शुक्रबार, चैत २८, २०७६

समाचार

अस्वस्थता, राज्यदोहन र प्रतिक्रियाका दुई वर्ष

1583301375oli-hospital.jpg

प्रधानमन्त्री केपी शर्मा ओली अहिले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ लिइरहेका छन्।

दोस्रोपटक मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न थालिसकेको सुखद समाचार चिकित्सकले दिइसकेका छन्।

सर्वप्रथम प्रधानमन्त्री ओलीकाे शीघ्र स्वास्थ्यलाभ तथा दीर्घायुको कामना गरौं।

नेपालीका लागि ओलीको स्वास्थ्य समस्या, उपचार र अस्पताल बसाइ नयाँ र अनपेक्षित होइन।

किनकि उनी प्रधानमन्त्री बनेको विगत दुई वर्षमा अनेकौं पटक बिरामी भए, अनेकौं पटक स्वदेश र विदेशमा उपचार गराए र अनेकौं पटक सापेक्षिक स्वास्थ्यलाभ गरेर काममा फर्के।

विगत दुई वर्षसम्म प्रधानमन्त्री बिरामी भएको र देशविदेशमा उपचार भएको तथ्यांक तयार गर्ने हो भने प्रधानमन्त्रीको स्वास्थ्य मुलुकको स्वास्थ्यभन्दा राम्रो भएको निष्कर्ष निकाल्न सकिने छैन। र, एउटा सभ्य मुलुकले अस्वस्थ्य प्रधानमन्त्रीबाट अनवरत सेवा लिइरहने कल्पना गर्न सकिने कुरा पनि होइन।

मुलुककै मुख्य कार्यकारीले सोच्ने र गर्ने कामको चाप सजिलै अनुमान गर्न सकिन्छ।

प्रधानमन्त्रीको स्वास्थ्य र कामको तुलना गर्ने हो भने स्वयं केपी ओली, उनको पार्टी र मुलुकले उनीमाथि ज्यादती गरेजस्तै लाग्छ। राज्यदोहन नै राजनीतिको मुख्य कर्म भएको हाम्रो जस्तो मुलुकमा प्रधानमन्त्रीको स्वास्थ्य दोहन हुनु नौलो कुरा हुन्न।

हिन्दु धर्मशास्त्रका अनुसार आफैँले आफूलाई अनावश्यक कष्ट दिनु पाप हो।

प्रधानमन्त्रीका रूपमा गरिनुपर्ने औपचारिक भेटघाट, बैठक र सम्बोधन मात्र पनि ओलीको स्वास्थ्यले धान्दैन भन्ने तथ्य पटकपटक प्रमाणित भइसकेको हो।

दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपणपछि ओलीले आफैंलाई थप कष्ट दिएर मुलुकको सेवा नगरून् भन्ने आग्रह गर्नु पनि नागरिकको कर्तव्य हो।

प्रधानमन्त्रीको स्वास्थ्य र कामको तुलना गर्ने हो भने स्वयं केपी ओली, उनको पार्टी र मुलुकले उनीमाथि ज्यादती गरेजस्तै लाग्छ। राज्यदोहन नै राजनीतिको मुख्य कर्म भएको हाम्रो जस्तो मुलुकमा प्रधानमन्त्रीको स्वास्थ्य दोहन हुनु नौलो कुरा हुन्न।

अर्कोतिर नेकपा र ओली समूहको वरिपरि रहेर राजनीतिक र आर्थिक लाभ लिइरहेको पक्षले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई पार्टी, समूह र व्यक्तिको हितभन्दा माथि राख्नुपर्ने आवश्यकता देखिन्छ।

राजनीतिबाट प्राप्त हुने आर्थिक लाभका लागि जुनसुकै हदसम्म पनि पुग्न सक्ने जमातको उत्पादन र पुनरुत्पादन हाम्रो राजनीतिको रोग हो।

