शुक्रबार, चैत २८, २०७६

समाचार विशेष

सय वर्षअघिको महामारी सम्झाउने कोरोना

1583316644Spanish-flu-pandemic-1918_1707.jpg
सन् १९१८ को महामारी (स्पेेनी ज्वरो) का  विरामी अमेरिकाको कान्सासस्थित अस्पतालमा। तस्बिर स्रोत: अमेरिकी राष्ट्रिय पुस्तकालय 

काठमाडौं– कोरोना भाइरस (कोभिड–२०१९) को त्रासका कारण विश्वभरका सबै महत्त्वपूर्ण भेला सम्मेलन स्थगित/रद्द गरिएका छन्।

कोभिड– २०१९ विश्वव्यापी महामारी बन्नसक्ने सम्भावना ‘प्रबल’ रहेको बताएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अब यो सम्भावनालाई ‘निकै प्रबल’ भनेको छ।

विश्वव्यापी महामारी कस्तो हुन्छ, आजभन्दा ठिक एक शताब्दीअघि अर्थात् सन् १९१८ देखि १९२० का बीच संसारले भोगिसकेको छ।

त्यसबेला ‘इनफ्लुएन्जा’ वा ‘स्पेनी ज्वरो’ को नामले कुख्यात भाइरसका कारण विश्वका विभिन्न देशमा कुल ५ देखि १० करोड मानिसको मृत्यु भएको अनुमान गरिन्छ। यो सम्भवतः अहिलेसम्मकै सबैभन्दा ठूलो महामारी हो।

अनुमानमा यति ठूलो अन्तर हुनुको कारण आजभन्दा एक सय वर्षअघि सूचना र सञ्चारका साधन नहुनु हो। त्यसबेला विश्वको जनसंंख्या एक अर्ब ८० करोड थियो– आजको विश्व जनसंंख्याको एकचौथाइ मात्र।

इन्फ्लुएन्जा गराउने भाइरसको महामारीबाट भारतको जनसंख्या पाँच प्रतिशत कम भएको मानिन्छ। त्यसबेला भारतमा एक करोड ७० लाख मानिसको मृत्युको भएको अनुमान गरिन्छ।

इन्फ्लुएन्जा सन् १९१८ जनवरीमा अमेरिकाको क्यान्सास प्रान्तबाट फैलिएको थियो।

अमेरिकामा मात्रै यो भाइरसले पौने सात लाख मानिसको ज्यान लिएको थियो। उतीबेला भाइरस व्यापारिक मार्ग र पानीजहाजबाट विश्वभर फैलियो।

मुम्बईबाट भारतमा फैलिएको मानिने त्यो इन्फ्लुएन्जाले नेपालमा के कस्तो नोक्सानी पुर्‍यायो भन्ने तथ्यांक पाइँदैन।

नेपालको थोरै जनसंख्या, बन्द राजनीतिक–सामाजिक प्रणाली र बाहिरी विश्वसँगको कम सम्पर्कका कारण भाइरसले ठूलो प्रभाव नपारेको हुन सक्छ।

त्यस्तै औषधि उपचार र रेकर्ड राख्ने प्रणाली व्यवस्थित नभएकाले मृत्युका घटना अभिलेख नहुनु स्वाभाविकै हो।

राष्ट्रिय जनगणना वि.सं. १९६८ (सन् १९११) नेपालमा गरिएको पहिलो जनगणना हो। जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्या ५६ लाख ३८ हजार ६४९ थियो।

यस्तै दोस्रो राष्ट्रिय जनगणना वि.सं. १९७८ (सन् १९२०) अनुसार नेपालको कुल जनसङ्ख्या ५५ लाख ७३ हजार ७८८ थियो।

दस वर्ष अवधिमा झन्डै ६५ हजार जनसङ्ख्या घटेकाे थियाे। यसरी जनसंख्या घट्नुको कारण कतै यही महामारी त हैन? यद्यपि त्यसबेलाको जनगणना पद्दति कस्तो थियो भन्ने प्रश्न पनि उठ्छ।

