शनिबार, वैशाख ८, २०८१

मध्‍यपूर्वकाे तनावले नेपालमा इन्धनकाे मूल्‍य बढ्‍ने

अहिले नै कच्चा इन्धनको मूल्य प्रतिब्यारेल ३ डलर बढिसकेको छ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं– गएको शुक्रबार इराकमा भएको रकेट आक्रमणमा इरानी रिभोलुस्नरी गार्डस इलाइट क्वड्स फोर्सका प्रमुख जनरल क्वासिम सोलेमानी मारिएपछि त्यसले विश्वभर नै तरंग पैदा गरेको छ। कतिपयले त यसलाई तेस्रो विश्वयुद्धको पूर्वसंकेतका रुपमा मडारिएको कालो बादलसमेत भनेका छन्।

triton college

इराकका प्रधानमन्त्री अदेल अब्देलले अमेरिकाले विनाशकारी युद्धको सुरुवात गरेको आरोप लगाएका छन्। उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सुलेमानीको हत्या अमेरिकाले युद्ध रोक्नको लागि गरेको तर्क गरेका छन्।

अमेरिकी सैनिक कारवाहीले मध्यपूर्वमा उत्पन्न गरेको तनावले विश्वव्यापी रुपमै पेट्रोलियम आपूर्ति र व्यापारमा पनि असर पर्न सक्ने चिन्ता बढेको छ किनकी विश्वको करिब एक तिहाइ इन्धन मध्यपूर्वबाट आपूर्ति हुन्छ।

इन्धन उत्पादन गर्ने मुलुकहरुको संगठन ओपेकमा इरान, इराक, कुवेत, साउदी अरेबियालगायत १४ मुलुक छन्। अमेरिकी राष्ट्रपतिको निर्देशनमा इराकमा भएको आक्रमणमा इरानी फौजका प्रमुख मारिएको घटनाले इन्धन उत्पादन र आपूर्तिमा असर पर्न सक्ने विश्लेषण गरिएको छ।

त्यसो त अमेरिका आफैं पनि इन्धन उत्पादन गर्ने मुलुक हो। त्यहाँ यो वर्ष राष्ट्रपतिको चुनाव हुँदैछ। चुनावी माहोल आफ्नो पक्षमा बनाइराख्न इन्धनको मूल्य र आपूर्ति ठिकठाक राख्नुपर्ने बाध्यता राष्ट्रपति ट्रम्पलाई छ।

corrent noodles
Metro Mart

बीबीसीका अनुसार इरानले कुनै न कुनै इन्धन भएको स्थानमा आक्रमण गर्न सक्ने अनुमान गरिएको छ। त्यो स्थान अमेरिकाकै इन्धन भण्डारण केन्द्र हुन सक्छ वा साउदी अरेबिया। यही विषयलाई लिएर अहिले चिन्ता उत्पन्न भइरहेको छ।

साउदी अरेबिया, इराक र कुवेत मध्यपूर्वका तीन ठूला इन्धन निर्यातक देश हुन्। ती देशको इन्धन हारमुजमार्फत् निस्कने गरेको छ, जहाँ इरानको पनि दबदबा छ। इरानले इन्धन आपूर्तिमा गडबड गरेको अवस्थामा त्यसको असर विश्वभर पर्नेछ।

नेपालले भने सिधै उत्पादक देशसँग इन्धन आयात गर्दैन। नेपालमा इन्धन आपूर्ति गर्ने मुलुक भारत हो र भारतले आफैं इन्धन उत्पादन गर्दैन । उसले सबैभन्दा बढी मध्यपूर्वबाट र केही मात्रामा अमेरिकाबाट इन्धन आयात गर्छ।

भारतले इन्धन संकट पर्ने कुरालाई लिएर अहिले नै चिन्ता गरेको पाइएको छैन। मूल्यलाई लिएर पनि उसको चिन्ता छ। अहिले नै कच्चा इन्धनको मूल्य प्रतिब्यारेल ३ डलर बढिसकेको छ। भारतीय अर्थ व्यवस्थाको लागि प्रतिब्यारेल तीन डलरको मूल्य बढ्नु पनि निकै ठूलो कुरा हो। निकट भविष्यमा नै भारतीय बजारमा पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य बढ्ने निश्चित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

रुस, ब्राजिल, चीन, जापानजस्ता मुलुकमा ठूलो परिमाणमा भण्डारण रहेकोले त्यति असर नगर्ने भए पनि भारत, नेपालजस्ता देशमा भने ठूलो असर गर्ने अनुमान गरिएको छ।

भारतमा मूल्य बढ्नेबित्तिकै त्यसको असर नेपालमा पनि पर्ने नै भयो। नेपाल आयल निगमले ‘स्वचालित मूल्य प्रणाली’ लागू गरेको छ। अर्थात्– अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार नेपालमा पनि इन्धनको मूल्य घटबढ हुन्छ। निगमले महिनामा दुईपटक (अंग्रेजी महिनाको एक र १५ तारिख)मा मूल्य समायोजन गर्ने गरेको छ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित: Jan 05, 2020| 03:57 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्