त्यसकारण पार्टीभित्र रहेको ओली समूह र प्रधानमन्त्रीको वरिपरि रहेर फाइदा लिइरहेको जमातले उनको स्वास्थ्यलाई भन्दा आफ्नो फाइदालाई प्राथमिकतामा राख्नु स्वाभाविकै हुन्छ।

उप्रान्त प्रधानमन्त्री ओली राज्य, पार्टी र समूहको दबाबबाट मुक्त रहेर स्वास्थ्यलाभ गरून् भन्ने आमनागरिकले आशा र अपेक्षा हुनुपर्छ।

प्रधानमन्त्री आफैँले नेपाल ट्रस्टलाई ‘यती होल्डिङ ट्रस्ट’ मा रूपान्तर गरेपछि राज्य दोहनको विस्तारित सीमा कहाँसम्म रहेछ भन्ने छर्लङ्ग भइसकेको छ।

विगत दुई वर्षमा सरकारले गरेकोे अर्को पाटो झनै भयावह छ।

अहिले नेपाली राजनीतिको मूल आकर्षणको विषय र कारण राज्य दोहन हो। राज्य दोहन प्रधानमन्त्रीदेखि मन्त्री हुँदै पार्टी सदस्यसम्मका लागि मुख्य आकर्षण बन्नु नेपाली राजनीतिको प्रमुख दुःख हो। प्रधानमन्त्री आफैँले नेपाल ट्रस्टलाई ‘यती होल्डिङ ट्रस्ट’ मा रूपान्तर गरेपछि राज्य दोहनको विस्तारित सीमा कहाँसम्म रहेछ भन्ने छर्लङ्ग भइसकेको छ।

राज्य दोहनको बचेखुचेको प्रस्टता नेकपाका महासचिवको बालुवाटार जग्गा प्रकरण र पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोडको अडियो टेप काण्डले पूरा गरिदिएको छ।

राज्य दोहनको ऐतिहासिक सरकारी रेकर्डले ‘भ्रष्टाचारप्रतिको शून्य सहनशीलता’ लाई ओलीको सबैभन्दा ठूलो व्यंग्यवाण साबित गरिदिएको छ।

अस्पतालको शय्यामा स्वास्थ्यलाभ गरिरहेका ओलीले आफ्नै कथनको मर्म सम्झेर आत्ममूल्यांकन गर्न जरुरी छ।

वर्ष भनेको समय हो। केही गरे पनि वा नगरे पनि समय बित्छ। दुई तिहाइ बहुमतसहितको बलियो र स्थिर सरकार बनेको दुई वर्ष नाघिसक्यो। तर मुलुकका वर्षौं समस्या ज्यूँका त्यूँ रहे।

एउटा समयमा एउटा महत्त्वपूर्ण घटना हुने र बाँकी वर्ष त्यही घटना सम्झेर मात्र बस्नुपर्यो भने बुझ्नुपर्छ– वर्षहरू खेर गइरहेका छन्।

दुई वर्षको समय सीमा बित्दा नागरिकले कुनै सम्झिनलायक काम भेट्दैनन्। अस्पतालको शय्यामा एक्लै बस्दा ओलीले ‘सेल्फ रेफ्लेक्ट’ गर्नुपर्ने विषय यही हो।

सर्वसाधारण नागरिकलाई ‘२०७२ सालमा के भयो ?’ भन्ने प्रश्न गर्दा सम्भवतः अधिकांशले भन्नेछन्, नयाँ संविधान आयो।
‘त्यसपछि के भयो ?’ भन्ने प्रश्नमा सम्भावित उत्तर हुनेछ– संविधानबमोजिम तिनै तहको निर्वाचन भयो। र, क्रमशः उनीहरूको अर्को उत्तर हुनेछ, बलियो र स्थिर सरकार बन्यो।

अहिले दुई वर्षपछि त्यही प्रश्न नागरिकसँग सोधौं। उत्तर हुनेछ, दुई तिहाइ बहुमतसहितको बलियो र स्थिर सरकार बनेको दुई वर्ष भयो। पहिलो, दोस्रो र तेस्रो गर्दै वर्षहरू सम्झिइनेछन्।

