्यहाँ भने ठूलो क्षति पुर्‍याएन।

मौसमविदका अनुसार घुम्रपात तीव्र गतिको घुम्ने हुरी, चट्याङ, मेघ गर्जन र छिटपुट वर्षासँगै आउँछ। यो विशेषगरी प्रि–मनसुनको समय अर्थात् मार्चदेखि मेसम्म आउँछ।

निश्चित आकारमा बाटो बनाउँदै हुत्तिने घुम्रपातको चौडाइ सीमित हुन्छ। जमिनदेखि बादलको सतहसम्मै फैलिएको हावा आफ्नै ‘एक्सिस’मा घुम्दै अघि बढ्छ।

घुम्रपात आउने समयमा तल्लो वायुमण्डल (सतहदेखि करिब एक किलोमिटर माथिको) सामान्यभन्दा तातो थियो तर, जमिनचाहिँ चिसो। त्यही समयमा उत्तरपूर्वबाट चिसो र सुख्खा हावा आएर घुम्रपातको रुप लिएको रिपोर्टमा उल्लेख छ।

वायुमण्डलमा यस्तो संरचना के कारणले बन्छ? मौसमविद् श्रेष्ठ उत्तर–दक्षिण ट्रपिक्स र एक्स्ट्रा ट्रपिक्स अर्थात् इक्वेटर र पोलको तापक्रम धेरै भयो भने वायुमण्डलमा अस्वभाविक घटना विकसित हुने बताउँछिन्। जसलाई होरिजन्टल इन्टिग्रेसन पनि भनिन्छ।

२०७५ चैत १७ गते दिउँसो २ बजेर ५ मिनेटमा देखिएको बादल।

त्यसैगरी वायुमण्डलको तल्लो सतह एकदमै तातो र माथि एकदमै चिसो भयो भने भर्टिकल इन्टिग्रेसन बन्छ। दुवैले वायुमण्डलमा अस्थिरता ल्याउँछन्। बारा–पर्साको घुम्रपातका कारण हाम्रो वायुमण्डलमा होरिजेन्टल इन्टिगे्रसन बढी हुनु हो। मुख्य कारणचाहिँ पृथ्वीको सतहको ताप नै हो।

मौसमविद् रामप्रसाद अवस्थी हरेक वर्ष १.१ डिग्री सेन्टिग्रेटको दरले विश्वव्यापी तापक्रममा वृद्धि भइरहेको बताउँछन्। उनी भन्छन्, “तापसँगै मौसमी परिघटनाको आवृत्ति र प्रवृत्तिमा वृद्धि हुँदा अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, अकल्पनीय ढंगको हावाहुरी, घुम्रपातजस्ता प्राकृतिक विपत्ति बढ्छन्।”

तराईको जमिन पहाड र हिमालको तुलनामा बढी तातो हुने भएकाले तराईमा हावाहुरीको बढी असर पर्ने उनको भनाइ छ।

“पहाड र हिमालले हावाको बहावमा अवरोध सिर्जना गर्छन्,” उनी भन्छन्, “एकनाशले हावा बहन पाउने हुँदा पनि भुमरी, हुरी, घुम्रपातलगायतको बढी असर तराईमा पर्छ।” तराईमा प्रदूषण बढी भएका कारण पनि हावाहुरीको असर बढी हुने उनी बताउँछन्।

घुम्रपातले निकै सताउने देशमध्येको देश अमेरिका पनि हो। अस्ट्रेलिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकी देशमा पनि यसको प्रभाव छ। दक्षिण एसियामा बाङ्लादेश र भारतको दक्षिणपूर्वी भागमा सामान्यतया फागुन तेस्रो सातादेखि जेठ–असारसम्म घुम्रपातले सताउँछ।

सन् १९८९ मा बाङ्लादेशमा गएको घुम्रपातले एक हजार ३०० भन्दा बढी मानिसको ज्यान लिएको थियो। १२ हजार घाइते भएको उक्त घुम्रपातमा परी ८० हजार नागरिक घरबारविहीन भएका थिए।

बस्तीमा घुम्रपातले गरेको क्षति र घुमेको दिशा।

घुम्रपात किन भनियो?

बारा–पर्सामा विनाशकारी हुरी गएपछि सञ्चारमाध्यमले ‘चक्रवात’ नाम दिए। तर, सरकारी निकाय जल तथा मौसम विज्ञान विभागले ‘टोर्नेडो’लाई नेपाली नाम ‘घुम्रपात’ दियो। रिपोर्टमा घुमीघुमी बज्रपात गर्ने हुरी भएकोले ‘घुम्रपात’ नाम दिएको उल्लेख गरिएको छ।

मौसमविद् अवस्थी थोरै दूरी र क्षेत्रफललाई असर गरेकोले ‘घुम्रपात’ भनिएको बताउँछन्। “चक्रवातको क्षेत्रफल निकै ठूलो र त्यसको क्षति पनि अत्यधिक हुन्छ,” उनी भन्छन्, “बारा–पर्साको हुरीको फैलावट २०० देखि ७०० मिटरको बीच मात्रै छ।” न्यूनचापीय प्रणालीले गर्दा चक्रवातले ठूलो क्षेत्र ओगट्छ।

४४ किलोमिटर दूरी पार गरेको बारा–पर्साको घुम्रपातको चौडाइ २०० देखि ७५० मिटरभित्र सीमित छ। कुल दूरीमा पनि १० किलोमिटर क्षेत्रमा घुम्रपातको असर बढी परेको छ।

