काठमाडौं - सरकारले चालू आर्थिक वर्षको पाँच महिनामा जम्मा २७.७७ प्रतिशत राजस्व उठाएको छ। सरकारले यसवर्ष ११ खर्ब १२ अर्ब ३ करोड आन्तरिक राजश्व उठाउने लक्ष्य राखेकोमा पहिलो पाँच महिनामा लक्ष्यको एक तिहाई पनि उठाउन सकेको छैन। सरकारले हालसम्म ३ खर्ब ८ अर्ब ८२ करोड राजश्व संकलन भएको जनाएको छ। त्यस्तै यसअवधिमा पूँजीगत खर्च पनि ९.०५ प्रतिशत मात्र भएको छ।
महालेखा नियन्त्रक कार्यालयको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार सरकारले ३७ अर्ब ४८ करोड ९३ लाख पूँजीगत खर्च गरेको छ। चालू आर्थिक वर्षको लागि सरकारले पूँजीगततर्फ यसअवधिमा चालू खर्चतर्फ भने विनियोजित बजेटको २५.८० प्रतिशत अर्थात २ खर्ब ४६ अर्ब ९२ करोड खर्च गरेको छ। आर्थिक बृद्धिदर बढाउन सहयोग गर्ने पूँजीगत खर्चको निराशाजनक अवस्थाले सरकारले आर्थिक बृद्धिको लक्ष्य समेत संशोधन गरेको छ। सरकारले यस वर्षको लागि ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य राखेपनि यसलाई परिवर्तन गरी ७.१ प्रतिशत बनाइएको अर्थमन्त्रालयले जनाएको छ।
यस अवधिमा वित्तीय व्यवस्थातर्फ विनियोजित बजेटको ८.४४ प्रतिशत अर्थात १४ अर्ब १६ करोड खर्च भएको छ।
परियोजनाका लागि टेण्डर प्रक्रियामा नै यो अवधि बित्ने भएकाले अबका दिनमा पूँजीगत खर्चमा बृद्धि हुँदै जाने अधिकारीहरुले बताउँदै आएपनि सरकारी खर्चमा भने सुधार हुन सकेको छैन। सरकारले हरेक वर्ष असारे विकासका रुपमा अन्तिम महिनामा मात्रै बजेट सिध्याउने किसिमले खर्च गर्दै आइरहेको छ।
सरकारले चालु आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट ल्याएकोमा ९ अर्ब ५७ करोड चालू खर्च, ४ खर्ब ८ अर्ब पूँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ६७ अर्ब ८५ करोड बजेट छुट्टाएको छ।