तर सम्झनलायक काम भेटिने छैन। जसरी अहिले दुई वर्षको समय सीमा बित्दा नागरिकले कुनै सम्झिनलायक काम भेट्दैनन्। अस्पतालको शय्यामा एक्लै बस्दा ओलीले ‘सेल्फ रेफ्लेक्ट’ गर्नुपर्ने विषय यही हो।

यहींनेर सरकार र आमनागरिक बीचमा विभाजन रेखा कोरिन्छ। सरकारले कामैकामको चमत्कार भएको दाबी गर्छ। उसको दाबी नागरिकले देख्न र अनुभूति गर्न सक्तैनन्।

वर्षहरू बितेको चाल पाउँछन् तर परिवर्तनको संकेत देख्तैनन्। यहाँबाट सरकार र नागरिकले हेर्ने आँखामा पनि विभाजन रेखा कोरिन्छ।

प्रधानमन्त्री ओलीले दाबी गरेबमोजिम पहिलो वर्ष ‘आधार वर्ष’ थियो। सरकारको कमजोर प्रदर्शनलाई आलोचना गर्नै मिलेन। गत वर्ष आधार मात्र तयार हुँदै थिए।

जसरी पहिलो वर्षभरि मुलुकको विकास र आर्थिक समृद्धिका लागि के के आधार तयार भए भन्ने कुरा थाहा भएन, त्यसैगरी दोस्रो वर्षमा पनि के के कुरा आरम्भ भए भन्ने कुरा थाहा भएको छैन।

तर सरकारले निर्माण गरेको आधार मन्त्रीहरूले नै देखेनन्। मन्त्रीहरूले नदेखेको आधार नागरिकले देख्ने कुरै भएन। आधार नदेखिँदै वर्ष बित्यो।

बितेको दोस्रो वर्षलाई कामको आरम्भ वर्ष भनियो। तर जसरी पहिलो वर्षभरि मुलुकको विकास र आर्थिक समृद्धिका लागि के के आधार तयार भए भन्ने कुरा थाहा भएन, त्यसैगरी दोस्रो वर्षमा पनि के के कुरा आरम्भ भए भन्ने कुरा थाहा भएको छैन। सरकारको तीव्र प्रतिक्रिया मात्र जनस्तरसम्म थाहा भइरहेको विषय हो।

कतैबाट कुनै प्रकारको जोखिम नरहेको बलियो सरकार आफैँ किन यसरी प्रतिक्रियात्मक बन्छ? किन नागरिक अपेक्षाको सामान्य आपूर्ति पनि गर्न सक्तैन? किन आफ्नै घोषणापत्रमा जनाएका सामान्य प्रतिबद्धता कार्यान्वयन गर्न सक्तैन?

यसो हुनुमा धेरै हदसम्म नेपाली वामपन्थको सैद्धान्तिक सोच, आर्थिक अराजकता र विकासविरोधी पार्टी संरचनाले काम गरिरहेको छ।

सानो व्यावहारिक आवश्यकतालाई बेवास्ता गर्नका लागि देखाइने विकासका ठूला सपना नागरिकका लागि सबैभन्दा निर्मम व्यंग्य बन्छन् भन्ने कुरा शासकहरू बुझ्दैनन्।

माथिको एकीकृत सोचले नेपाली नागरिक र समाजको वर्तमान आवश्यकतालाई चिन्दैन। बरु नेताहरूको निजी आवश्यकतालाई पार्टीको आवश्यकताका रूपमा बुझ्छ। उसको पार्टीको मनोगत आवश्यकतालाई समाजको आवश्यकताका रूपमा व्याख्या गर्छ। र यहींबाट आत्मकेन्द्रित व्यक्तिवादको राजनीतिक यात्रा आरम्भ हुन्छ।

आमनागरिकका दैनिक आवश्यकता अमुक नेता, पार्टी र सरकारले अपहरण गरेपछि नागरिकको भोजन भ्युटावरले खान सुरु गर्छ। सर्वसुलभ शिक्षाको बहस रकेटको बहसमा बरालिन्छ।

