जनकपुरधाम– गिटी बालुवा अवैध उत्खननको विरोध गर्ने धनुषाका दिलिप अर्थात् ओमप्रकाश महतो हत्याको घटनामा ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषा झिकाइएको छ । मिथिला नगरपालिका–५ श्रीपुर घर भएका २५ वर्षीय दिलिपको शुक्रबार बिहान हत्या भएको थियो ।
प्रहरी निरीक्षक यादवले दिलिप हत्याको घटनामा गम्भिरता नदेखाएको भन्दै ईलाका प्रहरी कार्यालयबाट जिल्ला झिकाइएको हो । घटना हुँदा यादव ईलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज थिए ।
प्रहरी निरीक्षक यादवलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा झिकाइएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले जानकारी दिएका छन् । यादवलाई जिल्ला झिकाइए पनि कारबाही भन्न नमिल्ने उनले बताए । आन्तरिक व्यवस्थापन गर्न यादवलाई जिल्ला झिकाइएको कार्कीको भनाइ छ ।
शुक्रबार बिहान दिलिपको शव भेटिएको स्थानमा प्रहरीले मुचुल्कासमेत तयार नपारेको पीडित परिवारले आरोप लगाएको थियो । प्रहरीले घटनास्थलको मुचुल्का नै तयार नपारी शव सोझै गाडीमा राखेर अस्पताल पुर्याएको दिलिपका परिवारका सदस्यहरुले बताएका थिए ।
शव धनुषाको लालगढस्थित मोडेल अस्पतालमा लगिने प्रहरीले भने पनि प्रादेशिक अस्पताल जनकपुर ल्याउनुका साथै गाडीमा आफन्तलाई समेत बस्न नदिएपछि दिलिपका परिवारले प्रहरीमाथि शंका व्यक्त गरेका थिए ।
यसरी भएको थियो दिलिपको हत्या
भारतको मध्यप्रदेशस्थित भोपालमा इन्जिनियरिङ पढ्दै गरेका दिलिप खोलामा हुने अवैध उत्खननको विरोध गर्ने गरेका थिए । दश दिनअघिमात्र विदामा घर आएका उनले यसअघिझैं यसपटक पनि अवैध उत्खननको विरोध गरे । र, यसै कारण दिलिप अवैध उत्खनन गर्नेहरुको तारो बनेका थिए ।
खोलामा अवैध उत्खनन भइरहेको थाहा पाएपछि दिलिप शुक्रबार बिहान त्यसतर्फ गएका थिए । तर खोल उत्खननमा संलग्न व्यक्तिहरुले उनको हत्या गरिदिए । उत्खननको विरोध गरिरहँदा त्यहाँ रहेको केही व्यक्तिहरुले दिलिपको कोखमा फलामको लिभर घोचेर घाइते बनाएपछि खोलामा सुताई टिपरले किचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
दिलिपलाई घाइते बनाई ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताएका छन् ।
दिलिपको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले क्रसर सञ्चालकसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा क्रसर सञ्चालक विपिनकुमार महतो, टिपर चालक मुनिन्द्र महतो, लोडर चालक जितेन्द्रकुमार महतो र किसान रोशनकुमार यादव रहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।
प्रारम्भिक अनुसन्धानको क्रममा चार जनालाई पक्राउ गरिएको बताउँदै बस्नेतले घटनामा अन्यको संलग्नता पाइए उनीहरु पनि चाँडै नियन्त्रणमा आउने उल्लेख गरेका छन् ।
शुक्रबार बिहान हत्या भएको दिलिपको शवको पोस्टमार्टम शनिबारमात्रै भएको थियो । प्रादेशिक अस्पताल जनकपुरमा चारजना चिकित्सकले करिब तीन घण्टा लगाएर शवको पोस्टमार्टम गरेका थिए ।
घटनास्थल नजिकै शनिबार राति दिलिपको अन्त्येष्टि गरिएको छ । औरही खोलामा घटनास्थलभन्दा करिब सय मिटर पर उनको अन्त्येष्टि गरिएको भाइ जितेन्द्र यादवले बताए । दिलिपका ७५ वर्षीय हजुरबुबा रामपृत महतोले दागबत्ती दिएका थिए ।