बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • सकिएको छैन कांग्रेसमा सदस्यता बहस, ८ लाख बढी क्रियाशील रहेको कांग्रेसमा साधारण सदस्य कति?

सकिएको छैन कांग्रेसमा सदस्यता बहस, ८ लाख बढी क्रियाशील रहेको कांग्रेसमा साधारण सदस्य कति?

८ लाख ५२ हजार क्रियाशील सदस्य भएको कांग्रेसमा साधारण सदस्य (कांग्रेस विधानले साधारण सदस्यलाई सदस्य मात्र उल्लेख गरेको) कति छन्? कांग्रेसले देशभरका सदस्यको हिसाब राखेको छैन।
 |  शुक्रबार, भदौ १८, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं- जब-जब नेपाली कांग्रेसको महाधिवेशन नजिकिन्छ, तब-तब क्रियाशील सदस्यताको विवाद चर्किन्छ। १४औं महाधिवेशनको पूर्वसन्ध्यामा रहेको कांग्रेस लामो समय क्रियाशील विवादको घनचक्करमा फस्यो।

triton college

भदौ १८ गतेबाट वडा तहको अधिवेशन सुरु हुँदैछ। हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक भए पनि अझै २१ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी छ।  

क्रियाशील सदस्य कांग्रेस महाधिवेशनका मतदाता हुन्। सोही कारण गुट, उपगुटले क्रियाशील सदस्यतामा विवाद झिक्ने गर्छन्। महाधिवेशनबाट वडा तहदेखि केन्द्रसम्म क्रियाशील सदस्यकै जगमा नेतृत्व चयन हुन्छ। जसका कारण पार्टीभित्र गुटले धेरैभन्दा धेरै क्रियाशील आफ्नो पक्षमा बनाउन चाहन्छन्। क्रियाशील सदस्यतालाई लिएर कांग्रेस भित्र हुने विवादको मुख्य चुरो यही नै हो। 

कांग्रेसले १४औं महाधिवेशनमा ८ लाख ५२ हजार क्रियाशील सदस्य रहने जनाएको छ। यद्यपि क्रियाशील छानबिन समितिले प्रतिवेदन बुझाउँदा तय भएको त्यो संख्यामा बढ्न सक्ने नेताहरू बताउँछन्। समितिले समधान गर्न नसकेका विवाद मिलाउने क्रममा केही संख्या थप हुने उनीहरुको अनुमान छ।  

८ लाख ५२ हजार क्रियाशील सदस्य भएको कांग्रेसमा साधारण सदस्य (कांग्रेस विधानले साधारण सदस्यलाई सदस्य मात्र उल्लेख गरेको) कति छन्? कांग्रेसले देशभरका सदस्यको हिसाब राखेको छैन। 

corrent noodles
Metro Mart

कांग्रेस विधानको दफा ४ मा २ थरी सदस्य रहने व्यवस्था छ। नेपाली कांग्रेसको 'सदस्य' (साधारण सदस्य) र 'क्रियाशील सदस्य' रहने विधानको व्यवस्था रहेपनि साधारण सदस्यको हिसाबकिताब कांग्रेसले राख्न गरेको छैन। कारण- क्रियाशील सदस्य मतदाता हुन्छन्, भने साधारण सदस्यको भूमिका खासै हुँदैन। जसका कारण क्रियाशील सदस्यता वितरणदेखि नवीकरणसम्ममा कांग्रेसको ध्यान केन्द्रित हुने गरेको छ। 

८ लाख ५२ हजार क्रियाशील सदस्य भएको कांग्रेसमा साधारण सदस्य (कांग्रेस विधानले साधारण सदस्यलाई सदस्य मात्र उल्लेख गरेको) कति छन्? कांग्रेसले देशभरका सदस्यको हिसाब राखेको छैन। 

विधानअनुसार कांग्रेसमा आबद्ध हुने पहिलो खुट्किलो नेपाली कांग्रेसको साधारण सदस्य नै हो। त्यसकै जगमा क्रियाशील सदस्यता पाइन्छ। तर, विधान अनुसार कांग्रेसले क्रियाशील सदस्यता बाँड्दैन। जसका कारण क्रियाशील सदस्यमा सँधै विवाद उत्पन्न हुने गर्छ।  