ग्रामीण जनस्वास्थ्यको प्राथमिक खाँचो सहरकेन्द्रित माफिया मेडिकलको जाँतोमा पिसिन्छ। कठिन र असुरक्षित आजको सार्वजनिक यातायातको माग रेल र पानीजहाजको बहसमा बहकिएर सकिन्छ।

सानो व्यावहारिक आवश्यकतालाई बेवास्ता गर्नका लागि देखाइने विकासका ठूला सपना नागरिकका लागि सबैभन्दा निर्मम व्यंग्य बन्छन् भन्ने कुरा शासकहरू बुझ्दैनन्।

यही अलोकतान्त्रिक र व्यक्तिवादी सोचले गर्दा सरकारले दुई वर्षसम्म आकाशको फल झारिदिने हास्यास्पद बाचा गर्दै रह्यो। वास्तविक विकासको जमिन भने बाँझो छोड्यो।

यसै विरोधाभासले गर्दा उत्तरी चिनियाँ हिमालको चेपबाट रेल कुदाउने बाचासहित उदाएको नेकपाको ओली सरकार आज यती समूहको गोकर्ण रिसोर्टमा पुगेर ओझेलमा परेको छ।

दुुई वर्षको दिशाहीन यात्रालाई व्याख्या गर्न गणितीय आँकडा आवश्यक छैन। नेपाली नागरिकले गरेको अनुभूतिले नै त्यसको व्याख्या गर्न सक्छ।

सरकारलाई चुनौती दिने कुनै शक्ति नभएको समयमा पनि परिणमुखी काम गर्नुभन्दा प्रतिक्रियामा रमाएर बस्ने दुःखद परिस्थिति निर्माण हुनु ओलीको गम्भीर स्वास्थ्य समस्या हो। यो तथ्य नेकपा र स्वंय ओलीले पनि बुझ्नु आवश्यक छ।

सत्ताको बागडोर सम्हालेको दिनदेखि अस्वस्थ रहेका प्रधानमन्त्री प्रतिक्रियात्मक बन्नु उनको स्वास्थ्य पनि एउटा कारण हो। निरन्तरको अस्वस्थता, कामको चाप, औषधिको अत्यधिक सेवनबाट पर्ने अतिरिक्त असर जस्ता कारणबाट ओली अत्यन्तै प्रतिक्रियात्मक रहे।

सरकारलाई चुनौती दिने कुनै शक्ति नभएको समयमा पनि परिणमुखी काम गर्नुभन्दा प्रतिक्रियामा रमाएर बस्ने दुःखद परिस्थिति निर्माण हुनु ओलीको गम्भीर स्वास्थ्य समस्या हो। यो तथ्य नेकपा र स्वंय ओलीले पनि बुझ्नु आवश्यक छ।

नेकपा र प्रधानमन्त्रीको व्यवहारलाई एकैछिन बिर्सेर सिद्धान्तलाई मात्र आधार बनाएर हेरौं।

नेकपाले वर्तमान पुँजीवादी संसदीय व्यवस्थालाई बिस्तारै जनमुखी कार्यक्रमकमार्फत समाजवादमा संक्रमण गर्ने लक्ष्य लिएको छ।

यसका लागि उसले खुला बजार अर्थनीतिलाई राज्य नियन्त्रित संकुचनमा ल्याउनुपर्ने हुन्छ। र अर्कोतिर, शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षालाई राज्यले सम्बोधन गर्नैपर्ने विषय बनाउनुपर्छ।

सिद्धान्तमा समाजवाद र व्यवहारमा आसेपासे पुँजीवाद सँगसँगै अँगाल्दा खुला समाजले यस्तो पाखण्डलाई सजिलैसँग देख्ने मात्र होइन, सप्रमाण तथ्य बाहिर ल्याउँछ।

एकातिर, सरकार निरन्तर माफिया र बिचौलियाहरूको अनुकूलतामा नीतिगत निर्णय गर्दै राज्य दोहनमा लिप्त हुँदै जाने र अर्कोतिर, अर्थतन्त्रलाई अनुदार ढंगबाट संकुचित गर्दै लैजाने विरोधाभासले गर्दा ऊ सर्वत्र आलोचित छ।

