काठमाडौं– अब नेपालमै गाडी उत्पादन हुने भएको छ। हुन्डाई र किया ब्राण्डका गाडी नेपालमै उत्पादन गर्न कोरियाको मोट्रेक्स कम्पनीले लगानी गर्न लागेको हो। यसका लागि लगानी बोर्ड नेपाले कम्पनीसँग सम्झौता गरेको छ।
शुक्रबार लगानी बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले १० अर्ब ५४ करोड रुपैयाँ लागतमा दक्षिण कोरियाको एक कम्पनीले नेपालमा नै गाडी उत्पादन गर्ने प्रस्ताव बोर्डसामु राखेको बताए।
लगानी बोर्डले तयार पारेको भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्ल्बिङ प्लान्ट परियोजनाका लागि कोरियाको मोट्रक्स कम्पनीले लगानी गर्ने इच्छा देखाएकोले उनीहरुसँग परियोजनामा लगानी सम्झौतामा प्रारम्भिक हस्ताक्षरसमेत भइसकेको छ ।
पत्रकार सम्मेलनमा अधिकारीले भने, ‘मोट्रेक्सले मागेकै जति करमा सहुलियत दिने हो भने ३० देखि ४० प्रतिशत सस्तोमा हुन्डाई र किया ब्रान्डा गाडीहरु नेपालीले चढ्न पाउने थिए तर हामी उसले मागेजति करमा सहुलियत दिन सक्ने अवस्थामा थिएनौं । त्यसैले करमा उनीहरुले मागेजति छुट भने दिन सकेनौं । तर पनि आयात गर्दा भन्दा दुई लाखसम्म सस्तोमा नेपालीले गाडी पाउनेछन्।’
अधिकारीका अनुसार लगानी बोर्डले मोट्रेक्ससँग प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्टसमेत गरिसकेको छ । ‘परियोजना सम्झौता गर्दा मोट्रेक्सले ७ वर्षसम्म आफूहरुजस्तै नेपालमा नै गाडी उत्पादन गर्ने कम्पनीलाई खोल्न नदिने शर्त अघि सारेका थिए तर त्यो शर्त भने हामीले मानेनौं। त्यसैले उनीहरुले हाम्रो अडानलाई नै स्वीकारेका छन्,’ अधिकारीले भने।
मोट्रेक्सले बोर्डसँग गरेको सम्झौता अनुसार वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) सकिएको ३ वर्षभित्र प्लान्ट स्थापना गरी गाडी उत्पादन गर्नेछ ।