मंगलबार, चैत १८, २०७६

समाज स्वास्थ्य/जीवनशैली

चुरोट पिउनु धेरै खतरनाक कि प्रदूषित हावामा श्वास लिनु ?

चुरोट पिउनु धेरै खतरनाक कि प्रदूषित हावामा श्वास लिनु ?

फोक्सोसम्बन्धी रोग, क्यान्सर, मुटु रोग तथा स्ट्रोकलगायतका समस्या वायु प्रदूषणका कारण हुन सक्छन्। यसै कारण वायु प्रदूषणलाई ‘न्यु स्मोकिङ’ अर्थात् नयाँ धुमपान भन्ने गरिएको छ।

वायु प्रदूषणका कारण हाम्रो उमेर कति कम भइरहेको छ?

वैज्ञानिकहरुको एउटा समूहका अनुसार वायु प्रदूषणका कारण मानिसको उमेर औसतमा २.९ वर्ष कम भइरहेको छ। यो यसअघि गरिएको एउटा अनुमान भन्दा दुई गुणा हो र यो धुमपानको कारण पुग्ने असर भन्दा पनि धेरै हो।

कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित अध्ययनमा गरिएको दाबीअनुसार अन्य सबै प्रकारका हिंसा तथा युद्धका कारण मानिसको औसत आयुमा पर्ने असरभन्दा १० गुणा बढी असर वायु प्रदूषणबाट हुने गरेको छ।

शोधकर्ताहरुका अनुसार धुमपानबाट उत्पन्न समस्याले भन्दा धेरै मानिस वायु प्रदूषणका कारण मर्न सक्छन्।

उनीहरुले आफ्नो यो अध्ययनका लागि सन् २०१५ मा भएको मृत्युको आंकलनलाई अध्ययन गरेका छन्। शोधकर्ताहरुका अनुसार सन् २०१५ मा ८८ लाख मानिस वायु प्रदूषणका कारण मरेका छन्।

जबकि विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारभर धुमपानबाट ८२ लाख मानिसको मृत्यु भएको छ। यसमा ७० लाख भन्दा बढी मानिसको मृत्यु चुरोट वा तमाखुको सिधा सेवनबाट भएको छ।

महामारीको संकट

वायु प्रदूषणका कारण कार्डियोभास्कुलर तथा श्वासप्रश्वास सम्बन्धी रोगको खतरा बढिरहेको छ। यसका अलावा वायु प्रदूषणबाट हाम्रो स्वास्थ्यमा अन्य असरहरु पनि हुन जान्छन्।

मेन्ज विश्वविद्यालयको मेडिकल सेन्टरका प्राध्यापक एवम् यस अध्ययनका सहलेखक थोमस मुन्जेल भन्छन्, ‘जुन परिणाम अहिले हामीले भोगेका छौँ, त्यसबाट भन्न सकिन्छ कि वायु प्रदूषण महामारी जस्तै छ। नीति निर्माता एवम् मेडिकल क्षेत्रले यसमा धेरै ध्यान दिन जरुरी छ। पछिल्ला केही दशकमा धुमपानको तुलनामा वायु प्रदूषणमा अलि कम ध्यान दिइएको छ।’

शोधकर्ताको समूहका अनुसार यदि जैविक इन्धनको उत्सर्जन कर्म गर्नसके मानिसको औसत आयुमा निकै सुधार हुन सक्छ। उनीहरुको अनुमान अनुसार यदि जैविक इन्धन उत्सर्जनलाई शून्यमा ल्याउने हो भने मानिसको आयु कम्तिमा एक वर्ष बढ्न सक्छ।

विशेषज्ञहरुको टोलीले लामो समयसम्म विभिन्न देशमा वायु प्रदूषणको मात्रा नापेका छन्। यसअनुसार पूर्वी एशियाली देशमा वायु प्रदूषणका कारण मानिसहरुको उमेर औसतमा ४ वर्ष घटेको छ। तर अस्ट्रेलिया तथा न्युजिल्याण्डमा मानिसको उमेर ०.८ अंकले मात्र घटेको छ।

अलगअलग देशमा पनि यसका केही भिन्नताहरु देखिएका छन्। अफ्रिकी देश चाडमा वायु प्रदुषणका कारण औसत रुपमा मानिसको उमेर झण्डै ७ प्रतिशतले घटेको जनाइएको छ। कोलम्बियामा भने मानिसको उमेर झण्डै चार महिना घटेको छ।

मानवजन्य वायु प्रदूषण

यस अध्ययनमा मानवजन्य वायु प्रदूषण र प्राकृतिक वायु प्रदूषण दुबैको असर अध्ययन गरिएको छ। प्राकृतिक वायु प्रदूषणमा मरुभूमिको धुलो तथा वनमा लाग्ने डढेलोका कारण उत्सर्जन हुने प्रदूषणलाई समावेश गरिएको छ, जसलाई रोक्न सम्भव छैन।

यसको निष्कर्षका अनुसार हरेक वर्ष प्रदूषणबाट हुने मृत्युमा दुई तिहाईभन्दा धेरै संख्या मानवीय गतिविधिका कारण हुने गरेका छन्।

थोमस मुन्जेलको आंकलनअनुसार उच्च आय भएका देशमा यो संख्या ८० प्रतिशतसम्म हुनसक्छ। वायु प्रदूषण व्यवस्थापन गर्नसके संसारभर हरेक वर्ष ५५ लाख मृत्युलाई रोक्न सकिन्छ।

शोधकर्ताहरुले विभिन्न ६ प्रकारका रोगको कारक वायु प्रदूषण रहेको आंकलन गरेका छन्। जसमा बिरामीमा उच्च रक्तचापदेखि लिएर फोक्सोको क्यान्सरसमेत सामेल छ।

यस अध्ययनका सहलेखक जोस लेलीवेल्ड भन्छन्, ‘जब हामीले कयौँ बिरामीमा वायु प्रदूषणको असर देख्यौँ भने कार्डियोभास्कुलर बिरामीमा वायु प्रदूषणको असर सबैभन्दा बढी हुन्छ । यो धेरैजसो धुमपानको असर जस्तै हुन्छ। वायु प्रदूषणका कारण शरीरका कोषिकाहरुमा खाली अणुको संख्या बढ्दै जान्छ, जसलाई अक्सिडेटिभ भनिन्छ। यसले रक्तनलीहरुलाई नोक्सान पुर्याउँछ र क्रमशः ब्लड प्रेसर, डायबिटीज, स्ट्रोक, हृदयघात तथा हार्ट फेलसम्मको खतरा निम्तिन सक्छ।

वृद्धवृद्धामा सबैभन्दा बढी असर

अध्ययनका अनुसार वायु प्रदूषणको सबैभन्दा बढी असर वृद्धावृद्धामा पर्छ। शोधकर्ताहरुका अनुसार वायु प्रदूषणका कारण संसारभर हुने मृत्युको ७५ प्रतिशत संख्या ६० वर्षभन्दा बढी उमेरका व्यक्तिको मृत्यु भएको छ।

यी तथ्यांकहरुमा अक्सफोर्ड युनिभर्सिटीको महामारी रोगका विशेषज्ञ स्यामुएल काई भन्छन्, ‘यो सर्वविदितै छ कि संसारभर वायु प्रदूषण स्वास्थ्यका लागि सबैभन्दा बढी खतरनाक छ। अब यो कुनै रहस्यको कुरा पनि होइन कि वायु प्रदूषण नै नयाँ चुरोट हो र यसको आम मानिसमा असर स्पष्ट छ।’

बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्