बुधबार, चैत १९, २०७६

समाचार समाज
मोबाइलको लतले गाँजेका केटाकेटी

काठमाडौंका प्रसन्न पन्त विद्यालय जान नमानेपछि अभिभावकले ६ महिनादेखि कान्ति बाल अस्पताल लगिरहेका छन्।

कक्षा १० का विद्यार्थी उनी विद्यालय नजाने मात्र होइन, साथीसँग नखेल्ने, अभिभावकसँग झर्किने, नपढ्ने र आक्रामक हुन्थे।

जति बेला पनि मोबाइल र कम्प्युटरमा व्यस्त रहने उनको बानीमा अत्यासलाग्दो परिवर्तन आएपछि अभिभावकले अस्पताल पुर्‍याएका हुन्।

उपचारमा संलग्न मनोचिकित्सक अरुणराज कुँवर प्रसन्नलाई स्क्रिनको लत लागेको बताउँछन्। अभिभावकका अनुसार निरन्तर उपचार र परामर्शपछि उनको बानी परिवर्तन हुन थालेको छ।

प्रसन्नको जस्तो समस्या लिएर अस्पताल धाउने बालबालिका र अभिभावक दैनिक भेटिन्छन्।

अस्पताल नै जानुपर्ने अवस्था नआए पनि बालबालिकामा मोबाइलको लतले हैरानी बेहोरिरहेका अभिभावक थुप्रै छन्। स्क्रिन लत अब ‘घरघरको कहानी’ बनिसकेको छ। 

चितवनकी उर्मिला अधिकारी पनि छोरी युनिसालाई मोबाइलको लत लागेपछि चिन्तित छन्। भन्छिन्, “बिहान उठ्नेबित्तिकै मोबाइल नपाए झगडा गर्न थाल्छे । मोबाइलबिना खानै खाइदिन्न।’

आफूलाई कामको चाप हुँदा छोरीलाई मोबाइल दिएर भुलाउने गर्थिन् उर्मिला। त्यही कारण युनिसामा मोबाइलको लत बस्यो।

काठमाडौंका ११ वर्षीय सुशन श्रेष्ठलाई अभिभावकले केही अह्राए भने सर्त राख्छन्– ‘मोबाइल हेर्न दिने कि नदिने?’ उनमा पनि मोबाइलको लत बस्न थालेकाले अभिभावक अहिले विज्ञसँगको परामर्शमा छन्।

सहरी क्षेत्रका अधिकांश बालबालिकामा स्क्रिन लत ‘क्रोनिक’ समस्या बनिसकेको छ। सुरुसुरुमा ‘के फरक पर्छ र!’ भनेर बालबालिकालाई मोबाइल दिने अभिभावक लत लागेपछि भने मनोविद् खोज्न बाध्य छन्।

मनोचिकित्सक डा. अरुणराज कुँवर भन्छन्, “सुरुमा छोराछोरीलाई मोबाइल, ल्यापटप दिएर भुलाउन खोज्ने अभिभावक यसको लत बसिसकेपछि परामर्श लिन आउँछन्।”

डा. कुँवरका अनुसार स्क्रिनको लतले मनोवैज्ञानिक मात्र नभई बालबालिकामा शारीरिक समस्या समेत आउँछ। लामो समयसम्म एकै ठाउँमा बसेर स्क्रिनमा भुल्दा बालबालिकामा मोटोपन बढ्छ, ढाड, कम्मर तथा गर्धन दुख्छ, आँखामा समस्या आउँछ।

डा. कुँवर भन्छन्, “स्क्रिनमा बालबालिका चाँडै उत्तेजित हुन्छन्। स्क्रिनमा देखिएका कुराको चाँडै प्रतिक्रिया जनाउँछन्। सकारात्मक भन्दा नकारात्मक उत्तेजना उनीहरूमा बढ्छ।”

बालबालिकामा स्क्रिनको लत अभिभावककै कारण निम्तिएको बताउने डा. कुँवर समस्या समाधानका लागि पनि अभिभावकले नै अग्रसरता लिनुपर्नेमा जोड दिन्छन्। “अभिभावकले स्क्रिनका विषयमा बालबालिकालाई अलि कडाइ नै गर्नुपर्छ,” उनी भन्छन्।

