शनिबार, असार २०, २०७७

समाज

सशस्त्र हिंसाको ‘बाइप्रोडक्ट’ : स्पा र मसाजमा रोकिएन दुर्व्यवहार

1583486829spa_girl.jpg

मेरो जिउ यति सानो छ, मोटा मान्छेले जबरजस्ती गर्दा कति गाह्रो होला सोच्नुस् त?

राजधानीको चेन्ज नेपाल नामक संस्थामा पुगेकी १७ वर्षीया किशोेरी आफूमाथि भएको हिंसाको बेलिविस्तार लगाइरहेकी थिइन्।

घर नुवाकोट, चार दाजुभाइ र बुवा–आमामाझ घरकी एक्ली छोरी। परिवारमा खान लाउनकै धौ धौ नभएको भए कति आनन्दमय हुन्थे होलान् यी किशोरीका दिन।

“घरमा राम्रोसँग खान पुग्दैन, काम खोज्दै काठमाडौं आएँ,” टाउको निहुर्‍याएर आफ्नो कथा सुनाउँदै थिइन् उनी, “ठमेलतिर काम पाइन्छ भन्ने सुनेकी थिएँ।” कसैले उनलाई नर्सिङ चोकपछाडि रहेको एउटा ‘स्पा’ देखाइदिएछ।

बाफको स्नान, मसाज, व्यायाम जस्ता शारीरिक र सौन्दर्य उपचार गर्ने तथा आनन्द लिने ठाउँ स्पाका नाममा केहीले यौनधन्दा चलाइरहेका छन् भन्ने ती विपन्न किशोरीलाई थाहा भएन।

“स्पा भनेको के हो थाहा थिएन,” उनी भन्छिन्, “साहुनीले ग्राहकको शरीर मालिस गर्नुपर्छ भनेपछि सक्छु जस्तो लाग्यो, हुन्छ भनेंं। तर, त्यहाँ त ग्राहकले हाम्रै शरीर निचोर्दा रहेछन्।”

उनले अगाडि भनिन्, “पहिलो पटक मसाज गर्न गएकी थिएँ, झन्डै ४० वर्ष जतिको मोटो मान्छेले उल्टै मेरो शरीर चलाउन थाल्यो। म आत्तिएर रोएँ, उसले मलाई अठ्याएर जबरजस्ती गर्न खोज्यो। त्यसपछि मैले चिच्याउँदै उसको हातमा टोक्दिएपछि ऊ गयो।”

यो कुरा त्यसबेला कसैलाई किन नभनेको त ?
उनले जवाफ दिइन्, “साहुनी आन्टी र साथीहरुलाई भनें तर, कसैले वास्तै गरेनन्। उल्टो सँगै काम गर्ने अर्की साथीले यो ठाउँ नै यस्तै हो, मलाई पहिलो दिनमै एउटा इन्डियनले बलात्कार गरेको थियो भनेपछि म चुप लागें।”

सिन्धुपाल्चोककी २७ वर्षीया रुकुले पनि ठमेलको एक ‘स्पा’ मा काम गर्न थालेको १२ वर्ष भयोे। १५ वर्षको उमेरदेखि उनले मसाज, स्पामा काम गर्न थालेकी हुन्। ग्राहकले लुगाभित्र हात हाल्ने, आफ्ना अंग सुम्सुमाउन लगाउने त अब सामान्य लाग्ने गरेको उनी बताउँछिन्।

भन्छिन्, “हाम्ले कमिसनमा काम गर्नुपर्छ, त्यही गर्न नदिए ग्राहक आउँदैनन् अनि कसरी बाँच्नु?”

१५ वर्षकै उमेरमा ग्राहकले शरीर गिजोल्दा रुकुलाई कम्ती गाह्रो भएको थिएन। तर, आम्दानीको अन्य स्रोत थिएन। भरपेट खान दिने पनि कोही थिएन। उनी भन्छिन्, “सुरुमा त झुन्डिएर मरौं जस्तो लाग्थ्यो, अब बानी परिसक्यो ।”

उनलाई पनि साहुनीले ग्राहकको शरीरमा तेल मालिस गर्ने काम भनेकी थिइन्। “तर, तेल मालिस गराउन त कोही नआउने रहेछन्,” उनी भन्छिन्।

गाउँमा रहेका बा–आमालाई काठमाडौंमा छोरीले के काम गर्छे, थाहा छैन। रुकुलाई सबैैका अगाडि धक फुकाएर भन्न सकिने काम गर्ने मन छ।

“तर गाउँमा कसैले के काम गछ्र्याै भनेर सोधेपछि सधैं टाउको निहुराएर हिँड्नुपर्छ, यस्तो काम कसरी भन्नु,” उनी भन्छिन्।

उनलाई अरू नै काम गर्न मन नलागेको होइन तर, न अध्ययन छ न कुनै काम गरेको अनुभव। साँच्चिकै मसाज गर्ने तरिका पनि थाहा छैन।

