बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • पुनर्निर्माणमा ३ खर्ब ३५ अर्ब खर्च, ८३ प्रतिशत काम सम्पन्‍न

पुनर्निर्माणमा ३ खर्ब ३५ अर्ब खर्च, ८३ प्रतिशत काम सम्पन्‍न

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा ८३ प्रतिशत प्रगति भएको बताएको छ।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा ८३ प्रतिशत प्रगति भएको बताएको छ।

triton college

प्राधिकरणले भूकम्प गएको चार वर्षको अवधिमा सबैभन्दा बढी क्षति भएका निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवनहरु र सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा औषतमा ८३ प्रतिशत प्रगति भएको बताएको हो।

प्राधिकरण स्थापनाको चौथो वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणले ६ वटा क्षेत्रमा ६९ प्रतिशत मात्र पुनर्निर्माण सम्पन्न भएको र १४ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जानकारी दिएको छ।

प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीका अनुसार पुनर्निर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट २ खर्ब ९३ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ गरी ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको छ।

‘निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका कुल ७ लाख ८० हजार १ सय ६५ लाभग्राहीमध्ये हालसम्म ४ लाख ८२ हजार ३ सय २३ घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ, जुन अनुदान सम्झौता गरेका उल्लेखित लाभग्राहीको ६२ प्रतिशत हो। ‘१ लाख ८९ हजार ४१ वटा घर बन्दैछन्, यो २४ प्रतिशत हो। निजी आवास सम्बन्धी करिव चार लाख गुनासो सुनुवाइ गरेका छौँ।’ ज्ञवालीले भने।

corrent noodles
Metro Mart

उनका अनुसार कुल क्षतिग्रस्त ७ हजार ५ सय ५३ विद्यालयमध्ये ५ हजार ३ सय ८० अर्थात् ७१ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ भने १७ सय ८७ विद्यालयको पुनर्निर्माण भइरहेको छ, जसलाई विद्यालयको भौतिक संरचना सुधारमा अभूतपूर्व उपलब्धिका रुपमा लिन सकिन्छ।

त्यस्तै ३२ जिल्लाका ८ सय ९१ सम्पदामध्ये ३ सय ८७ वटा सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १ सय २३ वटा सम्पदा पुनर्निर्माणको क्रममा रहको र कुल ११ सय ९७ वटामध्ये ६ सय ६५ स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण सकिएको छ। १ सय ४९ वटा बनिरहेको पनि सिईओ ज्ञवालीले जनाएका छन्।

पूर्ण र आंशिक रुपमा क्षति भएका कुल ४ सय १५ सरकारी भवनमध्ये ३ सय ५९ वटा सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ। ४९ वटाको काम जारी छ।

प्राधिकरणका अनुसार सुरक्षा निकायका १ सय ८३ वटा संरचनाहरुको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३२ वटा बन्दैछन्।

भूकम्पपछि असुरिक्षत स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २ सय ४ लाभग्राहीलाई सुरक्षित बस्तीका लागि जग्गा खरिद तथा व्यवस्थापनको व्यवस्था मिलाइएको छ। ८ हजार ७ सय ४४ भूमिहीन तथा सुकुम्बासीलाई जग्गा खरिद र व्यवस्थापन गरिएको छ।

४३ वटा एकीकृत बस्तीको योजना स्वीकृती भइसकेको छ। त्यसमध्ये २२ वटाको काम सुरु भएको छ भने तीनवटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ।

पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा ७ सय ६२ किलो मिटर सडक पुनर्निर्माण गर्नुपर्नेमा ४ सय ४३ कि.मी. सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ३ सय १९ कि.मी. सडकको पुनर्निर्माण भइरहेको छ।

त्यस्तै यसबीचमा खानेपानी विभाग मार्फत ७ सय ९१ वटा खानेपानी योजनाहरु सम्पन्न भएका छन् भने ६ सय ७० वटा योजनाहरु कार्यान्वयन भइरहेका छन्।

स्वयम्भूको प्रतापपुर, अनन्तपुर, बौद्ध स्तूपा, पाटनको कृष्ण मन्दिर, हनुमान ढोकाको गद्धी बैठक, साँखुको बज्रयोगिनी, प्रसुति गृह, वीर अस्पताल, नेपाली सेनाको जंङ्गीअड्डा लगायतको पुनर्निर्माण सम्पन्न भइसकेको छ।

धरहरा, रानीपोखरी, काष्ठमण्डप, बसन्तपुर दरबार, नुवाकोट दरबार, सिंहदरबार (उत्तर, पूर्व, दक्षिण र पश्चिम भाग), दरबार हाइस्कूल जस्ता मुख्य संरचनाहरुको पुनर्निर्माण भइरहेको छ।

यस्तै गुम्बा पुनर्निर्माणका कार्यहरु अघि बढाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका सिइओ ज्ञवालीले विशेषगरी वित्तीय स्रोतको व्यवस्थापन, सहरी क्षेत्रमा रहेको निजी आवास पुनर्निर्माण, विपन्न वर्गमा परेका लाभग्राहीहरुको आवास पुनर्निर्माण गलत विवरण दिने व्यक्तिहरुबाट रकम फिर्ता गर्नुपर्ने कामहरु अझै चुनौतिको रहेको बताए।

उनले पुनर्निर्माणका बाँकी कार्य सम्पन्न गर्न करिव ३ खर्ब रुपैयाँ आवश्यक रहेको र यस आर्थिक वर्षभित्र तय गरिएका कार्यक्रमहरुको कार्यान्वयनका निम्ति कम्तिमा ३४ अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गर्नुपर्ने स्पष्ट पारे।

प्रकाशित: Dec 26, 2019| 11:34 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्