बेलायती उपनिवेश रहेको भारत (हालको पाकिस्तान र बांग्लादेश समेत) को जनसंख्या त्यही स्पेनी ज्वरोकै कारण दुई वर्षमा पाँच प्रतिशतले कम भएको थियो।

त्यतिबेलाको क्षतिको तुलनामा अहिले कोरोना भाइरस संक्रमण र यसबाट मृत्यु हुनेका संख्या नगण्य छ।

तर, दुई महिनाभित्रै यो महामारी विश्वका सबै महादेशमा पुगिसकेको छ।

७० देशमा फैलिइसकेको संक्रमणले ३२ सय मानिसको मृत्यु भइसकेको छ। थप कति मानिसलाई चपेटामा पार्छ र मृत्युको कारण बन्छ अहिल्यै भन्न कठिन छ। किनभने दुई महिना बित्दासम्म भाइरस संंक्रमण दरमा कमी आएको छैन।

अहिलेसम्म कोरोना भाइरस एक लाख मानिसमा संक्रमण भएको छ । मृत्यु हुनेमध्ये ९३ प्रतिशत संख्या चीनभित्र छ। सबैभन्दा बढी प्रकोेप पनि चीनमै छ।

यद्यपि, पछिल्लो समय चीनले संंक्रमण दर कम हुँदै गएको दाबी गरेको छ। चीनपछि सबैभन्दा बढी संक्रमण क्रमशः दक्षिण कोरिया, जापान, इटली र इरानमा छ।

सातौंपटक महामारीको कारक

ट्रेभर बेडफोर्ट अमेरिकाका जीवाणु वैज्ञानिक हुन्। केही साताअघि अमेरिकाको सिएटलमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बेडफोर्टले कोरोना भाइरस कसैले प्रयोगशालामा उत्पादन गरेको भन्ने हल्ला निराधार भएको बताए।

उनका अनुसार यो भाइरसका विभिन्न प्रकार पछिल्ला वर्षमा सात पटक महामारीको कारक बनेका छन्। ती महामारी त ढिलोचाँडो नियन्त्रणमा आए। यसपटक भने कहिले नियन्त्रणमा आउला भन्न गाह्रो छ।

जीवाणुबाट फैलने रोगसँग लड्ने उपाय विकसित गर्ने अन्तर्राष्ट्रिय समूहका सदस्य बेडफोर्टका  अनुसार नयाँ कोरोना भाइरस चमेरोबाट पहिलोपटक गत नोभेम्बरमा मानिसमा संक्रमण भएको हो।

रूप बदल्ने भाइरस

नयाँ कोरोना भाइरस (कोभिड–१९) ‘कोरोना’ नामको पुरानो भाइरस परिवारको नयाँ सदस्य हो। यो प्राणघातक भाइरसलाई अर्को नयाँ नाम पनि दिइएको छ– सार्स 'सीओभी– २' (सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम)।

अनुसन्धानकर्ताहरुका अनुसार सन् २००२–२००३ मा चीनमा जुन सार्स भाइरसले ७०० जनाको ज्यान लिएको थियो कोभिड–१९ त्यही भाइरसको आनुवंशिक परिवर्तन (म्युटेसन) बाट बनेको हो।

डिसेम्बर २०१९ मा देखिएको हुनाले यसको वैज्ञानिक नाम ‘कोभिड–१९’ (को = कोरोना, भी = भाइरस, डी = डिसेम्बर २०१९) राखिएको हो।

कोेरोना भाइरस पहिलेपहिले पशुपक्षीमा संंक्रमण हुन्थ्यो। आनुवंशिक परिवर्तनपछि अहिले मानिसलाई सिकार बनाइरहेको छ। भाइरस ब्याक्टेरियाभन्दा पनि कैयौं गुणा साना हुन्छन्। यसलाई एन्टिबायोटिकले असर गर्दैन।

भारतको चेन्नई विमानस्थलमा मास्क लगाएका यात्रु । तस्बिर: रोयटर्स

दुई साता एकान्तवास

सामान्य फ्लू र ‘कोभिड–१९’ को प्रारम्भिक लक्षण उस्तै हुन्छन्। त्यसैले विभिन्न देशले संक्रमणको शंका लागेमा सोझै अस्पताल नगएर पहिला चिकित्सकसँग वा तोेकिएका ‘हटलाइन’ मा सम्पर्क गर्न भनेका छन्।

