विहीबार, चैत २७, २०७६

समाज
1582960686love1.jpg

केही दिनअघि म ज्यादै नराम्रोसँग प्रेममा पछारिएँ। तर मेरा केही मुडी मित्रहरूले मलाई प्रेम भनेको आखिर फेरोमोन, डोपामाइन र अक्सिटोसिनको ‘ककटेल’ मात्र हो, केही वर्षपछि यो प्रभावहीन हुन्छ भन्ने सुनाइरहे। उनीहरूले भनेको ती दिमागी रसायनले समकक्षीलाई प्रभावित पार्ने काम गर्छ अरे। त्यो कुराले त मलाई झन् नराम्ररी झस्कायो। मलाई हरेक कुरा अर्थहीन लाग्न थाले। के प्रेम यथार्थमा मस्तिष्कको रसायन मात्र हो? बोलीचालीको भाषामा भन्छन् नि, ‘ब्रेन केमेस्ट्री’। के प्रेम त्यति मात्रै हो त? – जो, लन्डन 


‘मेरा चलायमान हातहरूलाई गतिशील नै हुन देऊ,
अगाडि, पछाडि, बीचमा, माथि, तल ।’ -जोन डोन, अंग्रेज कवि

यसलाई संयोग मात्र मान्न नसकिएला, अंग्रेजी साहित्यको अत्यन्तै चर्चित कामुक कविताको एक अनुच्छेदमा पूरै ‘नामयोगी’ मात्र छ। नामयोगी अर्थात् प्रिपोजिसन।

प्रेमको सार, अझ भनौं आवेशपूर्ण प्रेमको सारलाई अंग्रेजी व्याकरणले गजबसँग प्रस्तुत गरेको छ।

आखिर हामी प्रेममै पर्छौं। ‘प्रेम गर्नुपर्ला’, ‘प्रेममा पर्नुपर्ला’ भनेर गरिँदैन। परिँदैन। र, जब ‘प्रेममा पछारिएँ’ भन्छौं त्यो बेला यथार्थमै हाम्रो भौतिक शरीर पछारिएको भने हुँदैन।

प्रेम प्रायः एकै नजरमा हुन्छ। जाँचपड्ताल गरिवरि, यताउति सब विचार गरेर ‘ल अब प्रेममा परौं’ भनेर प्रेममा परिन्छ र? पहिल्यै परिसकिएको हुन्छ।

भन्छन् नि– एकै नजरमा, पहिलो हेराइमै, फस्ट साइट। हामी अरूको गुणहरूको तर्कसंगत मूल्याङ्कनका आधारमा प्रेममा पर्दैनौं बरु तिनका दोषका कारण हामी ‘पागल प्रेम’–‘अन्धप्रेम’ मा पर्छौं।

रोमाञ्चक प्रेम गजबको हुन्छ। यसले भित्रैदेखि तानेर ल्याउँछ, निथ्रुक्कै पार्छ र साह्रै लोभ्याउँछ पनि। हामी यसको प्रभावमा रहेभन्दा धेरै बढी यो नै हाम्रो प्रभावमा रहेको हुन्छ।

एक अर्थमा यो रहस्यपूर्ण छ। अर्को अर्थमा यो सरल पनि छ। किनभने प्रेमको फन्दामा परिसकेपछि निश्चित वा अनुमानकै आधारमा पनि के देखिन्छ भने प्रेमको सांस्कृतिक अभिव्यक्ति प्रायः समान रहेको पाइन्छ, समय र स्थान जेसुकै होस्।

सामान्य रुपमा प्रेमबारे विचार गर्ने हो भने त्यसले विज्ञानलाई नै उछिन्छ। कामदेवको बाणलाई विचार गर्ने हो भने प्रेम भनेको गहिरोसँग अनुभूत हुने कुरा हो।

यद्यपि, प्रेमलाई विज्ञानमार्फत सजिलै जित्न सकिँदैन। कसरी नि? अब त्यतैतिर ध्यान दिऊँ।

सेक्स फेरोमोन रसायन प्रजनन क्षमता प्रक्षेपण गर्नका लागि बनेको हो, जसलाई प्रायः आकर्षणको मुख्य औजारका रूपमा व्याख्या गरिएको हुन्छ।

तर, किराहरूीच सञ्चार हुँदा फेरोमोनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइए पनि मानवमा भने सो कुरा लागू भएको कुनै ठोस प्रमाण पाइएको छैन।

कुनै रसायनले शरीरको बाह्य भागमा प्रभाव पार्न सक्छ भने भित्री भागमा प्रभाव पार्न किन सक्दैन?

