२० वर्षसम्म क्यासेट, सिडी अनि डिभिडी बिक्री गरेर गुजारा गर्दै आएका ४० वर्षीय मुस्ताक अहमद सेखले पछिल्लो समय कप–प्लेटको व्यापार गर्न थालेका थिए। उनले व्यापार परिवर्तन गर्नुको कारण थियो– इन्टरनेट र मोबाइलले गर्दा मनोरञ्जनका अन्य साधन नै आवश्यक नपर्नु।
पछिल्लो डेढ महिनादेखि भने सेखले फेरि तिनै मनोरञ्जनका साधनको व्यापार गर्न थालेका छन्। किनभने कश्मीरमा विगत चार महिनादेखि इन्टरनेट सेवा बन्द छ। सर्वसाधारण फेरि सिडी, डिभिडी र पेनड्राइभजस्ता साधन प्रयोग गर्न थालेका छन्।
हुन त अहिलेको समयमा इन्टरनेट बन्द हुँदा यति धेरै नोक्सान हुन्छ, त्यसको कुनै गणना नै हुन सक्दैन। तर इन्टरनेट बन्द हुँदा केही स–साना फाइदा पनि छन्। यस्तो फाइदा व्यक्तिगत, पारिवारिक र सामाजिक गरी तीन प्रकारका छन्। यसबारेमा चर्चा गर्नुअघि कश्मीरमा इन्टरनेट बन्द हुनुका बारेमा केही जानकारी हुनु आवश्यक छ।
गत अगस्ट ५ मा भारतले संविधानको ३७० अनुच्छेद प्रयोग गरेपछि जम्मु–कश्मीरको विशेषाधिकार हटाएर केन्द्र शासित बनायो। त्यसको अघिल्लो दिन नै सरकारले कश्मीरमा सञ्चारका सबै साधन बन्द गरेको थियो।
अवस्था सामान्यतर्फ उन्मुख हुन थालेपछि सरकारले सञ्चारमा लगाएको प्रतिबन्ध खुलाउँदै गयो। पहिला ल्यान्डलाइन फोन अनि पोस्टपेड मोबाइल फोन खुला भए। इन्टरनेट भने यहाँ अहिलेसम्म बन्द छ। इन्टरनेट कहिलेदेखि खुला हुन्छ भन्ने कुनै टुंगो छैन। इन्टरनेट बन्दा हुँदा योसँग जोडिएका फिल्म र गेममा प्रत्यक्ष असर परेको छ।
इन्टरनेट नभएको यही मौका सेखजस्ता व्यक्तिका लागि अवसरमा परिणत भयो। उनीहरुले यो अवसर देखे र त्यसबाट फाइदा लिन थालेका छन्। कप–प्लेटको व्यापारमा जमिसकेका उनी फेरि पुरानै व्यापारमा जम्न थालेका छन्। उनले अहिले अनन्तनागस्थित बस स्टेसनमा आफ्नो पुरानै ठाउँमा सिडी र डिभिडी बेच्न थालेका छन्।
सेख अहिले आफ्नो काम ठिकठाकसँग चलिरहेको बताउँछन्। उनी भन्छन्, ‘केही वर्षपहिलेसम्म म एक दिनमा १८ देखि २० हजारसम्मको व्यापार गर्थें। पछि यस्तो समय आयो, कुनै दिन त बोहनीसम्म भएन।’ सेखले यो काम छाड्दा दुई लाख जतिको सामान त्यत्तिकै भण्डारण गरेका थिए। उनी भन्छन्, ‘पछिल्लो दुई महिनामा मैले सबै स्टक सामान बिक्री गरेँ। नयाँ सामान ल्याएर पनि बिक्री गर्दै आएको छु। धेरै नभए पनि दिनमा तीन–चार हजारको सामान बिक्री भइरहेको छ।’
कश्मीरमा अब इन्टरनेट छिटै खुला होस् वा बन्द भइरहोस् ? प्रश्नमा सेख मुस्कुराउँदै भन्छन्, ‘मैले बेच्न ठिक पारेका सबै सामग्री बिक्री गरिसकूँ। अनिमात्र इन्टरनेट खुला होस्।’
कश्मीरमा यतिबेला सेखले जसरी अन्य व्यक्तिहरूले पनि फिल्म र गीतका सिडी र डिभिडी बेचेर, पेनड्राइभ र हार्ड डिस्कमा फिल्म, टेलिफिल्म र गीत भरिदिएर पैसा कमाइरहेका छन्।
श्रीनगरस्थित रामबाग क्षेत्रमा कम्प्युटर प्रिन्ट र फोटोकपी पसल सञ्चालन गरिरहेका मुदस्सिर अहमद त यतिबेला आफूलाई चिठ्ठा नै परेको बताउँछन्। उनले भने, ‘मेरो पाँच वर्षको व्यापारमा यति धेरै पैसा यसअघि कमाएकै थिइनँ।’
मुदस्सिर र उनीजस्ता अन्य व्यापारी केही दिन दिल्ली वा अन्य सहरमा जान्छन्। त्यहाँबाट फिल्म, टेलिफिल्म र नयाँ गीत डाउनलोड गर्छन् र कश्मीरमा ल्याएर बिक्री गर्छन्।
‘एकपटक डाउनलोड गरेपछि त्यसलाई हजारौंपटक बेच्न सकिन्छ। मैले यसै गरिरहेको छु’, मुदस्सिरले भने।
