सोमबार, असार २२, २०७७

समाचार विदेश

काम गराइको नयाँ शैली ‘टेलिकम्युट’

परम्परागत कर्पोरेट कल्चरमा ल्याउला त कायापलट ?

1584245450chinaaa.jpg

भर्खरै २८ वर्ष नाघेकी ताओ यु चीनको प्रमुख वाणिज्य केन्द्र संघाईको एउटा चिटिक्क परेको कार्यालयमा काम गर्छिन्। जर्मन मोटर कम्पनी पर्चेको मार्केटिङ विभागमा छन् उनी।

कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरू भएयता भने उनी घरबाटै कार्यालयको काम धानिरहेकी छन्। ताओ हुबेई प्रान्तबाट संघाई आएकी हुन्। हुबेई त्यही प्रान्त हो, जहाँबाट कोरोना भाइरस उत्पत्ति भएर फैलिएको थियो। ताओको घर पनि हुबेई प्रान्तको हुआङाङमा छ । करिब ७५ लाख जनसंख्या भएको यो सहर वुहानपछिको दोस्रो बढी संक्रमित भएको सहर हो ।

‘म उठ्छु, बिहानको खाजा खान्छु, अनि आफ्नो कोठामा आएर काम गर्न थाल्छु,’ ताओ आफ्नो दिनचर्या सुनाउँछिन्। घरबाट काम गर्न उनलाई त्यत्ति मन पर्दैन। तर, उनीजस्ता धेरै कामकाजी यसरी नै कार्यालयको काम घरबाट धानिरहेका छन्।

‘काम गर्दा घर र कार्यालयमा केही फरक हुँदो रहेनछ भन्ने मैले देखाउनु पनि पर्नेछ । सँगै सहकर्मीले के भन्लान् भन्ने पिरलो पनि छ । उनीहरु सोच्दा हुन्– ताओले बसीबसी काम गनै पाएकी छ, मस्ती छ उसलाई,’ताओ थप्छिन्।

फेब्रुअरी ३ देखि घरबाटै कार्यालयको काम गरिरहेका लाखौं चिनियाँ यसको फाइदा र बेफाइदा दुवै अनुभूत गरिरहेका छन् ।

पश्चिमी मुलुकमा घरमै बसेर कार्यालयको काम गर्नु नयाँ होइन। तर, चिनियाँका लागि यो नितान्त नौलो अनुभव हो।

सामान्यतया व्यस्त रहने चीनका प्रमुख सहरहरू बेइजिङ, संघाई, ग्वाङझाउ अहिले अकल्पनीय रुपले शान्त छन्। यी सहरहरु व्यस्त नै राम्रा लाग्थे ।

घरमै कार्यालयको काम गर्ने चिनियाँ कामदारहरूको मिश्रित अनुभव छ। कतिपयले आफ्ना हाकिम एकदमै किचकिचे भएको र घरबाट भरपर्दो रुपमा काम गर्लान् भनेर नपत्याउने हुँदा केही असहज भएको अनुभव सुनाएका छन्। परिवारका सदस्यले काममा बाधा पुर्‍याउने र ध्यान एकत्रित नभएको कतिपयको गुनासो छ।

केहीले भने यस्तो परिस्थितिलाई सहर्ष स्वीकार्दै काम गर्न निकै जाँगर चलेको र उत्पादन क्षमतामा पनि वृद्धि भएको समेत बताएका छन् । केहीले भने घरमा काम गर्ने स्थिति आएपछि आफ्नो प्रेम जीवनमा सुधार आएको प्रतिक्रिया दिएका छन्।

अनुकूलनको बाध्यता

बेइजिङस्थित एक अनलाइन शैक्षिक संस्था भीआईपी किडकी पाठ्यक्रम योजनाकार तथा निर्माता ३२ वर्षे सुन मेङ लियाओनिङ प्रान्तकी हुन्। उनी भने एक महिनादेखि कार्यालय र घर दुवैतिर धाइरहेकी छन् । ‘मलाई घर र कार्यालय आउन–जान औधी मन पर्छ,’ उनी भन्छिन्।

उनी आफ्नो कार्यस्थल नजिक सर्न पनि सक्दिनन् किनकि आफ्नो तीन वर्षे छोरालाई स्थानीय बाल शिक्षालयमा भर्ना गरेकी छन् । त्यहाँबाट बसाइँ सर्दा होकाउ भनिने एक कल्याणकारी सुविधाबाट उनको छोरा वञ्चित हुनेछ। ‘यो सार्वजनिक बाल शिक्षालय हो। यसैमा मात्र म उसलाई पठाउन सक्छु । यो सुविधा निजी शिक्षालयमा अत्यन्तै महँगो हुन्छ,’ मेङ भन्छिन्।