सम्बन्ध स्थापित गर्ने हर्मोनका रूपमा गलत ढंगले व्याख्या गरिएको ‘न्युरोपेटाइड अक्सिटोसिन’ को मुख्य भूमिका शरीरमा दूध उत्पादन गर्ने तथा गर्भाशय खुम्च्याउने हो।

अधिकांश अध्ययनमा देखिएअनुसार उत्तर अमेरिकामा पाइने मुसा प्रजातिको ‘प्रेरी भोल’ को सार्वजनिक स्थानमा स्नेह प्रदर्शन गर्ने गुणले यसलाई आदर्श नमुना प्राणी मानिएको छ।

अक्सिटोसिनको प्रवाह बन्द हुँदा जोडी मिलनमा व्यवधान उत्पन्न हुन्छ र ‘भोल’ आफ्नो भावनात्मक अभिव्यक्ति प्रदर्शन गर्नबाट वञ्चित हुन्छ।

अर्कोतिर केही ‘भोल’ मा अक्सिटोसिनको अधिकताका कारण गैर–एकपोथी प्रजाति पनि यौनक्रीडाका लागि मरिहत्ते गर्दैनन्। मानवमा भने यस्तो अवस्थामा कम नाटकीय प्रभाव परेको पाइन्छ किनभने मानिसमा परिचितभन्दा नयाँ जोडीसँगको रोमाञ्चक सम्बन्धमा खासै ठूलो परिवर्तन नदेखिई सूक्ष्म परिवर्तन मात्र देखिएको छ।

तसर्थ, अक्सिटोसिन प्रेमका लागि महत्त्वपूर्ण र आवश्यक छ भन्ने कुरा पत्याउने आधार छैन ।

हामीले कुनै रसायन वा तत्त्व भेट्टाउन सक्यौं, कुनै सन्देश नै पाउन सक्यौं भने पनि त्यो ग्रहण गर्ने कुनै न कुनै प्रापक त हुनैपर्छ। त्यसो भए मस्तिष्कको ‘लेटर बक्स’ कहाँ छ त?

अनि कुनै पनि ‘मोलिक्युल’ ले ‘इन्कोड’ गर्नै नसक्ने संकेतका आधारमा ‘कुनै एउटालाई छान’ भन्ने सन्देश बुझ्न सकिन्छ?

ब्रेन इमेजिङबाट रोमाञ्चक प्रेमको विश्लेषण गरिँदा जुन क्षेत्र ‘उत्साहित’ भएको हो त्यो क्षेत्र प्रतिफल पाउने र कुनै उद्देश्य केन्द्रित व्यवहारमा सहयोग गर्ने तत्त्वसँग एकरूप भएको पाइएको छ।

तर हाम्रो दिमागको कुनै भागलाई कुनै विषयले प्रभावमा पारेको छ र अर्को कुनै बेग्लै विषयले पनि उत्साहित पारेको छ भने त्यसले हामीलाई धेरै जानकारी दिँदैन।

विश्लेषण गरिएका केही रोमाञ्चक प्रेमको नमुनाले के देखाएको छ भने त्यो सम्बन्ध मातृत्वको प्रेम वा आफ्नो मनपर्ने फुटबल टिमको प्रेमजस्तै छ।

निष्कर्ष निस्कन्छ- स्नायुविज्ञानले अझै पनि ‘प्रेममा नराम्ररी पछारिएँ’ भन्ने अभिव्यक्तिको तटस्थ व्याख्या गर्न सकेको छैन।

प्रेमबारे अझ थप अनुसन्धान गर्नुपर्छ ? वैज्ञानिकहरुको जवाफ ‘पक्कै आवश्यक छ’ भन्ने नै हुन्छ।

यसले के संकेत गर्छ भने प्रेमलाई प्राविधिक व्याख्याले बुझाउन सकिन्छ भन्ने आमधारणा छ।

प्रत्येक प्रजनन निर्णय न त साधारण हुन्छन् न त एकरुप नै। किनभने एउटा मात्र तत्त्वका आधारमा निर्देशित हुन सकिँदैन। उस्तैउस्तै तत्त्वका आधारमा विश्लेषण गर्ने त सम्भावना नै हुँदैन।

विश्वव्यापी रुपमा हेर्दा उचाइलाई आकर्षणको एउटा आधार मानिएको होला। तर जीवविज्ञानले उचाइलाई मात्र छनोटको आधार दिएको थियो भने हामी सबै अहिलेसम्म विशालकाय भइसक्नुपर्ने।

छनोटसम्बन्धी निर्णय प्रक्रिया जटिल छ भने मस्तिष्कका अवयवले त्यसलाई सम्भव बनाइदिएका छन् भन्ने मान्नैपर्छ।

यसले रोमाञ्चक आकर्षण किन जटिल छ भन्ने बताउँछ तर सरल र सहज किन छ भन्नेबारे चाहिँ केही बताउँदैन। त्यसका लागि शान्त र तर्कसंगत व्याख्या आवश्यक छैन त?

