काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले अडिट गर्ने व्यक्तिहरुमा व्यावसायिक दक्षता हुन आवश्यक रहेको बताएका छन्। काठमाडौंमा आइतबार आयोजित प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एण्ड फ्रड विषयक कार्यक्रममा मन्त्री खतिवडाले अडिटरले व्यावसायिक भएर काम नगरेमा कम्पनीहरुको स्वास्थ्य अवस्था बिग्रने बताए ।
चार्टर्ड एकाउन्टेटहरुले गलत गर्ने कम्पनीहरुको अडिट पनि राम्रोसँग गर्ने गरेको बताउँदै मन्त्री खतिवडाले यस्तो गर्दा सिएहरुले आफ्नो व्यावसयिक क्षमता गुमाइरहेको तर्क गरे । उनले भने, ‘कुनै पनि गलत काम भइरहेका कम्पनीहरुको अडिट रिपोर्ट हेर्दा सबै ठिक छ, अडिटरले पनि जानेबुझेसम्मको सबै ठिक छ भन्नुहुन्छ । तर गल्ती कसको हो भन्ने अडिटरले जान्दाजान्दै पनि उनीहरुले नै ढाकछोप गरिदिँदा समस्या भएका छ, गल्ती भने जरैबाट भएको छ ।’
पछिल्लो समय फाइनान्सियल फ्रड निकै हुन थालेको भन्दै उनले त्यसको लागि कम्पनी खोल्ने र प्रविधिलाई प्रयोग गर्ने क्रम बढेको बताए । ‘मेरो कम्पनीको अडिट गरिदेऊ भनेर आउनेको कम्पनी कस्तो छ भनेर जानकारी नै नलिर्इ अडिट गर्नु मेरो धर्म हो भन्यो भने समस्या सृजना हुन्छ,’ उनले भने ।
मन्त्री खतिवडाले संघीयता कार्यान्वयनसँगै केही समस्याहरु कायमै रहेको बताउँदै अन्योल समाधानका लागि कानुन निर्माण भइसकेको र ती कानुन संसदबाट पास हुनेवित्तिकै कानुनले लेखा व्यवसायीलाई व्यवस्थित हुने गरी काम गर्ने बताए ।
कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले राज्यको नीति निर्माणमा सहयोग पुगोस् भनेर कार्यक्रम आयोजना गरेको बताए ।