मेङले हप्तामा दुई दिन घरैबाट काम गर्न पाऊँ भनेर अनुरोध पनि गरेकी थिइन्। तर कम्पनीले उनलाई कामको समय नै परिवर्तन गर्न भन्यो। अनि उनी घरैबाट काम गर्न थालिन्।

कर्मचारीले घरमै बसेर काम गर्दा कार्यक्षमता बढेको मेङका हाकिम स्वीकार्छन्। नयाँ परिवेशलाई अपनाउन आन्तरिक तौरतरिकामै बदलाव ल्याइएको छ । कार्यालयमा आएको–गएको समय उल्लेख गर्नुपर्ने हुन्थ्यो तर अहिले काम सुरू गरेको जनाउ दिन डिङटकबाट एउटा तस्बिर अर्थात् चेक–इन फोटो’ पठाए पुग्छ, एपको एउटा प्लेटफर्ममा दैनिक कामको प्रतिवेदन दर्ज गरे पुग्छ।

‘हामी घरबाट काम गर्न बाध्य छौं। हाम्रा हाकिम पनि नयाँ परिवेशअनुसारका अनुगमन विधि अपनाउन बाध्य छन्,’ मेङ भन्छिन्। घरमा काम गर्न थालेदेखि बच्चाको गृहकार्य पनि उनले समयमै गराउन सकेकी छन् । कार्यालयबाट फर्किन लाग्ने समय त्यसमा प्रयोग भएको उनी बताउँछिन्। ‘काम सकिनासाथ थपक्क ल्यापटप बन्द गर्छु र बच्चालाई समय दिन सक्छु,’ मेङ खुसी हुँदै सुनाउँछिन्।

जटिलता

कोभिड–१९ प्रकोपभन्दा पहिले ‘टेलिकम्युट’ अर्थात् घरबाट काम गर्ने कर्मचारीको अनुपात कति थियो भन्ने कुनै प्रष्ट लेखाजोखा पाइँदैन। तथापि सन् २०१९ को ग्लोबल वर्कस्पेस सर्वेका अनुसार चीनका ५१ प्रतिशत व्यापारिक प्रतिष्ठानहरूले काम गर्ने समय निर्धारणमा लचकता अपनाएको देखिन्छ ।

अमेरिकाको भने यस्तो प्रतिशत ६९ छ । तैपनि कम्पनीपिच्छे लचकताको परिभाषा फरक–फरक हुन्छ । कतिलाई यसको अर्थ आफ्नो कामको परिमाण र कामको समय व्यवस्थापन गर्ने भन्ने हुँदो रहेछ । सरसर्ती हेर्दा अमेरिकीहरूको तुलनामा निकै थोरै चिनियाँ घरबाटै कार्यालयको काम गर्ने गर्छन्। सन् २०१७ को ग्यालप सर्वेका अनुसार कार्यस्थलभन्दा टाढा रहेर काम गर्ने चिनियाँको आकडा ४३ प्रतिशत थियो ।

प्रोफेट नामक एक परामर्श केन्द्रका एसिया प्रमुख जे मिलिकेन भन्छन्, ‘चिनियाँहरूलाई घरमै बसेर काम गर्न मन त्यत्ति नलाग्नुका पछाडि परम्परागत रूपले कार्यस्थल निवासबाट टाढै हुनुपर्ने भन्ने विश्वासले काम गरेको हुनुपर्छ। धेरै चिनियाँ कम्पनीहरूले व्यवसायको सांगठनिक संस्कृति विकास गर्न अझै लामो यात्रा पार गर्नु पर्नेछ।

धेरै चिनियाँ कम्पनीहरू अझै पनि व्यवस्थापनको ठाडो प्रणाली नै अनुशरण गरिरहेका छन् । कर्मचारी कार्यस्थल आएको–गएको, तिनले पाउने बोनस एवं तिनका प्रमुख कार्य सूचकहरू तिनका दैनिक हाजिरीसँगै जोडिन्छन्। घरबाट कार्यस्थलको काम गर्ने नयाँ प्रणाली कामदारलाई व्यवस्थापन गर्ने परम्परागत चिनियाँ पद्धतिका लागि चुनौती नै सावित भएको छ ।’