आँखा रोग विशेषज्ञका अनुसार कलिलै उमेरमा आँखा कमजोर भएर चश्मा लगाउनुपर्ने समस्या पनि बढिरहेको छ।

ग्याजेटमा लामो समय हेरिरहँदा आँखाको मांसपेशी थाक्छ। एकटक हेरिरहँदा परेला झिम्किन पाउँदैन। दिनमा दुई घण्टाभन्दा बढी समय स्क्रिन हेर्दा आँखा सुक्खा हुने र भिजन सिन्ड्रोमको समस्या हुने चिकित्सक बताउँछन्।
यसबाट बच्न प्रत्येक आधा घण्टामा आँखालाई २० सेकेन्डजति आराम दिनुपर्छ वा २० मिटरभन्दा टाढा हेर्नुपर्छ।

सामाजिक गतिविधिमा रुचि घट्दै

स्मार्ट फोन, ट्याब्लेट, कम्प्युटरजस्ता ग्याजेटको अति उपयोगले मानिसलाई असामाजिक बनाउँदै लगेको समाजशास्त्री चूडामणि गौतम बताउँछन्।

“स्क्रिनमा भुल्न थालेपछि बालबालिका अरूसँग बोल्न मन गर्दैनन्, सामाजिक काम र गतिविधिमा रुचि राख्दैनन् र झर्किन्छन्,” गौतम भन्छन्, “यस्ता बालबालिका स्कुलमा समेत सक्रिय हुन छोडेका छन्। प्रविधिमा रमाउन थालेपछि सामाजिक, पारिवारिक सम्बन्धबाट पनि टाढिँदै जान थालेका छन्।”

प्रविधिले मानिसको दैनिकी, काम गर्ने शैली र घुमघामको तरिका फेरिएको गौतमको विश्लेषण छ। “मानिस आफैंमा रमाउने प्रवृत्ति बढेको छ। शारीरिक व्यायाम कम भएको छ। प्रविधिले परिवार र सामाजिक सम्बन्धलाई आइसोलेसनमा राखेको छ,” गौतम भन्छन्।

हाम्रा सार्वजनिक स्थान खुम्चँदै गर्दा बालबालिकालाई खेल्ने ठाउँ पर्याप्त छैन, साइकल चलाउन सुरक्षित सडक छैन। नजिकैको स्कुल पनि हिँडेर जाने चलन छैन।

अपहरण, बलात्कारजस्ता अपराधको डरले अभिभावकले बच्चालाई सहजै बाहिर पठाउन सकिरहेका छैनन्। त्यस कारण पनि बालबालिका कोठाभित्रै मोबाइल, ल्यापटपजस्ता ग्याजेटमा भुल्न बाध्य छन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालै गरेको एक अध्ययनले आधुनिक जीवनशैली र इन्टरनेटका कारण बालबालिकादेखि युवासम्म निष्क्रिय बन्दै गएको देखाएको छ।

११ देखि १७ वर्ष उमेर समूहमा गरिएको उक्त अध्ययनअनुसार इन्टरनेटको अत्यधिक प्रयोगका कारण सबैभन्दा अल्छी दक्षिण कोरियाका किशोरकिशोरी छन्। यो उमेरको अल्छीपनले मस्तिष्क विकास र सामाजिक सीपमा समेत असर पर्ने डब्ल्यूएचओले जनाएको छ।

१४६ देशमा गरिएको अध्ययनअनुसार नेपालका किशोरकिशोरी सूचकांकमा ८४ औं नम्बरमा छन्। यसो हुनुको मुख्य कारण आधुनिक जीवनशैली र इन्टरनेटलाई औंल्याइएको छ।

डब्ल्यूएचओका अनुसार विश्वका १९ प्रतिशत बालबालिका मात्रै पूर्ण सक्रिय छन्।

(यसमा प्रयोग गरिएका नाम परिवर्तित हुन्।)

प्रतिक्रिया दिनुहोस्