“थाहा पाउने जति सबैले नराम्रो काममा लागेको भन्छन्, तर राम्रो काम कहाँ पाइन्छ त? के गरौं ?” उनी प्रश्न गर्छिन्।

मसाज गर्ने ठाउँँमा मसाज मात्रै गरिने भए यस्तो समस्या नआउने उनको भनाइ छ।

“१५ वर्षको उमेरमा यस्तै काम गर्छु भनेर म ठमेल पसेकी थिइनँ, परिबन्दमा परेंं। नाम एउटा काम अर्कै हुँदो रहेछ। नामअनुसारको काम हुने भए अहिले यस्तो अवस्था आउँदनथ्यो”, रुकु भन्छिन्।

“अहिले पनि गरिबीको मारमा परेर गाउँबाट आएका कलिला नानीहरु यस्तै काम गर्न बाध्य छन्, यो अवस्था कसले ल्यायो? ठमेलका मसाजदेखि बम्बैका कोठीसम्म नेपाली महिला पुग्ने काम किन रोकिँदैन?” रुकुका प्रश्न धेरै छन्।

केही वर्षअघि मसाज पार्लरमा हुने यौन दुव्र्यवहारका घटना बाहिरिन थालेपछि सञ्चालकहरुले नाम परिवर्तन गरेर ‘स्पा’ राख्न थालेका छन्। यस्ता मसाज पार्लरमा काम गर्नेको तलब हुँदैन। कमिसनमा काम गर्नुपर्छ।

नुवाकोटको दलित परिवारकी २० वर्षीया रीता छिमेकी दिदीको सल्लाहमा ठमेलको मसाजमा काम गर्न थालिन्।

१८ वर्ष उमेरदेखि मसाजमा काम गर्न थालेकी रीताले बैनीको पढाइ खर्चसमेत जुटाइरहेकी छन्। तर, परिवारमा कसैलाई पनि मसाज पार्लरमा काम गर्छु भनेकी छैनन्।

हातमा लामो नङ पालेकी रीतालाई मसाज गर्ने मान्छेले यति लामो नङ राख्दा साहु रिसाउँदैनन् भनेपछि उनले भनिन्, “यहाँ मसाज नै गर्नुपर्ने भए पो नङले बाधा पुग्थ्यो। अरु नै कुराले ग्राहकलाई सन्तुष्ट पार्नु पर्छ, यो नङसँग उसलाई के मतलब?”

मसाज पार्लरमा काम गर्ने अधिकांशले साथीको माध्यमबाट यो क्षेत्रमा आइपुगेको बताउँछन्।

‘सशस्त्र हिंसाको बाइप्रोडक्ट’

माओवादी सशस्त्र हिंसाका बेला गाउँगाउँबाट विस्थापित बालिका र किशोरीहरुले काम खोज्ने क्रम बढेपछि काठमाडौैंमा मसाज पार्लर र डान्सबारको संख्या ह्वात्तै बढ्यो।

योसँगै बेसहारा बालिका र किशोरीमाथिको चरम शोषण सुरु भयो। राज्य र विद्रोही दुबै पक्षबाट खेदिएका बालबालिका र किशोेरीलाई यौनधन्दाको व्यवसाय चलाउनेहरुले थप शोषण गरे दुई छाक खाना र केही रकम दिने नाममा। जुन अहिले पनि कायमै छ।

राजधानीका डान्सबार र मसाज पार्लरमा भएका विकृतिका घटना बाहिरिँंदै गर्दा सरोेकारवालाको दबाबपछि प्रहरीले निगरानी बढायो। त्यसबेला यस्ता घटनामा केही कमी आए पनि अहिले फेरि ‘स्पा’ का नाममा त्यस्तै धन्दा चलिरहेको छ।

‘स्पा’ मा अनैतिक र अवैधानिक गतिवधि हुँदैन भन्ने आम बुझाइलाई यौन व्यापारीले राम्रैसँग भजाइरहेका छन्।

सर्वोच्च अदालतले २०६५ सालमा जारी गरेको निर्देशिकामा मनोरञ्जनको क्षेत्रमा काम गर्ने कामदार, सञ्चालक र ग्राहकले अपनाउनुपर्ने नियमबारे उल्लेख छ। निर्देशिका कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन तथा कारबाही समितिसमेत गठन भएको थियो।

महिला विकास कार्यालयको समेत सहभागिता हुने उक्त समिति केही समय सक्रिय थियो। मुलुक संघीय संरचना गएसँगै महिला विकास कार्यालय खारेज भयो । त्यसपछि उक्त समिति पनि सक्रिय छैन।

नेपाल प्रहरीको मानव बेचबिखन ओसारपसार ब्युरोले वैशाख २०७६ देखि काम सुरु गरेयता राजधानीभित्र हुने आन्तरिक बेचबिखनका घटनामा केही कमी आएको छ।

तर पनि राजधानीका ठमेलसहित विभिन्न ठाउँका स्पा र मसाज पार्लरमा बालिका तथा किशोरीलाई नियुक्तिपत्रविना काममा लगाउने, तलब नदिने र यौन धन्दामा लगाउने क्रम जारी छ।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप