काठमाडौं– काभ्रेको नमोबुद्धमा गत कात्तिक १९ गते भएको दम्पती हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। करिब दुई महिना लामो अनुसन्धानपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीर्आइबी)ले दम्पती हत्यामा संलग्न दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको हो।
नमोबुद्ध–८ दाप्चाका श्यामकृष्ण श्रेष्ठ र उनकी पत्नी रुकुमायाको हत्यामा संलग्न उदयपुरका किरणकुमार मगर र सुमन राईलाई सीआईबीले मंगलबार पक्राउ गरेको छ । २० वर्षीय किरणलाई ललितपुरको भैँसेपाटी र २४ वर्षीय सुमनलाई चावहिलबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।
घटनाको भोलिपल्ट नै सीआईबीबाट डीएसपी हरि बस्नेतको नेतृत्वमा टोली खटिएको थियो।
पुरानो पैसाका लागि हत्या
अभियुक्तको बयानलाई उद्धृत गर्दै डीएसपी बस्नेतले बताएअनुसार श्रेष्ठ दम्पतीले भूकम्पपछिको पुनर्निर्माणका क्रममा बनाएको घरमा सुमनले तीन महिना र किरणले एक महिना काम गरेका थिए। श्रेष्ठको घरमा पुराना सिक्का र रुपैयाँ छन् भन्ने हल्ला गाउँमा फैलिएको थियो। त्यो कुरा सुमन र किरण दुवैले सुने।
त्यो घरमा दुईजना मात्र बस्ने र प्रशस्त पुराना सिक्का भएको आशंकामा लुट्न भनेर उनीहरू काठमाडौंबाट अघिल्लो दिन गएका थिए। उनीहरू सो घरमा पुग्दा बेलुकाको करिब नौ बजिसकेको थियो, श्रेष्ठ दम्पती सुतिसकेका थिए ।
नयाँ निर्माण गरिएको घरको छत हुँदै पुरानो घरको झ्यालबाट उनीहरु घरभित्र छिरे । घरमा कोही छिरेको थाहा पाएपछि श्रेष्ठ दम्पती उठे। उनीहरुले उदयपुरबाट काठमाडौं जान लागेको र रात परेकाले बास बस्न आएको बहाना बनाए।
आफ्नो घर बनाउने मजदुरहरू नै आएपछि श्रेष्ठ दम्पतीले उनीहरूलाई खाना खुवाए । श्रेष्ठले सँगै मदिरा पनि पिए। करिब १२ बजेसम्म मदिरा, गाँजा सेवन गर्दै उनीहरु पसलमै बसे। श्रेष्ठ दम्पतीले आफू सुत्ने छेवैमा उनीहरुलाई सुत्ने व्यवस्था गरे।
केही बेरपछि बूढाबूढी सुते कि सुतेनन् भनेर किरणले टर्चलाइट बालेर हेरे। श्यामकृष्ण बिउँझै थिए। उनी बिउँझै भएको थाहा पाएर किरणले निन्द्रा नपरेको भन्दै थप मदिरा खान मन लागेकाले बोलाउन आएको बताए। श्यामकृष्णले थप मदिरा पनि दिए।
निदाएपछि चोर्न सहज नहुने देखेपछि उनीहरूले श्याकृष्णलाई नियन्त्रणमा लिन खोजे। किरणले घाँटी अठ्याएपछि श्यामकृष्णले पनि प्रतिकार गरे। सुमनले पछाडिबाट जुटको डोरीले घाँटी कसे। किरणले खुर्पाले हानी श्यामकृष्णको हत्या गरे। होहल्ला भएपछि रुकुमाया तल्लो तलामा झरिन्। पतिको हत्या भएको देखेपछि उनी झ्यालबाट भाग्ने प्रयास गरिन्। तर, उनीहरूले रुकुमायालाई पनि खुर्पा र बियरको बोतलले हाने। दुबैको स्वास बाँकी रहेकाले ब्लेडले घाँटी चिरेर हत्या गरे।
दम्पतीको हत्या गरेपछि माथिल्लो तलामा गई सिक्का र रुपैयाँ राखेको थैली लिएर हिँडे। घरभन्दा केही तल रहेको ढुंगेधारामा नुहाएर रगत पखाले र त्योभन्दा तल रहेको खाली घरमा पसेर आगो बालेर तापे। लुटेको पैसा पनि त्यही घरमा गने। सोचेअनुसार बहुमूल्य सिक्का र रुपैयाँ नभेटेपछि दुई हजार नगद लगेर बाँकी सिक्का घरभित्रै जमिनमा गाडेर हिँडे। रगतले लतपत्तिएको लुगा पोको पारेर त्यतै फाले।
जुत्ताको छापबाट खुल्यो पहिचान
सुरुबाट नै श्रेष्ठ दम्पतीको होटल भएको र ग्राहकबाटै हत्या भएको हुन सक्ने आकलन प्रहरीले गरेको थियो। सम्पत्तिका लागि आफन्तकै संलग्नताको आशंकामा पनि प्रहरीले अनुसन्धान गर्यो तर, केही पत्ता लागेन।
घटनास्थलको जुत्ताको छापले गर्दा प्रहरी हत्यारा नजिक पुग्न सफल भएको छ। ‘घटनास्थलमा परेको जुत्ताको छाप हेर्दा निर्माण मजदुरले घरको ढलान तथा प्लास्टरमा लगाउने जुत्ता रहेको खुल्यो,’ डिएसपी बस्नेतले भने, ‘अनुसन्धान निर्माण मजदुरतर्फ सोझियो र निशाना सही साबित भयो।’
उनीहरुले घरभित्र गाडेर राखेको करिब एक सय सिक्का र कपडा पनि प्रहरीले बरामद गरेको छ। काभ्रे प्रहरी प्रमुख रविकुमार पौडेलले अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको जानकारी दिए।