रूपन्देही– जिल्ला कारागार, रूपन्देहीमा क्षमताभन्दा तेब्बर कैदी–बन्दी राखिएका छन्।
१५० क्षमताको कारागारमा अहिले ४२० कैदी–बन्दी छन्।
कारागारमा क्षमताभन्दा बढी कैदी–बन्दी राखिँदा व्यवस्थापनमा समस्या हुने गरेको कारागार प्रशासनले जनाएको छ।
कारागार कार्यालयका प्रमुख एवं जेलर नारायण पन्थीले कैदी–बन्दीले खुला रूपमा बस्न नपाएको बताउँछन्। “यसले कैदी–बन्दीबाट राज्यले लिन सक्ने श्रम पनि लिन सकेको छैन,” उनले भने।
कारागारमा कैदी–बन्दीको चापले बेलाबेला उनीहरूको स्वास्थ्यमा समस्या देखिने गरेको कारागार प्रशासनले जनाएको छ।
जीर्ण कारागारले जोखिम
कारागार भवन पनि जीर्ण छ। १९९० सालमा भवन बनेकाले जीर्ण भएको कारागार प्रशासनले जनाएको छ। भवन जीर्ण हुँदा कैदी–बन्दी जोखिममा छन्।
जेलर नारायण पन्थीले कारागार भवन जीर्ण भएकाले नयाँ भवन आवश्यक रहेको बताउँछन्।