काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (आइतबार) दुई खेल हुँदैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको पहिलो खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबको सामना गर्दैछ।
जारी सिजनमा जितविहीन भएको फ्रेन्ड्स आजको खेलमा जित हात पार्ने दाउमा छ । यता थ्री स्टार पनि आजको खेल जितेर स्पष्ट ३ अंक हात पार्ने रणनीतिमा छ।
जारी सिजनमा फ्रेन्ड्सको तुलनामा थ्री स्टार बलियो देखिएको छ। पाँच खेलमध्ये ३ जित, १ बराबरी र १ मा पराजय भोगेको थ्री स्टार १० अंकसहित चौथो स्थानमा छ। यता, फ्रेन्ड्सको प्रदर्शन भने कमजोर देखिएको छ। जारी सिजनमा २ बराबरी र ३ मा हार भोगेको फ्रेन्ड्स २ अंकसहित पुछारबाट दोस्रो (तेह्रौं) स्थानमा छ।
दशरथ रंगशालामा आजै हुन लागेको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र सरस्वती युथ क्लब भिड्दैछन्।
जारी सिजनमा २ जितसहित ६ अंक हासिल गरेको ब्रिगेड कमजोर सरस्वतीमाथि जित हात पार्ने दाउमा छ । यता, अंकविहीन सरस्वती पनि सिजनको पहिलो जितको खोजीमा छ।