बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • भारतीय मिडियाको दाबी, ‘भारतले नेपालबाट पाम आयल आयातमा प्रतिबन्ध नलगाउने’

भारतीय मिडियाको दाबी, ‘भारतले नेपालबाट पाम आयल आयातमा प्रतिबन्ध नलगाउने’

भारतीय वाणिज्य मन्त्रालयले विदेशबाट पाम आयल आयातमा प्रतिबन्ध लगाए पनि यस्तो प्रतिबन्ध मलेसियाका लागि मात्रै भएको भारतीय मिडियाले उल्लेख गरेको छ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं– भारतीय वाणिज्य मन्त्रालयले विदेशबाट पाम आयल आयातमा प्रतिबन्ध लगाए पनि यस्तो प्रतिबन्ध मलेसियाका लागि मात्रै भएको भारतीय मिडियाले उल्लेख गरेको छ।

triton college

भारतीय पत्रिका द प्रिन्टमा नयनिमा बासुले लेखेको समाचारका अनुसार भारत र मलेसियाबीच सम्बन्धमा तिक्तता आएपछि उसले मलेसियाबाट पाम आयल आयात नगर्ने भएको हो।

समाचारमा भारतीय सरकारका एक अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, ‘कुनै एउटा देशलाई मात्र लक्षित गरेर सूचना जारी गर्दा विश्व व्यापारको नियम उल्लंघन हुने भएकाले सबै देशबाट पाम आयल आयतमा प्रतिबन्ध लगाइएको सूचना जारी गरिएको हो । यद्यपि, इन्डोनेसिया र नेपालका हकमा केस–टू–केस डिल गरेर लाइसेन्स जारी गरिनेछ।’

बुधबार भारतको वाणिज्य एवम् उद्योग मन्त्रालयले एउटा सूचना जारी गर्दै पाम आयलमा प्रतिबन्ध लगाइएको घोषणा गरेको थियो। भारतको उक्त प्रतिबन्धप्रति नेपाल र इन्डोनेसियाले असन्तोष व्यक्त गरेका थिए।

द प्रिन्टको समाचारमा स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘नेपाल र इन्डोनेसियाले पाम आयल उनीहरुले कहाँबाट आयात गरेका हुन् त्यसको प्रमाण भने पेश गर्नुपर्नेछ। यदि मलेशियामा आयात गरेको भए त्यस्तो तेल आयात गरिने छैन।’

corrent noodles
Metro Mart

भारतीय विदेशमन्त्रालयका प्रवक्ता रवीश कुमारले विहीबारमात्रै पाम आयल आयातकर्ताले विदेशबाट खरिद गर्दा भारत र त्यो देशबीचको सम्बन्धलाई ध्यान दिनुपर्ने बताएका थिए।

मलेसियाबाट भारतले पाम आयल आयात नगर्ने भएपछि यसको ठूलो फाइदा इन्डोनेसियालाई हुनेछ। किनभने अहिलेसम्म मलेसिया भारतमा पाम आयलको ठूलो निर्यातकर्ता थियो। अब मलेसियाको भारतीय बजारको हिस्सा पनि इन्डोनेसियाले ओगट्न पाउनेछ।

यदि भारतले साँच्चिकै नेपालबाट तेल आयातमा प्रतिबन्ध नलगाउने हो भने नेपाली व्यवसायीले पनि यो अवस्थाबाट थप फाइदा लिन पाउनेछन्।

मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले भारतले जम्मु–कश्मीरको विशेषाधिकार खोस्दै दुई केन्द्र शासित प्रदेश बनाएपछि त्यसको आलोचना गरेका थिए।

भारतले हालै संशोधन गरेको नागरिकता कानूनमा पनि उनले आपत्ति जनाएपछि मलेसिया र भारतबीचको सम्बन्ध तिक्ततापूर्ण बन्दै गएको छ।

के भन्छन् नेपाली व्यवसायी?

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेस अग्रवालले भारतले पाम आयल आयातमा रोक लगाउने निर्णय गरेलगत्तैदेखि नेपालबाट भारतमा निकासी ठप्प भएको जानकारी दिए।

उनका अनुसार साउथ एसिया फ्रि ट्रेड एरिया (साफ्टा) अन्तर्गत नेपाली व्यवसायीले पाम आयल निर्यात गर्दा गत आर्थिक वर्षको सुरुदेखि शून्य प्रतिशत भन्सार महसुलमा पाम आयल भारततर्फ निकासी गरेका थिए।

उनले पाम आयल निर्यातमा भारतले पूर्ण प्रतिबन्ध नलगाई रोकिएको भन्ने शव्द मात्र राखिएकाले यस विषमा प्रष्ट हुन सरकारले कुटनैतिक तवरले भारतसँग छलफल गरी निष्कर्षमा पुग्नु जरुरी रहेको बताए।

 सरकारले जतिसक्दो चाडो यस विषयमा भारतसँग वार्ता गरेर समाधान निकाल्नुपर्ने उनको भनाई छ। 

चालु आर्थिक वर्षको पाँच महिनामा नेपालको कुल निर्यातमा २७.९७ प्रतिशतले बढेर ४७ अर्ब ६१ करोड रुपैयाँको भएको थियो । यसमा २४ प्रतिशत योगदान पाम आयलको थियो । पाँच महिनामा ११ अर्ब ५२ करोड २८ लाख ६ हजार रुपैयाँको मात्र पाम आयल निर्यात भएको छ ।

भारतीय पत्रिकामा आएको समाचारका बारेमा उनले आधिकारिक रुपमा पुष्टि नहुँदासम्म केही भन्न नसकिने अग्रवाल बताउँछन्। "के हो भन्ने त त्यहाँको सरकारले आधिकारिक रुपमा बताएपछि मात्रै थाहा होला," उनले भने।

भारतले प्रशोधित पाम आयलको आयात गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था पनि गरेको छ।

यसको कानुनी र व्यवहरिक पाटोमा समेत अस्पष्ट भएको अवस्थामा स्पष्ट हुनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरोकारवालासँग छलफल अघि बढाएको छ।

नेपालको सबभन्दा धेरै निर्यात हुने वस्तुको आयातमा भारतले प्रतिबन्ध लगाएपछि यसबारेमा कूटनीतिक पहल अघि बढाउने सरकारको तयारी छ।

 

प्रकाशित: Jan 10, 2020| 14:50 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्