इटहरी- साधुको अर्थ सन्त वा महात्मा हो। यस्ता व्यक्ति काम, क्रोध, लोभ, मोह आदिबाट टाढै रहन्छन् भन्ने आममान्यता छ।
सुनसरी चतरामा बस्ने 'सिद्धबाबा कृष्णदास महाराज'ले भने गत फागुन २९ गते एउटा अनलाइन पत्रिकासँग भनेका थिए– ‘साधुमा पनि काम, क्रोध, लोभ, मोह हुन्छ।’
यो भनाइ आएको नौ महिनापछि उनै कृष्णदास बलात्कार आरोपमा पक्राउ परे।
बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार क्षेत्रमा १५ वर्षदेखि बस्दै आएका कृष्णदास आफ्नै अनुयायीले बलात्कार गरेको उजुरी दर्ता गरेपछि पक्राउ परेका हुन्।
कृष्णदास बलात्कारबाहेक अन्य थुप्रै प्रकरण छन्। ती प्रकरणका कारण उनी विवादित छन् । राष्ट्रपति, प्रधानमन्त्री, मुख्य राजनीतिक दलका शीर्ष नेतासँग निकट रहेका कृष्णदास जोडिएका विभिन्न ७ प्रकरण:
प्रचण्ड र सुजातालाई भैंसीपूजा
२०६६ माघ २९ गते तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भैंसीपूजा गरेको भन्दै आलोचित भए।
कारक भने उनै कृष्णदास थिए। कृष्णदासले चतरामा आयोजना गरेको आयुर्वेदिक उपचार शिविरमा प्रमुख अतिथि थिए प्रचण्ड। शिविरमा मन्त्रबाट उपचार हुने स्टल पनि थियो।
उपचार गराउन सहभागी थिए मधुसुदन रिजाल। रिजालको नेतृत्व कृष्णदासले गरेका थिए। रिजालले प्रचण्डलाई २०६६ भदौ २० गतेदेखि साढेसाती शनिदशा लागेको भन्दै भैंसीपूजाको ‘अफर’ गरे। प्रचण्ड सहमत भए र पूजा गरे।
तत्कालीन माओवादी नेताहरु सीपी गजुरेल, तत्कालीन एमाले नेताहरू प्रदीप नेपाल, मोदनाथ प्रश्रित, गुरु बरालसमेत सहभागी उपचार शिविरमा प्रचण्डले सम्बोधनसमेत गरेका थिए।
आफूले सुरुमा ग्रहदशा उपचारबारे नपत्याएको तर कृष्णदासले वैज्ञानिक कारण बताएपछि विश्वास लागेको प्रचण्डको भनाइ थियो।
उनले आफू पनि कृषि र जडिबुटीको विद्यार्थी भएको भन्दै यी कुरा सदुपयोग गर्न सके धेरै कमाइ हुने बताएका थिए।
उक्त उपचार शिविर समापन गर्न फागुन ९ गते आएकी तत्कालीन उपप्रधानमन्त्री सुजाता कोइरालाले पनि भैंसीपूजा गरेकी थिइन्। कोइरालासँगै तत्कालीन संस्कृतिमन्त्री मिनेन्द्र रिजाल र कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि भैंसीपूजा गरे।
सात कक्षा फेल, पीएचडीको गफ
कृष्णदासले आफूले आयुर्वेदमा विद्यावारिधि (पीएचडी) उपाधि लिएको बताउँदै आएका थिए। तर, कुन विश्वविद्यालयबाट कति सालमा र कुन विषयमा भनेर कहिल्यै खुलाएनन्।
कृष्णदासको पीएचडीबारे बुझ्दै जाँदा उनी जन्मस्थल सोलुखुम्बुको जुबुस्थित विद्यालयमा कक्षा सात फेल भएको पाइएको थियो।
दुई नागरिकता
कृष्णदासले दोहोरो नागरिकता लिएको खुलेको छ। २०३० साल मंसिर १० गते जन्ममिति राखेर उनले सोलुखुम्बुबाट २२२७/५९५ नम्बरको नागरिकता लिएका छन्। त्यहाँ उनको नाम कृष्णबहादुर गिरी छ।
उनले २०६५ पुस १७ गते सुनसरीबाट ०६९००४/१३२८०८ नम्बरको अर्को नागरिकता लिएका छन्। सुनसरीबाट लिएको नागरिकतामा श्री वैष्णव कृष्णदास नाम छ भने जन्ममिति २०३१ फागुन १९ ।
कृष्णदासले बाबुको नाम छविलाल गिरी र जन्मस्थान सोलु जुबु भने दुवै नागरिकतामा समान राखेका छन्।
