बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • मुसर्रफको मृत्युदण्डदेखि ट्रम्पको महाभियोगसम्म ! कस्तो होला २०२० ?

मुसर्रफको मृत्युदण्डदेखि ट्रम्पको महाभियोगसम्म ! कस्तो होला २०२० ?

अघिल्लो वर्षमा शुरुभएका कतिपय घटना यस वर्ष टुंगो लाग्नुपर्ने अवस्थामा छन् भने कतिपय घटनाहरु यस वर्ष दिर्घकालीन महत्व र अन्तर्राष्ट्रिय चर्चामा समेत रहने देखिन्छ
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं– सन् २०१९ को विदाइपछि नयाँ वर्ष सन् २०२० आएसँगै यस वर्ष केही सम्भावित विश्व घटनाका बारेमा चर्चा शुरु भइसकेको छ । अघिल्लो वर्षमा शुरुभएका कतिपय घटना यस वर्ष टुंगो लाग्नुपर्ने अवस्थामा छन् भने कतिपय घटनाहरु यस वर्ष दिर्घकालीन महत्व र अन्तर्राष्ट्रिय चर्चामा समेत रहने देखिन्छ । यस वर्ष हुनसक्ने केही सम्भावित विश्वचर्चित घटनाक्रम यस्ता छन्।

triton college

ब्रेजिक्टको टुंगो लाग्ने

लामो समयदेखि चर्चा र विवादमा रहेको ब्रेजिक्टको यस वर्ष टुंगो लाग्ने भएको छ । हालै गठन भएको नयाँ सरकारले यही जनवरी ३१ मा बेलायतलाई इयूबाट अलग्याउने गृहकार्य गरिरहेको छ । बेलायत युरोपेली संघ ९ईयू० बाट बाहिरिने या रहने भन्ने बारेमा विवाद र अन्यौल भइरहेका बेला गत वर्ष भएको निर्वाचनमा बाहिर निस्किने पक्षको दलले जनादेश सहितको बहुमत पाएपछि अहिलेको सरकार ब्रेजिक्टको लागि गृहकार्यमा जुटेको हो । तत्कालिन प्रधानमन्त्री थेरेसा मेले बहुमत गुमाएपछि अन्तरिम प्रधानमन्त्री हुदै नयाँ निर्वाचित प्रधानमन्त्री बनेकाबोरिस जोनसनले आफ्नो कन्जरभेटिभ्स् पार्टीका सवै सांसदहरुबाट धोका नपाएमा ब्रेजिक्टको टुंगो लाग्ने देखिन्छ ।

ट्रम्प विरुद्धको महाभियोगको फैसला हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध तल्लो सदनबाट पारित भएको महाअभियोगको प्रस्तावमाथि माथिल्लो सदन सिनेटमा मतदान हुने भएको छ । सिनेटबाट पनि महाअभियोग प्रस्ताव पारित भएमा ट्रम्पको पद गुम्नेछ । सिनेटका एक सय सिटमध्ये हाल रिपब्लिकनका ५३ र डेमोक्र्याटका ४५ जनामात्र सदस्य छन् । अनि दुइ जना स्वतन्त्र हैसियतका सिनेटर छन् । तर उहाँमाथिको महाभियोगका लागि दुई तिहाई संख्या अर्थात् ६७ जना सिनेटर आवश्यक पर्दछ । त्यसैले महाअभियोग प्रस्ताव पारित हुने संभावना कम देखिएको छ । तल्लो सदनमा भएको मतदानका क्रममा सबै सांसदले पार्टीको लाइनअनुसार नै मतदान गरेकाले माथिल्लो सदनमा पनि त्यस्तै भएमा ट्रम्प महाअभियोग लाग्नबाट बच्नेछन् ।

