भैरहवा - नेपाली कराते खेलाडीको प्रतिनिधित्व गर्दै जापान गोजुरीया डो मिसनको टोली भारत प्रस्थान गरेको छ।
भारतको कोलकाता सहरको उलबरियास्थित रबिन्द्र भवनमा आयोजना हुन गइरहेको नवौं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप तथा अन्तर्राष्ट्रिय स्पोर्टस् एक्सलेन्स अवार्डमा भाग लिने टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो।
केबि राना (काजी) ले नेपाली खेलाडीको नेतृत्व गरेका छन्। पुस २४, २५ र २६ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, भुटान, श्रीलंकाका ५ सय भन्दा बढी खेलाडीले विभिन्न तौल र उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन्।
टोलीलाई एक कार्यक्रमकाबीच नेपाल भारतको दसगजा क्षेत्र बेलहियामा तिलोत्तमा नगरका प्रमुख बासुदेव घिमिरेलगायत सरकारी अधिकारीले बिदाई गरे।
जापान गोजुरियोको नेतृत्वमा यसअघि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका मध्ये तीनवटा प्रतियोगितामा काजी नेतृत्वको टोली टिम च्याम्पियन भइसकेको छ। नेपाली टोलीमा २० खेलाडी र ७ अफिसियल गरि २७ जनाको सहभागिता रहेको छ।