सिद्धान्त र व्यवहारबीचको विरोधाभास बढ्दै जाँदा सरकारको आलोचना बढ्दै जानु स्वाभाविक हुन्छ। नागरिक र मिडियाको आलोचनामाथि तथ्यपरक खण्डन गर्ने आधार नभेटिएपछि सरकार प्रतिक्रियात्मक हुन्छ। जो भइरहेको छ।

प्रधानमन्त्री ओलीको अकर्मण्यता तथा सिद्धान्त र व्यवहार बीचको विरोधाभास नै उनको प्रतिक्रियाको आधार हो।

सरकारको मुख्य काम के हो र त्यसलाई परिणाममुखी कसरी बनाउन सकिन्छ भन्ने कुराको भेउ नपाएपछि त्यसमा मनलाग्दी प्रतिक्रिया जनाउनुबाहेक अर्को उपाय पनि हुँदैन।

विगत दुई वर्षसम्म प्रधानमन्त्रीले यसैको भरपूर उपयोग मात्र गरे। जो उनले गर्न सक्ने एक मात्र सजिलो काम थियो।

सिद्धान्तमा समाजवाद र व्यवहारमा आसेपासे पुँजीवाद सँगसँगै अँगाल्दा खुला समाजले यस्तो पाखण्डलाई सजिलैसँग देख्ने मात्र होइन, सप्रमाण तथ्य बाहिर ल्याउँछ।

किनकि सरकार जतिसुकै अलोकतान्त्रिक र अनुदार रहे पनि राज्यको परिवेश लोकतान्त्रिक छ।

सरकारको अनुचित आक्रमणबाट घाइते भए पनि लोकतान्त्रिक संस्थाहरूको संस्थागत चरित्रलाई रातारात नेकपाको पात्रले आफू अनुकूल परिवर्तन गर्न सक्तैन। यही छटपटी प्रतिक्रियाका लागि आधार बन्छ।

सरकारको अनुचित आक्रमणबाट घाइते भए पनि लोकतान्त्रिक संस्थाहरूको संस्थागत चरित्रलाई रातारात नेकपाको पात्रले आफू अनुकूल परिवर्तन गर्न सक्तैन। यही छटपटी प्रतिक्रियाका लागि आधार बन्छ।

प्रधानमन्त्रीको अस्वस्थता, राज्य दोहन र प्रतिक्रियाका गत दुई वर्षलाई सामान्य मूल्यांकन गर्ने हो भने पनि ओली सरकारको निरन्तरता केवल प्रतिक्रिया र व्यंग्यको निरन्तरता मात्र हुनेछ।

विषयवस्तुमा प्रतिक्रिया जनाउनु र विषयवस्तुको ज्ञान हुनु भनेको नितान्त फरक कुरा हुन्। प्रधानमन्त्री ओलीले यति मात्र बुझिदिए भने उनले सबैभन्दा ठूलो न्याय आफैँप्रति गर्नेछन्।

आशा गरौं, स्वास्थ्यलाभ लिएपछि उनले यसै गर्नेछन् र थप स्वस्थ हुनेछन्।

र, अन्त्यमा–

प्रधानमन्त्री ओलीले संसद्लाई सम्बोधन गर्दै भनेका थिए, ‘मूर्छित सपनाहरू बौरिएका छन्।’

माफ गर्नुहोला प्रधानमन्त्रीज्यू, तपाईंको व्यक्तिगत महत्त्वाकांक्षाको निजी सपना मात्र बौरिएको हो।

तपाईंले भनेजस्तै ‘नेपाल सुरुङ मार्गमा प्रवेश गरेको’ होइन, राज्यदोहनमार्फत भ्रष्टाचारको अँध्यारो सुरुङमा प्रवेश गरेको हो। पुनः एकपटक तपाईंकाे शीघ्र स्वास्थलाभको कामना !

 
प्रतिक्रिया दिनुहोस्