हवाई टिकट बिक्री गर्ने ट्राभल्स एजेन्टले पनि इन्टरनेट बन्द भएपछि निकै लाभ उठाइरहेका छन्। उनीहरू दिल्ली वा अन्य सहरमा रहेका आफन्तलाई फोन गर्छन् र टिकट बुकिङ गर्छन्। उनीहरूका ग्राहकलाई टिकटको मूल्य लाग्नेजति लिएको छ या महँगो लिएको छ भन्ने केही थाहा हुँदैन। किनभने थाहा पाउने सबै माध्यम बन्द छन्। यसको फाइदा सेख, मुदस्सिर जस्ता व्यक्तिले लिइरहेका छन्।
पम्पोर नगरमा बस्ने २५ वर्षीय उमर नबी एक वर्षदेखि ‘पब्जी गेम’ को लतमा थिए। उनी हरेक दिन १० घण्टाभन्दा बढी पब्जीमै बिताउँथे। उनी यो खेलका लागि हजारौं रुपैयाँ सक्थे। ‘मलाई लाग्थ्यो, यो गेमबिना अब म रहन सक्दिनँ। जुन ग्याजेट वा मोबाइलमा पब्जी राम्ररी चल्न सक्छ, म त्यो मोबाइल वा ग्याजेट लिइहाल्थेँ,’ उनले सुनाए।
उनले विगत चार महिनामा एक पटक पनि पब्जी खेल्न पाएका छैनन्। अहिले उनी अर्कै काम गरेर समय बिताइरहेका छन्। उनले भने, ‘मैले कुखुरा पालेको छु। पहिला गेम खेलेर समय बिताउँथेँ। अहिले तिनै कुखुरासँग बिताउँदै छु। मलाई अहिले एक प्रकारको तनावबाट मुक्ति मिलेको छ,’ उमरले मुस्कुराउँदै भने।
कश्मीरमा पब्जीबाट छुटकारा पाउने उमरमात्र होइन, हजारौं छन्। उनीहरूमात्र होइन, अहिले परिवारका सदस्य पनि ज्यादै खुसी छन्।
संसारका अन्य भागमा जस्तै कश्मीरमा पनि सामाजिक सञ्जालको लतमा लागेका व्यक्तिको कमी थिएन। हातबाट मोबाइल छुटाउनै नचाहने व्यक्तिहरू पनि अहिले यो लतबाट मुक्त भएका छन्।
‘मेरो विचारमा इन्टरनेट बन्द भएपछि परिवारलाई फाइदा भएको छ,’ श्रीनगरका मुहम्मद युसुफले भने। युसुफका अनुसार चार महिनाअघिसम्म उनकी १७ वर्षीया छोरी दिनभर फेसबुक र इन्स्टाग्राममा बिताउँथिन्। उनले भने, ‘न उनलाई खाना खाने फुर्सद हुन्थ्यो न पानी पिउने। पाँचपटक बोलाएपछि बल्ल सुन्थिन्। म त खुसी छु, पोस्टपेड फोन बनेको छ, फोनमा कुरा गरेपछि त्यसलाई सुरक्षित राखिदिए पुग्छ।’
अधिकांश अभिभावक इन्टरनेट बन्द हुँदा ज्यादै घाटा भएको बताउँछन्, तर यो बन्द हुँदाको फाइदालाई पनि उनीहरू नकार्न सक्दैनन्।
‘घरका पाँचै सदस्य एकैपटक हातमा फोन लिएर बसेपछि एकले अर्कोसँग कुरै गर्न पाइँदैनथ्यो। मैले यही चार महिना हो आफ्ना सन्तानसँग मज्जाले कुराकानी गर्न पाएको,’ दक्षिण कश्मीरको पुलवाका अब्दुल खलिकले भने।
इन्टरनेट बन्द हुँदा व्यक्तिगत, पारिवारिक र आर्थिक फाइदाका साथै सामाजिक फाइदा पनि छ। सामाजिक सञ्जालमार्फत् हुँदै आएको विभिन्न अफवाह फैलाउने काम बन्द भएको छ।
केही वर्षअघिको कुरा हो, कश्मीरमा पोलियो खोपका बारेमा एउटा अफवाह फैलाइयो– पोलियोको खोप खराब छ। बच्चाका लागि खतरा हुन सक्छ। त्यति बेला कश्मीरका सबै अस्पतालमा भीड बढेर अराजक अवस्था उत्पन्न हुने अवस्था देखिएको थियो। यस्तो अफवाहका कारण सबै कश्मीरी सचेत बनेका थिए। इन्टरनेट बन्द भएपछि यस्ता अफवाह पनि फैलिन छाडेको छ।
अचेल यहाँ मानिसलाई सही खबर पनि केही दिनपछि मात्र थाहा हुन्छ भने अफवाह कसरी फैलिन पाउनु ? ‘सामाजिक सञ्जाल बन्द भएकैले अफवाह फैलिन छाडेको स्पष्ट छ,’ कश्मीरका एक पत्रकारले भने।
यी सबै फाइदा भए पनि कश्मीरका जनतालाई इन्टरनेटको पहुँचबाट टाढा राख्नु भन्नेचाहिँ हैन। इन्टरनेट बन्द भएपछि चिकित्सक, पत्रकार, शिक्षक, विद्यार्थी, बिरामीलगायत समस्यामा परेका छन्।
(सत्याग्रहबाट अनूदित)