पाँचथर– जिल्लाको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छन्।
करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन्।
गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छन्। किशोरीले भनिन्, “भाइहरूसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती व्यक्तिले मुख र हात समातेर बलात्कार गरे।”
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले आराेपित गहतराजलाई पुस २१ गते पक्राउ गरी यौन दुर्व्यवहार मुद्दा दर्ता गरी अदालतबाट म्याद थपिएको बताए।
पीडित किशोरीको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ।
विपन्न वर्गकी ती किशोरीले विभिन्न प्रलोभनमा पारेर मुद्दा मिलाउन आफूलाई दवाव आइरहेको बताएकी छन्।
रासस