जनकपुरधाम– नेपाल भ्रमण वर्ष २०२० बुधबारदेखि औपचारिक रुपमा सुरु भएको छ । भ्रमण वर्ष सफल पार्न विभिन्न कार्यक्रमका साथ प्रदेश २ मा तयारी गरिएको छ ।
भ्रमण वर्षको पहिलो दिन बुधबार हवाईमार्ग हुँदै काठमाडौंबाट जनकपुर पुगेका पर्यटकहरुलाई जनकपुर विमानस्थलमा स्वागत गरिएको छ । प्रदेश २ स्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.प्रेमनारायण कँडेल विमानस्थल पुगेर पर्यटकहरुलाई फूलमाला लगाएर स्वागत गरेका थिए । पर्यटकका साथै जहाजका पाइलटलाई समेत विमानस्थलमा स्वागत गरिएको थियो ।
भ्रमण वर्षको पहिलो दिन प्रदेशस्थित आठवटै जिल्लाका सदरमुकाममा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको नेपाल भ्रमण वर्ष २०२० का प्रदेश समन्वय समितिका संयोजक मनिष झाले बताए ।
यसैगरी भ्रमण वर्षको अवसर पारेर जनकपुरस्थित दुधमतीमा वृक्षारोपण गरिएको छ भने जानकी मन्दिर प्राङ्गणमा २ हजार २० बेलुन उडाउने, २ हजार २० फलफूल मन्दिरमा चढाउने कार्यक्रमसमेत रहेको छ । यसका साथै साँझ जानकी मन्दिरमा २ हजार २० वटा दीप प्रज्वलन गरेर दीपावलीसमेत मनाइने बताइएको छ ।
यी हुन् प्रदेश २ का पर्यटकीय स्थल
२० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको भ्रमण वर्ष २०२० को लागि प्रदेश २ का आठवटै जिल्लामा समन्वय समिति गठन गरेर तयारी सुरु भएको छ । प्रदेश २ को आठवटै जिल्लामा एक मुख्य केन्द्र निर्धारण गरेर ५/५ वटा गन्तव्यस्थललाई पर्यटकी नगरीको रुपमा घोषणा गरिएको छ । पर्यटकहरुको स्वागतका लागि हरेका जिल्ला र गन्तव्यस्थलमा प्रवेशद्धार निर्माण गरिएको छ ।
भ्रमण वर्षमा प्रदेश २ को ऐतिहासिक धार्मिक स्थलहरु पर्यटकहरुका लागि आकर्षणको केन्द्र रहने छ । प्रदेशभित्र रहेका मठमन्दिर, तलाउ, सरोवर र ऐतिहासिक स्थल पर्याप्त संख्यामा रहकोले त्यसतर्फ पर्यटहरु आकर्षित हुने जिल्ला समन्वय समितिले जनाएको छ ।
भ्रमण वर्षका लागि जनकपुरको जानकी मन्दिरसहित यहाँका विभिन्न मठमन्दिर पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्ने समन्वय समितिका संयोजक मनिष झाले बताए ।
बारा जिल्लाको अमलेखगञ्जस्थित चुरियामाई स्थान, सिम्रौनगढ स्थित कंकालिनी मन्दिर, रानीबास, गढीमाईको महागढी माई मन्दिर, पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय क्षेत्र छन् ।
यसैगरी पर्साको रामभौरी भट्ठास्थित दुग्धेश्वर महादेव मन्दिर, बिरगंजको घडिअर्वा पोखरी, शंकचार्य गेट, महुवनको पारसनाथ मन्दिर र पर्सास्थित सुर्यगंगा आरतीलाई मुख्य गन्तव्य स्थलको रुपमा लिइएको छ ।
रौतहटमा गौरस्थित बाराहवा ताल, नजरपुरको निन्जाधाम, शिवनगरको पशुपतिनाथ मन्दिर, बागमतीस्थित नूनथर, चन्द्रनिगहरपुरको शहीद पार्क पनि पर्यटकीय गन्तव्यस्थल हो ।
धनुषा जनकपुरधामस्थित जानकी मन्दिर, मिथिला आर्ट, विवाह मण्डप, जनकपुर रेल्वे स्टेसन, गंगासागर तलाउ धार्मिक तथा सांस्कृतिक दृष्टिले प्रमुख पर्यटकीय स्थल हुन् ।
महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर, मठिहानीको लक्ष्मीनारायण मन्दिर, बर्दिबासको पञ्चधुरा माईस्थान, रौजा बजारस्थित मुस्लिमहरुको रौजा मजार, टुटेश्वरस्थित टुटेश्वरनाथ मन्दिरलाई गन्तव्य स्थलको रुपमा प्रदेश सरकारले निर्धारण गरेको छ ।
त्यस्तै, सर्लाहीमा सलेमपुरस्थित चमेलीमाई मन्दिर, बागमतीको हरिहर्क क्षेत्र, चन्द्रनगरको नाधी ताल, लालबन्दीस्थित राधाकृष्ण मन्दिर, सगरनाथस्थित सागरनाथ जंगलसहितका वन क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा लिइएको छ ।
सप्तरीमा सखडास्थित छिन्नमस्ता सखडा भगवती मन्दिर, भारदहको कंकालिनी मन्दिर र कोशी टापु, तिरहुत गाउँपालिकास्थित लहजरा ताल, राजविराजको राजदेवी मन्दिर र सिरहामा बन्दीपुरस्थित बाबा ताल, महसोठाको राजा सलहेश स्थान, लहानको पकडिया गढ, ढोढनाको राजदेवी पञ्चवती मन्दिर र लहानस्थित सलहेश फुलबारी लगायतका स्थानलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा प्रदेश सरकारले निर्धारण गरेको छ ।