यसले नबताएको कुरा बुझ्न मुख्य कारक के हो भन्नेमा विचार गर्नुपर्ने हुन्छ। हामीमा जन्मजात हुने स्वभावभन्दा पछि विकास भएको ‘तर्कसंगत’ शक्तिलाई निर्णय प्रक्रियाबाट अलग्लै राख्नुपर्दछ ताकि अरूले पनि उदाहरणका रूपमा लिन सकून्, बुझ्न सकून् तथा स्वतन्त्र रुपमा लागू गर्न सकून्।

प्रेमको सन्दर्भमा हामीलाई अरू कसैको बुझाइ आवश्यक पर्दैन। बरु हामी के चाहन्छौं भने अरूले पनि कुनै ‘वस्तु’ प्रतिको हाम्रो प्रगाढ इच्छा गर्ने जुन तौरतरिका छ त्यसलाई सिकून्।

सांस्कृतिक अभ्यासको विगतलाई नियाल्दा विकासवादी आयाममा ‘विश्वास’ लाई निकै स्थान दिइएको छ। जबकि विकासवादी दृष्टिले ‘सामूहिक तर्कसंगतता’ लाई आलोकाँचो र कलिलो मानिन्छ।

‘बुद्धि’ लाई सरल मान्ने गल्ती गर्नु हुँदैन न त यसलाई सजग प्रयासभन्दा निम्न कोटीमै राख्न सकिन्छ। केही नभनीकनै यसबारे जान्न सकिने हुँदा यो तर्कसंगत विश्लेषणभन्दा उन्नत छ।

किनभने यसले हाम्रो सचेत दिमागमा विभिन्न विषयलाई एकैसाथ गतिशील बनाइरहेको हुन्छ।

यो सत्यले हामीलाई घुरेर भनिरहेको हुन्छ– कुनै पनि अनुहार पहिचान गर्न हामीलाई कति सहज हुन्छ जबकि त्यसैलाई वर्णन गर्नुपर्‍यो भने कति गाह्रो। अनि त्यसो हो भने प्रेमको पहिचानचाहिँ के बैग्लै विषय हो र?

मस्तिष्क संयन्त्रमा प्रेम सरल छ भनेर बुझाउनुपर्‍यो भने व्यक्तिलाई एउटा इन्जेक्सन दिने अनि क्लिनिकल छुरा प्रयोग गरेर यी यहाँनेर यसो–यसो भएको हो भन्न सकिन्छ।

विकासवादी जीवविज्ञानको सुष्क र कठोर तर्क मान्दा पनि त यो कुरा सम्भव छैन।

प्रेम जटिल हुँदैनथ्यो भने हामी मानव पहिलो स्थानमा हुने थिएनौं।

प्रेम हाम्रो विचार, भावना र व्यवहारजस्तै दिमागमा हुने शारीरिक प्रक्रियामा आधारित छ र यो ज्यादै जटिल उथलपुथलबीच सम्पन्न हुन्छ।

‘प्रेम भनेको दिमागी रसायन मात्र हो’ भन्नु मुना र मदन, शारजाह र मुमताज, रोमियो र जुलियट भनेका ‘शब्द’ मात्र हुन् भन्नु सरह हुन जान्छ । यसो भनियो भने त मुख्य विषय नै ओझेलमा पर्छ।

कलाजस्तै प्रेम पनि विभिन्न अंशको संयोजन हो। 

तसर्थ, जो जो भाग्यमानीले प्रेमको अनुभव गर्ने अवसर पाएका हुन्छन् उनीहरुले प्रेमको तरंगले बगाएर लैजाओस् भन्ने चाहन्छन्।

कसैलाई प्रेमले बगाएर पानीमुनिको ढुंगामा लगेर बजारिदिन्छ भने पनि तर्कले प्रेमलाई अघि लगाउँदैन भन्ने बुझिन्छ। यो थाहा पाउनु पनि अर्को आनन्द हो।

(युनिभर्सिटी कलेज लन्डनका न्युरोलोजीका प्राध्यापक परसेभ नासेभको बीबीसीमा प्रकाशित लेखको भावानुवाद।)

अनुवाद : महेश्वर आचार्य

प्रतिक्रिया दिनुहोस्