काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ। सभापति शेरबहादुर देउवा पक्षले केन्द्रीय समिति बैठकबाट एकलौटी निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रामक रुपमा प्रस्तुत भएका छन्।
शुक्रबारको केन्द्रीय समिति बैठकबाट देउवाले पार्टीको महाधिवेशनको मिति घोषणा गर्नुका साथै विभागको संख्या बढाएका छन् भने भ्रातृ संगठनहरुको समय पनि थप गरेको छ।
जसको विरोधमा पौडेल समूहले शनिबार पत्रकार सम्मेलन गरी विरोध जनाएको छ। पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोसित हुँदै देउवाले एक्लौटी गरेको बताए।
‘हामीले एक वर्षदेखि पार्टीको महाधिवेशनको विषयमा कुरा उठाउँदै आएका थियौं। तर, सभापतिले एकलौटी गर्नु भएको छ। भातृ संस्थाको विधान र अधिवेशनका विषयमा विषयमा कुरा उठाएका थियौँ। नेपाल विद्यार्थी संघको अधिवशेन नगरेर धकेलिदै आएको छ।’ पौडेलले भने,‘९ बुँदे एजेण्डा राखेर छलफल भइरहेको थियो। तर, एकलौटी निर्णय आयो।’
देउवाले पार्टीको विधानलाई समाप्त पार्न खोजेको उनले आरोप लगाए। विधानमा नभएको विभाग गठन गर्ने निर्णय भएको पौडेलले भने,‘१२ सय महासमिति सदस्यले गरेको निर्णयलाई उल्टाइएको छ।’
‘पार्टीको निर्णय सच्याइनु पर्छ। पार्टीमा एकता कायम हुनुपर्छ।’ उनले भने, ‘पार्टीको परम्परा विपरीत भएको निर्णय नसच्याए हामी आम नेता तथा कार्यकर्ताहरुसँग छलफल गरेर अगाडि बढ्नुको विकल्प छैन।’
नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले पार्टीको विधानलाई उलंघन गरेको बताए। ‘२०७७ मंसिरसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका दिएका थियौँ तर फागुनसम्म लगिएको छ। वार्तामा सहमति नजिक पुगिसकेका थियौँ तर अन्तिममा यस्तो भयो।’ सिंहले भने।
महामन्त्री सशांक कोइरालाले पार्टीभित्र एकता नभए पार्टी धराशायी हुने बताएका छन्।
‘हाम्रो पार्टी गुट उपगुटको धरातलमा छौं। मैले पहिलेदेखि नै भन्दै आएका छौँ। पहिले पार्टी एक गरौँ। पार्टीलाई एक बनाउने प्रयास गरेकै हो।’ कोइरालाले भने, ‘पार्टी एक भयो भने राम्रो हुन्छ। नत्र पार्टी धारासायी हुन्छ।’
पार्टीभित्र वार्ता भइरहँदा सभापतिले झुक्याएको दाबी गर्दै कोइरालाले भने, ‘वार्ता भइरहेको थियो तर एकाएक निर्णय आएको छ। पार्टी एक भएमात्र हामी कम्युनिष्टसँग लड्न सक्छौँ। पार्टी एक नभईकन नेपाली कांग्रेसको भविष्य छैन।’