भाइ अंशमा चेक बाउन्स
कान्छा भाइ ऐनबहादुर गिरीलाई बाउन्स चेक दिएको आरोप कृष्णदासमाथि छ। भाइको अंशबापतको जमिन मासेपछि उनले पैसा दिने सहमति गरेका थिए।
उनले भाइलाई ५ लाखको चेक दिएका थिए। तर, चेक बाउन्स भयाे। रकम नपाएपछि ताकेता गर्दा दाजुले नदिएको ऐन बताउँछन्। प्रहरीलाई उजुरी गरे पनि सुनुवाइ नभएको उनकाे गुनासाे छ।
वैदेशिक रोजगारीका नाममा ठगी
कृष्णदासले सोनल साह र सुलेमान नामक भारतीय दलालसँग मिलेर सिंगापुर लाने भन्दै नेपालीलाई ठगेको आरोप छ। २०६८ मा आफन्तसहित ११ नेपालीलाई सिंगापुरमा लैजाने भन्दै लाखौँ रकम लिएर फिर्ता नगरेको कृष्णदासकै एक आफन्त बताउँछन्।
उनले प्रतिव्यक्ति ४ लाख रुपैयाँ उठाएका थिए। जसबाट उनले पैसा उठाएका थिए, उनीहरु पर्यटक भिसामा जान मानेनन्। तर, कृष्णदासले पैसा फिर्ता गरेनन्। दाजुले नतिरेपछि आफूले जग्गा बेचेर ४४ लाख तिरिदिएकाे उनका भाइ ऐनकुमार बताउँछन्।
जगत गुरु र भू–समाधि दुवै विवादमा
कृष्णदासले २०७५ फागुन ८ गते तारक ब्रह्म महायज्ञ समापन गरे। समापन समारोहमा भारतबाट आएका साधुले उनलाई जगतगुरु घोषणा गरे।
जगत गुरु उपाधि पाएपछि कृष्णदासलाई चितवनको भरतपुरमा नागरिक अभिनन्दन गरिएको थियो। २०७५ चैत ११ गते गरिएको अभिनन्दन समारोहका प्रमुख अतिथि थिए, पूर्वप्रधानमन्त्री माधवकुमार थिए।
जगतगुरु घोषणाप्रति उनकै सहयात्री बालसन्त रामशरण देवाचार्यले असन्तुष्टि जनाए। आफूलाई काशीका विद्वानले विधिपूर्वक उपाधि दिएको तर कृष्णदासको यज्ञमा आएका भारतीय साधुले हचुवामा दिएको भनाइ बालसन्तको छ।
गत जेठ ३२ मा भारतमा श्री १००८ वैष्णव कृष्णदास महाराज उपाधि पाएका उनलाई सोही अवसरमा अखिल भारतीय विराट सन्त सम्मेलनले सिद्धबाबाको उपाधि दिएको थियो।
कृष्णदासको भू–समाधिमा पनि आलोचना भएको छ। ५ फिट लम्बाइ र ३ फिट चौडाइको बाकसमा बन्द भएर नौ दिनसम्म जमिनमुनि निराहार ब्रत बसेको भन्दै कृष्णदास २०६५ को रामनवमीमा चर्चामा आए।
भू–समाधि नाम दिएको उनको त्यस्तै कार्यक्रम पोखरामा पनि २०७२ चैत २६ देखि २०७३ वैशाख ३ गतेसम्म नौ दिन भएको थियो। उनले २०७४ को रामनवमीमा चतरामा पनि भू–समाधि गरेका थिए। बिना अक्सिजन जमिनमुनि बाकसमा गाडिएर नौ दिन बिताएको भनिएको भू–समाधिमा कृष्णदासका प्रशंसकले विश्वास गरे।
केहीले भने शंका गरे। शंका गर्नेमध्ये एक थिए डाक्टर योगी विकासानन्द। उनले भू–समाधिको कुनै कुरा पत्याएनन्। एउटा अन्तर्वार्तामा भने, ‘म उहाँलाई अक्सिजन बिना ९ मिनेट बसेर देखाउन चुनाैती दिन्छु।’
सरकारी जग्गामा नक्सा पास नगरी आलिसान भवन
कृष्णदासले २०६४ सालमा सुनसरी मोरङ सिँचाइ आयोजनाको जग्गामा आयुर्वेदिक शिविर सञ्चालन गरे।
शिविरको करिब १३ बिघामा उनले स्थायी संरचना बनाउन थाले। घेराबारासहित रामानन्दचार्य पीठ १२८ कोठे भवन, मन्दिर, हनुमानको प्रतीमा लगायत स्थायी संचरना बनाए।
करोडौं लागतमा बनेका यी संरचनाका कुनै पनि नक्सा पास भएको छैन। सिद्धबाबालाई सिँचाइ कार्यालयले कारबाही चलाउन सकेको छैन।
तस्बिर स्राेत : सामाजिक सञ्जाल