कसैमाथि संंक्रमणको शंका छ भने उक्त व्यक्तिसँगै परिवारका सदस्य र उसको सम्पर्कमा आएका अन्य मानिसलाई पनि दुई सातासम्म घरभित्र अलग्गै बस्न भनिएको छ।

संंक्रमण अरूमा नफैलियोस् भनेर यस्तो निर्देशन दिइएको हो। 

बेग्लै बस्नुपर्ने यही त्रासका कारण युरोपका धेरै देशमा मानिसहरु खाद्यान्न र अत्यावश्यक सामानको भण्डारण गर्न थालेका छन्।

कीटनाशक औषधि, सुरक्षा मास्क, टिस्यु पेपर जस्ता वस्तु त बजार पाउन गाह्रो हुन थालेको छ।

भेला/सम्मेलन स्थगित

कोरोना संंक्रमण नियन्त्रणका लागि विभिन्न देशले भेला, सम्मेलन, मेला र प्रदर्शनी स्थगित गरेका छन्।

नेपाल सरकारले भेला, भोज, मेलाजस्ता कार्यक्रम आयोजना नगर्न निर्देशन दिएको छ। सोही निर्देशनअनुसार अप्रिल २ देखि ४ का लागि तोकिएको अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको सहभागिता रहने ‘सगरमाथा संवाद’ कार्यक्रम स्थगित गरिएको छ।

जर्मनी सरकारले प्रत्येक वर्ष मार्चमा हुने ठूलो अन्तर्राष्ट्रिय पर्यटन मेला स्थगित गरेको छ। स्विट्जरल्यान्डले अन्तर्राष्ट्रिय कार प्रदर्शनी स्थगित गरेको छ।

फ्रान्समा पनि ठूला भेला/सम्मेलनमा रोक लगाइएको छ भने विश्वप्रसिद्ध लुभ्र संग्रहालय बन्द गरिएको छ।

दक्षिण पूर्वी एसियाली देशहरुको संगठन ‘आसिआन’ को १४ मार्चमा अमेरिकामा सुरु हुने भनिएको शिखर सम्मेलन पनि स्थगित गरिएको छ।

जापानका ओलम्पिक मन्त्रीले ओलम्पिक खेलसमेत रोक्न सकिने बताएका छन्।

इरानमा सबै शैक्षिक संस्था बन्द गरिएका छन्।

कसरी हुन्छ संक्रमण?

अहिलेसम्मको जानकारअनुसार ‘कोभिड–१९’ भाइरस संक्रमित व्यक्तिले सास फेर्दा, हाछ्यूँ गर्दा र खोक्दा हावाबाट अन्य व्यक्तिमा पुग्छ।

संक्रमित व्यक्तिको नाकबाट बगेको पानी र थुकको छिटाबाट पनि यो सर्न सक्छ।

संक्रमित व्यक्तिको निकै नजिक जाँदा, उसलाई छुँदा, हात मिलाउँदा र उसको छेउछाउमा रहेका वस्तु छुँदा पनि यो भाइरस अर्को व्यक्तिमा सर्ने सम्भावना रहन्छ।

संक्रमणका लक्षण

भाइरस संक्रमणको लक्षण देखिन १४ दिनसम्म लाग्न सक्छ।

दुई सातासम्म लक्षण नदेखिने हुँदा पनि कोभिड–१९ को संंक्रमण तीव्र गतिमा फैलिरहेको छ।

संक्रमित व्यक्तिलाई दुई सातासम्म आफू संक्रमित भएको थाहा हुँदैन र त्यतिन्जेल ऊ अन्य धेरै व्यक्तिको सम्पर्कमा पुगिसकेको हुन्छ।

कोभिड–१९ संक्रमित व्यक्तिमा घाँटीमा असहज महसुस हुने, हाछ्यूँ आउने, नाकबाट पानी बग्ने, शरीर दुख्ने, ज्वरो आउने र पखाला लाग्ने जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण सामान्य फ्लूका बेला पनि हुन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार करिब ८० प्रतिशत मानिस विना उपचार कोरोना संक्रमणबाट मुक्त हुन्छन्। तीमध्ये थोरैमात्र गम्भीर बिरामी हुन सक्छन्।

