सुर्खेत – रुकुमपश्चिममा बुधबार भएको जीप दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। रुकुमपश्चिमा निमित्त प्रहरी प्रमुख कविराज रोकायका अनुसार डोल्पा ठूलीभेरी नगरपालिका-५ का ५२ वर्षीय चन्द्रबहादुर रोकाय, डोल्पाकै मुड्केचुला गाउँपालिका–७, का २३ वर्षीय राज बुढा र १८ वर्षीय आर्यन बुढा गम्भीर घाइते भएका छन्। घाइतेहरुको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
डोल्पाको खदाङबाट रुकुम पश्चिमको गोतामकोटतर्फ आइरहेको ग१ज ५२०१ नम्बरको जिप जाजरकोट-डोल्पा सडकखण्ड अन्तरगत रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६, को मनकाबगरमा दुर्घटना भएको हो। ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान छ। जिप सडकबाट ६० मिटर तल ठूलीभेरी नदीको किनारमा खसेको छ। जीपका चालक तिलक विक भने फरार रहेका छन्।