३६ वर्षे शीन सुन शेनजेनस्थित पिङान बैंकका प्रबन्धक हुन्। उनी सुन भन्छन्, ‘कर्मचारीले घरैबाट काम गर्ने अवस्थामा चुस्त सञ्चारको कमी एवं कर्मचारी र कार्यालय प्रशासन परिचालनमा निकै चुनौती थपिएको छ ।’ कार्यालय हाता बाहिरबाट काम गर्ने कर्मचारीमाथि निगरानी र नियमन गर्न निकै कठिन हुने शीनको धारणा छ।

‘घरबाट काम गर्ने मेरा कर्मचारी कहिलेकाहिँ अलि ढिलो रेस्पोन्स गर्छन् । सामान्यतया हामी हप्तामा एक पटक बैठक बस्छौँ । खासगरी कार्यालय आउने समयमा म बैठक राख्छु ताकि सबैजना त्यसदिन गर्ने कामबारे जानकार हुन् र उनीहरु सबै कार्यालय आएको निश्चित गर्न सकियोस्। त्यसमाथि म उनीहरूलाई हरेक दिन आफूले गरेका काम र अर्को दिन के गर्ने भन्ने कुराबारे पनि अग्रिम जानकारी माग्दै काममा दत्तचित्त बनाउन प्रेरणा पनि दिने गर्छु,’ शीन भन्छन्।

प्रबन्धकको नियमित सम्पर्कमा रहनुपर्ने बाध्यताका कारण कतिपय कर्मचारीले अहिले जटिलता पनि बेहोर्नुपरेको छ । एक चिनियाँ गेमिङ कम्पनी नेटइजकी कार्यक्रम उत्पादक २३ वर्षे याङ आफ्नो काम नै माया मारेर कन्फ्रेन्स कलमा झुन्डिनुपर्ने बताउँछिन्।

याङ भन्छिन्, ‘प्रकोपअघि दैनिक गरेका कामको रिपोर्ट पठाउनु पर्दैनथ्यो। तर अहिले सबै कुराको रिपोर्ट उच्च तहका प्रबन्धकलाई दिनुपर्छ। यसका लागि सबै क्रियाकलापको अभिलेख राख्नुपर्छ । यसले मेरो कार्यकुशलता घटाउँछ भन्ने मलाई डर लागिरहन्छ।’

उपाय यही हो ?

हुनत चिनियाँ समाजमा श्रम संस्कृति रूढीग्रस्त नहोला भन्न सकिन्न तथापि प्राविधिक भाषामा यो संस्कृति घरमै बसेर काम गर्नका लागि भने उपयुक्त देखिन्छ। वी–च्याट एउटा यस्तो विशेष एप हो, जसमा म्यासेज पठाउने, फाइलहरू सार्ने, भिडियो कन्फेरेन्सिङ गर्ने, ई–पेमेन्ट लगायत अन्य धेरै काम अन्य एपभन्दा धेरै उत्कृष्ट ढंगले गर्न सकिन्छ। यसको प्रयोग चीनमा मात्रै एक अर्बभन्दा बढीले गर्छन्।

वी–च्याटबारे एउटा पुस्तक लेख्दै गरेका म्याथ्यु ब्रेनन भन्छन्, ‘चीनमा प्रायः बन्द गरिने स्ल्याकजस्तो एपले जत्तिकै काम गर्ने वी–च्याट साना तथा मझौला व्यवसायका लागि उपयुक्त विकल्प सावित भएको छ। कार्यस्थल भवन तथा कोठाको भाडा र टाढाटाढाबाट कार्यस्थल धाउनुपर्ने कर्मचारीका समस्यालाई हल गर्न यो उपायले निकै सघाउने देखिन्छ। तर अहिलेको बाध्यताले घरमा काम गर्ने स्थिति रहे पनि यो अभ्यास पछिसम्म सफल हुने हो–होइन यसै भन्न सकिने स्थिति छैन।

बेइजिङस्थित जियाओतङ विश्वविद्यालयका व्यावसायिक संस्कृति विषयका सह–प्राध्यापक चुन ली यस्तो अभ्यासले अवश्य पनि कामदारको माग बढ्न जाने विश्वास गर्छन्। ‘ती कामदारले आफ्ना लालाबाला र वृद्धवृद्धाको हेरविचारलगायत परिवारका अन्य सदस्यहरूसँग त्यत्ति समय बिताउन पाउँदैनथे।

