हातले समाउन सकिएला झैँ लाग्ने गरी आँखै अगाडि ठडिएका हिमशृङ्खला । हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीहरु हेर्नुको छुट्टै आनन्द । यस्तो अवसर मर्दी हिमाल पदयात्रा गर्नेलाई मात्र प्राप्त हुन्छ ।
एउटै यात्राबाट कुमारी माछापुच्छेसहित मर्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले यस पदयात्रामार्गमा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।
विभिन्न सङ्घसंस्था तथा समूहमा मिलेर पदयात्रा गर्नेको सङ्ख्यासमेत अहिले यहाँ उत्तिकै छ । दुई महिनाअघि यहीँ सम्पन्न भएको अल्ट्रा म्याराथनको विश्वकपले समेत यसलाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाएको छ । सडक यातायातको अहिलेसम्म पहुँच पुग्न नसकेकाले समेत आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
हालसम्म आरोहण खुला नभएको कुमारी माछापुच्छेसँगैको मर्र्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मर्दी हिमाल पदयात्रा मार्गका रुपमा विकास गरिएको छ । पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जिपयात्रामार्फत पुग्न सकिन्छ । त्यहाँबाट जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार ९७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।
माछापुच्छेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु प्वाइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ ।
भ्यू प्वाइन्टबाट लस्करै ठडिएका आधा दर्जनभन्दा बढी हिमालसहित पोखरा उपत्यकालगायत क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । अधिकांश पर्यटक मर्दी हिमाल बेसक्याम्प पुगेर घलेल, क्यानोनिङ हुँदै चिया गाउँका रुपमा परिचित ल्वाङ हुँदै पोखरा फर्कने गर्दछन् ।
पाँच–छ वर्षअघि यस मार्ग गुमनाम जस्तै थियो । पर्यटक देख्नसमेत मुस्किल पर्ने गरेकामा दुई–तीन वर्षयता आएर मुख्य याममा व्यवसायीलाई पर्यटक राख्न भ्याइ नभ्याई हुने गर्दछ भने अन्य समयमा समेत पर्यटकको आउजाउ बाक्लो छ । त्यसमा विदेशीसँगै नेपालीको सङ्ख्या पनि उत्तिकै छ । पर्यटक बढेसँगै पहिल्यै बुकिङ गरेर आउनेले बाहेक अन्यले मुख्य याममा पर्याप्त पूर्वाधार अभावमा दुःखसमेत पाउने गरेका छन् ।
पदयात्रामार्गको माछापुच्छे गाउँपालिका–८ कालीमाटीमा पाँच वर्षअघिदेखि मर्दी हिमाल इको भिलेज सञ्चालन गर्दै पदयात्रा व्यवस्थापन समितिमा आबद्ध शिवप्रसाद भण्डारी दुई वर्षयता मुख्य याममा पर्यटकको भीड थामिनसक्ने हुने बताउँछन् ।
पदयात्रामार्गका अन्य स्थानमा समेत नयाँ नयाँ होटल तथा रेष्टुराँ थपिनेक्रममा रहेकाले पर्यटकलाई सहज हुने विश्वास लिइएको छ । छोटो दूरीको पदयात्रा भएकाले समेत किशोरदेखि वृद्धवृद्धासम्मलाई यसले आकर्षित गरेको छ । छोटो अवधिमा नै पूरा गर्न सकिने भएकाले व्यस्त दैनिकी भएकालाई समेत यसले लोभ्याउने गरेको छ । कतिपय पर्यटक जिपमा कालीमाटीसम्म पुगेर हिमशृङ्खलाको दृश्यावलोकन गरी त्यहीँबाट फर्कने गर्दछन् ।
चक्रीय अन्नपूर्ण, घान्द्रुक, घोरेपानीलगायत चर्चित पदयात्रा मार्गमा अहिले सडक पुगेर पदयात्रीलाई असुविधा पुगिरहेको अवस्थामा मर्दी हिमाललाई टे«किङ रुटकै रुपमा विकास गरिनुपर्ने माग पर्यटन व्यवसायीको छ ।
रासस