पूर्वानुमान

बारा–पर्सामा गएको घुम्रपातको अधिकतम चौडाइ ७५० मिटर भए पनि यसको बादलचाहिँ तीन सय किलोमिटरसम्म फैलिएको थियो। सामान्यतया घुम्रपात सानो क्षेत्रफलभित्र सीमित भए पनि यसको कारक बादलचाहिँ १०० किलोमिटरभन्दा बढी फैलिएको हुन्छ।

मौसमविद् श्रेष्ठका अनुसार बादलको आकारको चौडाइ सीमित र घुम्रपातको झनै सानो हुने भएकोले पूर्वानुमान गर्न गाह्रो हुन्छ।

“हामीसँग पर्याप्त स्रोतसाधन पनि छैन,” उनी भन्छिन्, “घुम्रपात आउने बादल (फिनेल क्लाउड) देखियो भने अनुमान गर्नचाहिँ सकिन्छ।”
स्रोतसाधन भएमा बादलको प्रकृति हेरेर एक–दुई घण्टा अघि पूर्वानुमान गर्न सकिने उनको भनाइ छ।

प्रि–मनसुनसँगै आउने खतरा

नेपाललगायत दक्षिण एसियाली मुलुकमा वर्षायाम सुरु हुनुअघि चैतदेखि जेठसम्मको समयमा प्रि–मनसुन गतिविधि चल्छ। यसबेला हावाहुरी, चट्याङ र छोटो वर्षाका घटना हुन्छन्। तापक्रम परिवर्तन हुने समय भएकाले पनि यो बेला हावाहुरी बढी हुन्छ।

प्रि–मनसुनको बेला बिहान घाम लाग्ने र अपराह्नपछि हावाहुरीसहित पानी पर्छ। हावाहुरी, भूमरी, घुम्रपात, चट्याङलगायतका प्राकृतिक विपत्तिकोे समय यही हो।

घुम्रपातले उडाएर जस्तापाताको छानो ८० मिटर टाढा पु्‍र्‍याएको थियो।

नयाँ विपत्ति

गत वर्षको घुम्रपात नेपालका लागि नयाँ घटना थियो। बाढी, पहिरो, भूकम्प र पछिल्लो दशकमा शीतलहर खेप्दै आएको नेपालका लागि टोर्नेडो नौलो विपत् हुँदा यसको नाममै पनि सुरुमा अलमल भयो।

घुम्रपातलगत्तै हाम्रा व्यवहार र संंरचना निर्माणमा समेत घुम्रपातलाई ध्यानमा राखिनुपर्ने चर्चा धेरै भए। तर, जसै समय बित्दै गयो। ती चर्चा र प्रतिबद्धता सेलाउँदै गए। एक वर्ष पुग्दानपुग्दै हामी धेरैले बारा–पर्सामा आएको त्यो विपत् बिर्सिएका छाै‌ँ।

प्रत्येक बर्खापछि चुरेको संरक्षण गर्ने, नदी खोलाको दोहन रोक्ने, भूउपयोेग नीति बलियो पारी कार्यान्वयन गर्ने चर्चा हुन्छ र हिउँद लाग्दा–नलाग्दै सेलाउँछ। त्यस्तै भयो घुम्रपातको चर्चा पनि।

घुम्रपातलगायत प्राकृतिक विपत्तिबाट क्षति कम गर्न बलियो संरचना बनाउनैपर्ने विज्ञकाे सुझाव छ। तर, तराईमा फुसका झुपडीमा बस्ने गरिब नागरिकका लागि टोेर्नेडोले उडाउन नसक्ने बलियो संरचना कसरी बनाउने, ठूलो समस्या छ।

त्यस्तै बिजुलीकाे अर्थिङ गर्नुपर्ने, खस्न सक्ने वस्तुलाई बलियोसँग राख्नुपर्ने विज्ञ बताउँछन्।

“हावाहुरीलगायतका विपत्तिमा बिजुलीको पोल, ठूला रुखलगायतको नजिक बस्न हुँदैन,” मौसमविद् डा.अर्चना श्रेष्ठ भन्छिन्, “चट्याङ् पर्दा वा हावाहुरी आउँदा इन्टरनेट अफ गर्ने, बिजुलीमा ठूलो भोल्ट तान्ने साधन चलाउनु हुँदैन।”

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान हेरेर आफूलाई सचेत राख्न सकिने उनको भनाइ छ।

गत वर्ष घुम्रपातमा घर गुमाएका ८६९ वटा परिवारलाई सरकारले घर बनाएर हस्तान्तरण गरिसकेको छ। एकभन्दा बढी घर भएका र तथ्यांकमा छुटेका दुई हजार परिवारले भने अझै सरकारी राहत पाउन सकेका छैनन्।

नेपाली सेनाले पाँच महिना लगाएर निर्माण गरेका घर पीडितलाई २० भदौमा हस्तान्तरण गरेको थियो।

तर, नवनिर्मित घर पनि ठूलो हुरी, भुमरी, घुम्रपातजस्ता प्राकृतिक विपत्तिबाट जोगिने खालका छैनन्। तीनकोठे घरमा जस्तापाताको छानो लगाइएको छ। भूकम्प प्रतिरोधी भए पनि जस्तापाताका घर हावाहुरीको लागि जोखिम मानिन्छन्।

प्रतिक्रिया दिनुहोस्