जनकपुरधाम– प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न छलफल सुरु भएको छ । नामाकरण र स्थायी राजधानीसम्बन्धी प्रस्ताव दर्ता भएको झण्डै चार महिनापछि विशेष संसदीय समितिले छलफल सुरु गरेको हो ।
समितिको पहिलो बैठक बसेको एक महिनाभित्र नामाकरण र राजधानीबारे टुंगो लगाउनुपर्ने व्यवस्था छ । तीन दिनअघि समितिको पहिलो बैठक बसेकोले एक महिनाभित्र नामाकरण र स्थायी राजधानीबारे निर्णय हुने बताइएको छ ।
सभामुख सरोज यादवको संयोजकत्वमा गठित विशेष समितिले मंगलबार नामाकरण र राजधानीबारे प्रस्ताव दर्ता गराएका विभिन्न दलका प्रस्ताव र समर्थकहरुसँग छलफल गर्दैछ । प्रदेशको नामाकरणबारे फरक फरक प्रस्ताव दर्ता भएपछि छलफलबाट सहमतिको प्रयास गरिने बताइएको छ ।
प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न प्रक्रिया सुरु भइसकेको विशेष समितिका संयोजक समेत रहेका सभामुख यादवले जानकारी दिए । समितिको पहिलो बैठक सुरु भएको एक महिनाभित्र टुंगो लगाउनुपर्ने व्यवस्थाअनुसार प्रदेशले अब स्थायी राजधानी र नाम पाउने करिब करिब पक्का रहेको उनले बताए ।
राजधानीबारे सबै दलको एकमत देखिए पनि नामाकरणबारे मतभिन्नता कायमै रहेको छ । प्रदेशको नामाकरण र स्थायी राजधानीबारे प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले ५ भाद्रमा आ–आफ्नो प्रस्ताव दर्ता गराएका थिए ।
सत्ता साझेदार समाजवादी पार्टी र राजपाले प्रदेशको नाम ‘मधेश प्रदेश’ र राजधानी जनकपुरसहित धनुषा जिल्ला तथा महोत्तरीको सीमामा पर्ने मिथिला मध्यमा परिक्रमा क्षेत्र समावेश गरेर हुनुपर्ने प्रस्ताव गरेको छ ।
यसैगरी नेपाली कांग्रेसले प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ र राजधानी जनकपुरधाम हुनुपर्ने भनेको छ भने प्रमुख प्रतिपक्षी नेकपाले भने प्रदेशको नाम ‘जानकी’ र राजधानी जनकपुरसहित मिथिला मध्यमा परिक्रमा क्षेत्र र धनुषाको सम्पूर्ण भाग समावेश गर्न प्रस्ताव गरेको छ ।
कतिपय प्रदेशसभा सदस्यले दलको निर्णयविपरित समेत प्रस्ताव दर्ता गराएका छन् । पर्सा जिल्लाबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजेश्वर साहले प्रदेशको नामाकरण ‘मध्य मधेश’ र राजधानी वीरगंज हुनुपर्ने प्रस्ताव गरेका छन् भने समाजवादी पार्टीका सिंहासन कलबारको प्रदेशको राजधानी वीरगंजदेखि सिम्रोनगढसम्म हुनुपर्ने प्रस्ताव दर्ता भएको छ ।