काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्कबाफतको बक्यौता उठाउन पुनः ताकेता गरेको छ।
प्राधिकरणले मंगलबार सूचना प्रकाशित गरी सेवा शुल्कबाफतको रकम नतिर्ने ७४ फर्म, कम्पनी र एयरलाइन्सलाई ३० दिनभित्र बक्यौता चुक्ता गर्न ताकेता गरेको हो।
सूचना अनुसार प्राधिकरणलाई ७३ फर्म, कम्पनी र एयरलाइन्सले ८३ करोड ७७ लाख ७८ हजार ४८ रूपैयाँ तिर्न बाँकी छ। एक कम्पनीकाे भने रकम खुलाइएको छैन।
तोकिएको समयमा बक्यौता नतिरे नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल सेवा शुलक नियमावली २०६७ (सशोधनसहित) तथा अन्य प्रचलित ऐन कानुन अनुसार रकम असुल गर्नेतर्फ आवश्यक कारवाही बढाइने सूचनामा उल्लेख छ।
प्राधिकरणले यसअघि गत असोज ७ गते सार्वजनिक सूचना प्रकाशित गरी बक्यौता उठाउन ताकेता गरेको थियो।