शनिबार, चैत १५, २०७६

समाज

समाजवाद ल्याउने सरकारले होईन पार्टीले हो : मन्त्री भुसाल

समाजवाद ल्याउने सरकारले होईन पार्टीले हो : मन्त्री भुसाल

भैरहवा- कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भुसालले समाजवाद ल्याउने काम सरकारको नभई पार्टीको भएको बताएका छन्।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भुसालले नेकपा बलियो र असल हुने हो भने मुलुकमा समाजवाद आउने विश्वास व्यक्त गरे।

नेकपा क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ३ रुपन्देहीको बैठकलाई भैरहवामा सम्बोधन गर्दै भुसालले भने, ‘सरकार दुईतिहाई वा तिन चौथाई हुँदैमा समाजवाद आउँदैन। समाजवाद ल्याउने काम पार्टीको हो। सही विचार सिद्धान्तका साथ पार्टीलाई बलियो र सशक्त बनाउँदै लगेमा मात्रै समाजवाद आउँछ। ’

मन्त्री भएपछि आफूले देखिनेगरी काम गर्ने मनसायका साथ केही योजना ल्याउन थालेको भुसालले बताए। उनले भने, ‘प्रधानमन्त्री ज्यू स्वस्थ भएर आएपछि मन्त्रालयले बनाएको योजनामा छलफल हुन्छ अनि त्यसलाई सार्वजनिक गर्छौँ।’ मन्त्री भुसालले ५ जना सदस्य रहेको एक घरधुरीले कम्तिमा ३० हजार रुपैयाँ कृषिबाट आर्जन गर्नेगरी कार्यक्रम ल्याउन थालेको दाबी गरे।

बैठकमा प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री लिला गिरिले पार्टी सदस्यहरुले अन्य दलका सदस्यलेझैँ चिया र पान पसलमा बसेर गाली गर्नुभन्दा सरकारलाई सुझाब दिनुपर्ने बताए।

प्रदेशसभा सदस्यसमेत रहेका नेकपा नेता तुलसीप्रसाद चौधरीले सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेको गुनासो गरे।

कार्यक्रममा क्षेत्रीय अध्यक्ष हितराज पन्थी, रुपन्देही जिल्ला समन्वय समितिका सभापति एकराज विश्वकर्मा, पार्टीका जिल्ला अध्यक्ष तथा बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदी, जिल्ला सचिव निर्मल जिसी, क्षेत्रीय इन्चार्ज अनुप बराल लगायतले बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्