यसको अन्तिम किनारा लाग्नेगरी मतदान यही जनवरी महिनामा हुने अपेक्षा गरिएपनि तय भने भइसकेको छैन । तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको र कंग्रेसलाई अवरुद्ध गरेको भन्दै महाभियोगको पक्षमा मतदान गरेको हो । तल्लो सदनमा ट्रम्पलाई महाभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ मत खसेको थियो । यसरी महाअभियोग लगाउने प्रस्ताव गरिएका अमेरिकी राष्ट्रपतिहरु मध्ये उनी तेस्रो राष्ट्रपति भएका छन् ।

corrent noodles
Metro Mart

अमेरिका र उत्तर कोरिया सम्भावित वार्ता

सम्बन्ध सुधारको प्रयासमा रहेका उत्तर कोरिया र अमेरिकाको सम्बन्धले कस्तो मोड लिन्छ होला भन्ने जिज्ञासा सन् २०२० मा पनि उठिरहने देखिएको छ । नाटकीय तरिकाले कहिले सम्वन्ध सुध्रेजस्तो हुने र कहिले कठोर सत्रु जस्तो देखिने यी दुई देशको सम्वन्ध सर्वाधिक चासोकै केन्द्रमा रहने गरेको छ । कुनै बेला एक अर्कालाई प्रमुख दुश्मन मान्ने यी देशहरुले विश्वलाई नै चकित पार्र्दै सन् २०१८ मा पहिलो पटक र सन् २०१९ मा दुई ओटा शिखर बैठक गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको शिखर बैठक यस वर्ष पनि हुने अपेक्षा गरिएको छ ।

मुसर्रफलाई मृत्युदण्डको फैसला

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको फैसलाको विषयले यस वर्ष पनि चर्चा पाउने देखिन्छ । अदालतको फैसलाप्रति धेरैतिरबाट नकारात्मक टिप्पणी भएको र देशकै सेनाले समेत असन्तुष्टी जनाएले यो विषयले सन् २०२० मा नयाँ मोड लिनसक्ने देखिएको छ । यस फैसलाका विरुद्धमा उनले अपिल गर्ने चर्चा शुरु भइसकेको छ । त्यस्तै अर्को अदालतले यस विषयमा के फैसला गर्ला भन्ने चर्चा पनि रहन्छ । र यदि अर्को अदालतले पनि मुत्युदण्डकै फैसला गर्यो भने पनि त्यस विषयले झनै चर्चा पाउने छ । उनलाई मृत्युदण्ड नै दिने काम भयो भने पनि त्यस घटनाको चर्चा विश्वव्यापी हुनेमा आशंका रहँदैन ।

प्रधानमन्त्रीमा महिन्दा वा उनको बहिर्गमन

अनेक राजनीतिक घटनाक्रममका कारण गत वर्ष चर्चै चर्चामा रहेको श्रीलङ्कामा यस वर्ष संसदीय निर्वाचन हुदैछ । गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनबाट पूर्व रक्षा सचिव गोटावाय राजापक्षे निर्वाचित भए पछि नयाँ मोड लिएकाले श्रीलङ्कामा अव हुने संसदीय निर्वाचनलाई महत्व र उत्सुकताका साथ हेरिएको छ । नवनिर्वाचत राष्ट्रपति राजपाक्षेले आफ्ना दाजु तथा पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकाले आउदो संसदीय निर्वाचनले महिन्दाको पद जोगाउछ या खोस्छ भन्ने विषयको निर्धारण हुनेछ । श्रीलङ्कामा आगामी डिसेम्बर १ भन्दा अगावै संसदीय निर्वाचन गरिसक्नु पर्ने अवस्था रहेको छ ।

ओलम्पिक र वर्लड कप

वर्ष २०२० मा पनि विश्वव्यापी खेलहरु धेरै हुने तालिका बनिसकेको छ । तर बढी चर्चामा रहने खेलकुद प्रतियोगिता भने मुख्यगरी तीन वटा छन् । सर्वाधिक चासोका साथ हेरिने समर ओलम्पिक यही जुलाई २४ देखि अगस्ट नौसम्म जापानमा हुने भएको छ । प्रतियोगितामा २०६ देश सहभागी हुने अपेक्षा गरिएको र गत डिसेम्मबर अन्त्य सम्ममा १३९ देशका नेस्नल ओलम्पीक कमिटिहरु प्रतियोगितामा सहभागी हुन योग्य ठहरिसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा ३३ खेलमा ३३९ इभेन्टस् हुने तय भएको छ । समर ओलम्पिक हरेक चार वर्षमा हुने गर्दछ । अर्को प्रतियोगिता २०२४ मा पेरिसमा हुने तय भइसकेको छ भने यसअघि २०१६ मा ब्रािजलमा भएको थियो ।

