काठमाडौं – शनिबार काठमाडौंबाट प्रकाशित भएका अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयका समाचारलाई प्राथमिकतामा राखेका छन्। यस्तै गिटी–बालुवा अवैध उत्खनन्विरुद्ध बोल्ने धनुषाको मिथिला नगरपालिकाका २४ वर्षीय ओमप्रकाश भनिने दिलीप महतोको टिपरले किचेर हत्या गरिएको समाचारलाई भने अधिकांश दैनिकले प्रथम पृष्ठमा स्थान दिएका छन्।
कान्तिपुरले सभामुख चयनमा भइरहेको ढिलाईको विषयलाई लिएर झन् कसियो गाँठो शिर्षकको समाचारलाई प्राथमिकतामा राखेको छ भने नयाँ पत्रिकाले भूकम्पले क्षतिग्रस्त बनाएका काठमाडौं उपत्यकाका विद्यालयमा विना मर्मत भइरहेको पढाइलाई विषयवस्तु बनाउँदै धराप कि विद्यालय शिर्षकमा समाचार प्रकाशन गरेको छ। यस्तै नागरिकले निसानामा अभिव्यक्ति स्वतन्त्रता : जनताको सूचनामा ग्रहण शिर्षकमा समाचार प्रकाशन गरेको छ।
विद्यावारिधि गर्न चाकरी
कान्तिपुरले विद्यावारिधि गर्न चाकरी शिर्षकमा लेखेको छ, कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालयमा पुस दोस्रो साता एक जना उपप्राध्यापकले विद्यावारिधि उपाधिका लागि अन्तिम भाइभा दिए। त्यो क्षणको तस्बिर उनको फेसबुकको भित्तामा छ। त्यस लगत्तै तिनै उपप्राध्यापकले आफ्ना वरिष्ठ गुरुहरुलाई राखेर उत्सव मनाएको फोटोसमेत पोष्ट गरे। तस्बिरमा प्राध्यापकहरुको अग्रभागको टेबलमा ह्वीस्की र वाइनका बोतलहरु तथा प्लेटहरु यत्रतत्र छरिएका देखिन्थे। मुनि लेखिएको थियो, ‘अ मोमेन्ट अफ सेलिब्रेसन।’
कहर काटेर पीएचडी उपाधिका निम्ति भाइभा उत्तिर्ण गर्नेमध्ये यी प्राध्यापक एक उदाहरण मात्र हुन्। अर्कोतर्फ विद्यावारिधि शोधकार्यमा आधा दशकदेखि निरन्तर जुटिरहँदासमेत उपाधि पाउन सकेका छैनन्।
त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत एकजना ६ वर्षदेखि पीएचडीकै धुनमा समय विताएका छन्। अबचाहिँ भाइभामा डाक्छन् की? भन्ने झिनो आशामा छन्। त्यसैले नाम भनिहाल्दा अप्ठ्यारो हुने ठान्छन्। ‘तीन वर्षमा अनुसन्धान पूरा गरियो, शोधकार्यलाई र पटक–पटक सुपरभाइजरलाई जाँच्न दिइयो,’ अनुसन्धानरत एक शोधार्थीले भने ‘ विद्यावारिधि शोधकार्यमा जुटेको छैटौं वर्ष भइसक्यो। सम्बन्धित विषय विज्ञ छैनन्, जो खटाइएका छन् उनीहरु अन्तर्राष्ट्रिय सिद्धान्त र अनुसन्धानप्रति ज्ञान राख्दैनन्।’
अर्का एक शोधार्थीले भने, ‘शोधकार्य छँदै छ। गुरुले जसो भन्यो नमानेर धर पाइँदैन। कहिले यता कहिले कता आइज भन्छन्। भेटेर खुवाउँदैमा हैरान भइसकियो।'