आफ्नै व्यक्तिगत उन्नतिका खातिर उनीहले केही गर्न पाइरहेका थिएनन्। कार्यस्थल र निवास आवत–जावतका क्रममा हुने दौडधुपका कारण शारीरिक एवं मानसिक तनाव झेल्नुपर्थ्यो। अहिले घरैबाट काम गर्दा काम र घरायसी जीवनबीच सन्तुलन कायम गर्न सक्ने भएका छन्। मलाई लाग्छ, घरबाटै काम गर्न चाहनेहरू अब धेरै हुनेछन्,’ ली भन्छन् ।

ली थप्छन्, ‘कामदारले के चाहन्छन् भन्ने कुरा कामको प्रकृति र तिनले गर्ने कामले सामूहिकताको गुणलाई कति प्रवद्र्धन गर्न सक्छ भन्ने कुरामा निर्भर गर्छ। सञ्चार र प्रविधिका क्षेत्रमा काम गर्ने कम्पनीहरूले कामको तालिका थप लचिलो बनाउने र घरबाटै काम गर्न अनुमति दिने सम्भावना देख्छु म। तर, परम्परागत औद्योगिक क्षेत्रहरू तथा समूहलाई संयोजन गर्नुपर्ने खालका काममा त कामदार कार्यस्थलमै आवश्यक पर्छ। यसमा हाल विकास भएको कामको नयाँ स्वरूपले कुनै असर पारेको देखिँदैन।’

बेइजिङस्थित च्याउङ कोङ ग्राजुयट स्कुल अफ बिजनेस, संस्थागत व्यवहार विषयका सह–प्राध्यापक झ्याङ शीयाओमेङको बुझाइमा हालैका दिनमा कतिपय कम्पनीहरूले अनलाइन कार्यस्थल र त्यससँग सम्बन्धित तालिममा निकै लगानी गरिरहेका छन् । यसले गर्दा भविष्यमा घरबाट गर्ने कामदारलाई निकै मद्दत मिल्ने देखिन्छ।

उनी भन्छिन्, ‘व्यवस्थापन शैलीमा पाइने ‘तानाशाही’ प्रवृत्ति विस्तारै अलोकप्रिय बन्दै जाने र व्यवस्थापकको ध्यान आफ्ना कामदारका आधारभूत आवश्यकताप्रति केन्द्रित हुँदै जाने देखिन्छ। कोभिड–१९ले कम्पनी र कामदारबीचको आपसी सम्बन्धलाई पुनर्मूल्यांकन गर्ने एउटा ऐतिहासिक परिस्थिति सिर्जना गरिदिएको छ । साथै व्यावसायिक संस्कृतिलाई थप समृद्ध पार्न र दुवै पक्षको फाइदालाई ध्यान दिने यो अनुपम मौका पनि हो।’

परामर्श केन्द्र प्रोफेटका मिलिकनको बुझाइमा व्यावहारिक बन्न धेरै लचकता देखाउँदा रोजगारदाता कम्पनी नै अधोगति लाग्ने सम्भावना पनि रहन्छ। नवीनतम प्राविधिक क्षेत्रका कर्मचारीले बिहान ९ बजेदेखि बेलुकी ९ बजेसम्म हप्ताको ६ दिन काम गर्ने प्रचलनले गर्दा धेरै पारिवारिक जटिलता आइपर्दा ‘९–९–६’ संस्कृति नै बदनाम भएको थियो । पुनः त्यही प्रवृत्तिको पुनरावृत्ति हुने हो कि भन्ने आशंका व्यक्त उनी व्यक्त गर्छिन्।

रडर फिन नामक संस्थाकी प्रबन्धक २९ वर्षीया सिन्डी सोङ घरबाट काम गर्ने प्रचलन राम्रो या नराम्रो भन्नेमा अझै पनि दुविधामा छिन्। ‘हाम्रो घर त्यति फराकिलो छैन । म र मेरो श्रीमान् एउटै कोठामा बसेर कार्यालयको काम गर्दै आएका छौं। यस्तो स्थितिमा हामी एकअर्काको काममा बाधा पुगिरहेको पाउँछौं।’ यद्यपि, उनको वैवाहिक जीवन सुमधुर बन्दै गएको छ। यसको श्रेय कोभिड–१९ प्रकोपलाई जान्छ।

उनी दंग पर्दै भन्छिन्, ‘सधैं घर फर्कंदा अबेर हुने । बिहान पनि उस्तै हतारो। तर अहिले हामीले एकअर्कालाई समय दिन पाएका छौं । पहिलेको भन्दा अहिले आत्मीयता पनि बढेको छ।’

बीबीसी वर्कलाइफमा लु–हाइ लियाङले लेखेको यो आलेख मातृका पौडेलले अनुवाद गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्