त्यसैगरी क्रिकेटतर्फका दुई ओटा वल्र्ड कप हुने भएका छन् । अन्डर १९ क्रिकेट वल्र्डकप दक्षिण अफ्रिकामा यही जनवरी १७ देखि फेब्रुअरी नौ सम्म हुने भएको छ । प्रतियोगितामा १६ समूह सहभागी हुने छन् भने ४८ खेल हुनेछन् । हरेक दुई दुई बर्षमा हुने यो प्रतियोगिता यसअघि सन् २०१८ मा न्युजल्याण्डमा भएको थियो । क्रिकेट तर्फ आइसिसि वमेन्स टी २० वर्ल्ड कप हुने भएको छ ।

अष्ट्रेलियामा यही फेब्रुअरी २१ देखि मार्च ८ सम्म प्रतियोगिता हुने तय भइसकेको छ । उद्घाटन खेल डिफेन्डीङ च्याम्पीयन अष्ट्रेलियाले भारतसँग खेल्ने भएको छ । प्रतियोगितामा १० टोली सहभागी हुने र २३ खेल हुने जनाइएको छ । हरेक दुई दुई वर्षमा हुने यो प्रतियोगिता यस अघि २०१८ मा वेस्ट इन्डीजमा भएको थियो भने अर्को प्रतियोगिता २०२२ मा दक्षिण अफ्रिकामा हुने तय भइसकेको छ ।

अमेरिकाले राष्ट्रपति छान्ने

विश्वकै सर्वाधिक चर्चामा रहने अमेरिकी राष्ट्रपतिको निर्वाचन यही वर्षको नोभेम्बर ३ मा हुदैछ । अघिल्लो वर्षदेखि नै नयाँ राष्ट्रपति चयनका लागि हुने निर्वाचनको प्रचार प्रसार सुरु भइसकेको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल दोहोर्याउन गत जुनमा चुनाव प्रचार प्रसार अभियानको औपचारिक घोषणा गरेका थिए । आगामी चार वर्षका लागि हुने निर्वाचनमा उम्मेदवार बन्ने अन्य प्रतिश्पर्धीहरुको चर्चा पनि सुरु भइसकेको छ ।

राष्ट्रपतिको निर्वाचन अगाडि पार्टीको तर्फबाट उम्मेदवार छनौट गर्न आन्तरिक निर्वाचन हुनेछ । ट्रम्पका विरुद्धमा डेमोक्र्याट पार्टीको तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडनको सम्भावना बढी रहेको बताउने गरिएको छ । ट्रम्पको अनौठो नेतृत्व शैली, विवदहरुको शृङ्खला, विभाजनकारी मानिने नीतिलागयतका कारणले प्रतिश्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

विभिन्न देशमा आम निर्वाचन

सन् २०२० मा विश्वका धेरै देशमा आम निर्वाचन हुने भएका छन् । कुनै देशले नयाँ राष्ट्रपति पाउने छ भने कतिपय देशमा संसदीय निर्वाचन हुन लागेका छन् । विषेश गरेर अफ्रिकाका बुरुण्डी, मध्य अफ्रिका, ताजकिस्तान, युरोपको बेलारुस, ग्रीक, पोल्याण्ड, दक्षिण अमेरिकाको बोलिभिया लगायतका देशमा सन् २०२० मा राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ ।

त्यसैगरी बुरुण्डी, इजिप्ट, सोमालिया, जोर्डन, किर्गिस्तान, मंगोलिया, म्यानमार, सिंगापुर, श्रीलंका, अजरबैजान, क्रोएसिया, जर्जिया, लिथुआनिया, रोमानिया, सर्विया, स्लोभाकिया, पेरु, भेनेजुएला, ईरान, ईजरायल, सिरिया लगायतका देशमा संसदीय निर्वाचन यी देशमध्ये कतिपयमा निर्वाचनको मिति तय भइसकेको छ भने कतिपय देशमा मिति घोषणा हुन बाँकी छ ।

- जीवन भण्डारी (रासस)

प्रकाशित: Jan 05, 2020| 08:36 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।