संक्रमण गम्भीर हुँदा सास फेर्न गाह्रो हुन्छ। वृद्धवृद्धा र पहिल्यैदेखि अन्य रोगले ग्रस्त व्यक्तिमा पनि यसको प्रभाव गम्भीर हुन्छ।

उच्च रक्तचाप, हृदयरोग, मधुमेहका रोगीका लागि  यो बढी खतरनाक हुन्छ।

संक्रमित व्यक्तिमध्ये दुई प्रतिशत हाराहारीको मृत्यु हुन सक्छ।

कसरी बच्ने?

कोभिड–१९ बाट बच्न अहिलेसम्म कुनै खोप विकसित भएको छैन।  यसबाट बच्नका लागि केही नियम पालनाबाहेक अरु उपाय छैन।

विश्व स्वास्थ्य संगठनका अनुसार :

१. साबुनपानीले राम्रोसँग हात धोइराख्ने वा अल्कोहल आधारित स्यानिटाइजरले सफा गर्ने। यस्तो गर्दा हातमा रहेका भाइरस मर्छन्।

२. बाहिरबाट घर पुग्नेबित्तिकै सबैभन्दा पहिले साबुन पानीले हात सफा गर्ने।

३. रुघाखोकी लागेका र ज्वरो आएका व्यक्तिसँग कम्तीमा एक मिटर पर रहने।

४. हातले आँखा, नाक र मुखमा नछुने।

५. खोकी लाग्दा र हाछ्यूँ आउँदा टिस्यू पेपरले मुख छेक्ने। टिस्यू पेपर छैन भने कुहिनो मोडेर पाखुराले मुख छेक्ने। यस्तो गर्दा भाइरस हावामा टाढासम्म पुग्न पाउँदैन।

६. रुघाखोकी लागेको छ, ज्वरो आएको छ भने स्वास्थ्य केन्द्रमा सम्पर्क गर्ने । अरू मानिसको सम्पर्कमा नजाने।

७. भीडभाडमा नजाने।

८. भाइरस संंक्रमणबारे मिडियाका माध्यमबाट नयाँ जानकारी लिइरहने।

विशेषज्ञहरुका अनुसार मुखमा सामान्य खालको मास्क लगाउँदा भाइरसजस्ता अति सूक्ष्म जीवाणुबाट पूर्ण रूपमा बच्न सकिँंदैन। यद्यपि, यो फैलने शंंका केही कम हुन्छ।

विश्व आर्थिक मन्दी

कोरोनाको कहरले मानव स्वास्थ्यमा त प्रभाव परिरहेको छ, सबैभन्दा धेरै असर अर्थव्यवस्थामा परिरहेको छ।

कोरोनाकै कारण सन् २०२० विश्व अर्थव्यवस्थामा भारी मन्दी आउने विश्लेषकहरू बताउँछन्।

१२ अर्ब डलर सहयोग

विश्व बैंकले कोभिड–१९ बाट प्रभावित मुलुकका लागि १२ अर्ब डलर सहयोगको आपत्कालीन प्याकेज घोषणा गरेको छ।
यो प्याकेज १९ वटा विकसितसहित ६० मुलुकका लागि घोषणा गरिएको हो।

सहयोग रकम ती मुलुकको स्वास्थ्य प्रणाली प्रभावकारी बनाउन, सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन, मानिसलाई महामारीबाट जोगाउने गतिविधिका लागि खर्च गरिने विश्व बैंकले जनाएको छ।
यसमा अनुदान, प्राविधिक सहयोग र ऋण समावेश छन्।

‘हामी अनुदान सहयोग द्रूत स्तरमा उपलब्ध गराउने गरी काम गरिरहेका छौं’, विश्व बैंक समूहका अध्यक्ष डेभिड मल्पसले भनेका छन्।

(एजेन्सीकाे सहयाेगमा)

बुधबारसम्मकाे काेराेना अपडेट-

 
प्रतिक्रिया दिनुहोस्