बुटवल– ‘मेरो घर, टोल, छिमेक, वडाका विभिन्न स्थानमा भेटिएका बेसहारा, सहयोगापेक्षी मानवहरुको उद्धार, परामर्श, पारिवारिक पुनर्मिलन र सेवाको लागि तन, मन र धनका साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । जय मानव सेवा, समृद्ध बुटवल, खुसी बुटवलसबासी’। बुटवल उपमहानगरपालिकाका प्रमुख शिवप्रसाद सुवेदीले शपथ ग्रहण गराएको उक्त शपथलाई आत्मसात् गर्दै शनिबारदेखि औपचारिक रुपमा बुटवलको सडक बेसहारा मान्छेहरुको मुक्तस्थल घोषणा भएको छ ।
स्थानीय सरकारले बेसहारा भएकाहरुलाई सहारा दिनेगरी कार्यक्रम घोषणा गरेसँगै यस्तो कार्यको थालनी भएको हो । प्रदेश ५ को राजधानीको रुपमा समेत प्रस्तावित बुटवल उपमहानगरपालिकाले सडक मानवमुक्त नगर भएको घोषणा गरेको छ । कार्यक्रममा प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुल प्रसाद केसीले उक्त घोषणा गरेलगत्तै आइतबार बिहानैदेखि विभिन्न टिकाटिप्पणी पनि शुरु भएका छन् । कतिपयले सस्तो लोकप्रीयताको लागि यस्तो कार्यक्रम घोषणा गरेको भन्दै तिखो आलोचना गरेका छन् भने कतिपयले राम्रो कामको शुरुवात भनेका छन् ।
नगरपालिकाले लामो समयको गृहकार्यपछि रुपन्देहीको एकमात्र उपमहानगर बुटवललाई सहयोगापेक्षी तथा बेसहारा मानवमुक्त घोषणा गरेको बताएको छ । बुटवल उपमहानगरपालिका, सामाजिक विकास मन्त्रालय, मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त प्रयासबाट सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको हो ।
सो कार्यक्रमको उद्घाटन मानवसेवा आश्रममा बस्दै आएकाहरुलाई दोसल्ला, माला ओढाएर गरिएको थियो । मानव सेवाको दृष्टिले उपमहानगरको कार्य अत्यन्तै मूल्यवान भएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बताए ।
कार्यक्रममा मन्त्री, सांसद तथा सरकारी अधिकारीहरुले बुटवलमा कोही पनि बेसहारा र दुःख पाएको मान्छे भेटिए तत्काल उद्धार गरी मानव आश्रममा पुर्याइदिन आग्रह गरेका थिए ।
नगरपालिकाले सामाजिक विकास मन्त्रालयसँग समन्वय तथा सम्झौता गरेर उक्त कार्यको घोषणा गरेको हो । सामाजिक विकास मन्त्रालय र नगरपालिकाको सहयोगमा बुटवलमै अहिले २ वटा घर भाडामा लिई सञ्चालन गरिएको छ । उक्त घरमा सहयोगापेक्षी तथा बेसहारा मानिसलाई उद्धार गरी राख्ने कार्य भएको छ ।