काठमाडौं– नेपालकी एकमात्र पारालम्पिक खेलाडी पलेसा गोवर्दन टोकियो पारालम्पिकबाट बाहिरिएकी छन्। उनी अन्तिम १६ को चरणबाटै बाहिरिए पनि उनलाई हराएकी खेलाडीले उपाधि जितेपछि पुनः अवसर पाएकी थिइन्।
के ४४ अन्तर्गत ५८ केजी मुनिमा प्रतिस्पर्धा गरेकी पलेसाले काश्य पदकका लागि गरिएको प्रतिस्पर्धामा समेत हार बेहोरेकी थिइन्। शुक्रबार भएको रिपिचेजको फाइनलमा पलेशा चीनकी लि चेनसँग १२–९ ले पराजित भइन्। प्रतियोगितामा हार बेहोरेका खेलाडीले रिपिचेजमा प्रतिस्पर्धा गर्छन्।
यससँगै उनी ऐतिहासिक पदक जित्नबाट चुकेकी छन्। यदि उनले आजको खेलमा चिनियाँ खेलाडी लि चेनलाई हराउन सकेको भए उनले ऐतिहासिक पदक जित्ने थिइन्।
रिपिचेजको क्वाटरफाइनलमा पलेसाले अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० ले हराएकी थिइन् भने सेमिफाइनलमा सर्बियन खेलाडी मारिया मिसेभलाई २३–१५ ले हराउँदै फाइनलको यात्रा तय गरेकी थिइन्। जारी पारालम्पिकमा नेपालबाट पलेसा मात्र सहभागी थिइन्।