नेपाली कांग्रेसको विधान २०१७ (नवौं संशोधन)को दफा ४ ले दुई किसिमका सदस्यको व्यवस्था गरेको छ। विधानको दफा ४ (२)ले नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्षपछि पुगेपछि क्रियाशील सदस्यता लिन पाउने उल्लेख छ।

साधारण सदस्यको रेकर्ड नै छैन   

विधानले निर्दिष्ट गरेअनुरूप साधारण सदस्यता प्राप्त गरेपछि मात्रै क्रियाशील बाँड्नुपर्नेमा कांग्रेसले क्रियाशील सदस्यको साधारण सदस्यता छ वा छैन भनेर हेर्ने गरेको छैन। कांग्रेस केन्द्रीय कार्यालयसँग देशभर कति साधारण सदस्य छन् भन्ने यकिन तथ्यांकसमेत छैन। अहिलेसम्म साधारण सदस्यको रेकर्ड केन्द्रीय कार्यालय राखेको छैन। 

‘हाम्रो ध्यान क्रियाशील सदस्यमा मात्रै रहन्छ। अहिलेसम्म साधारण सदस्यको हिसाब हामीले राख्न सकेका छैनौं,’ केन्द्रीय सदस्य गुरुराज घिमिरे भन्छन्, ‘भारतमा बिजेपीका १३ करोड सदस्य छन्। उनीहरुले सिस्टमेटिक ढंगले सदस्यको रकेर्ड राख्छन्। हामी साधारण सदस्यता बाँड्छौं। तर, अभिलेख राख्दैनौं। आगामी महाधिवेशन पछि यसको अभिलेख राख्ने व्यवस्था मिलाउनुपर्छ।’ 

विधानले साधारण सदस्यको रेकर्ड राख्नुपर्ने व्यवस्था गरेको छ। विधानको दफा ४ को उपदफा ४ (ख)को व्यवस्था अनुसार वडा कार्यसमितिले सबै सदस्यको अभिलेख राखी पार्टीको माथिल्लो निकाय पठाउने व्यवस्था गरेको छ। यस्तै सोही उपदफामा जिल्ला कार्यसमितिले मातहतका सबै निकायलाई सदस्यताको विवरण अद्यावधिक राख्न लगाउने र जिल्लााभरको विवरण जिल्ला कार्यसमितिमा राखी प्रत्येक ६ महिनामा प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पठाउनुपनर्ने व्यवस्था गरिएको छ। तर, यसरी रेकर्ड राख्ने अभ्यास कांग्रेसमा छैन। 

‘पार्टी विधानको शासनमा चलेको छैन। विधानले साधारण सदस्यताको अभिलेख राख्न भन्छ। हामी राख्दैनौं। विधानले तीन वर्षसम्म क्रियाशील बाँड चौथो वर्षदेखि नबाँड् भन्छ। हामी त्यसो गर्दैनौं,’ नेता गगन थापा भन्छन्, ‘जब हामीले विधान मान्दैनौं। तब समस्या आइपर्छ।’ 

दुई खालको सदस्यता किन?  

क्रियाशील सदस्यको बोलवाला भएको पार्टीमा साधारण सदस्यता भनेर राखिराख्नुपर्ने आवश्यकता नरहेको कतिपयको टिप्पणी छ। कांग्रेसमा २ किसिमका सदस्यता बाँड्न नहुने र सदस्यता खुला गर्नुपर्ने टिप्पणी थापाको छ। ‘कांग्रेसले २ खालको सदस्यता बाँड्नै हुँदैन। कुनै व्यक्ति पार्टीको सदस्य बन्छु भनेर आउँछ भने त्यसलाई रोक्न मिल्छ? यहाँ हामी त क्रियाशीलका नाममा रोकिरहेका छौं,’ उनी भन्छन्, ‘यस्तो खालको सदस्यता प्रणाली कम्युनिस्ट सांगठिनक संरचनालाई सुहाउँछ। हामीलाई सुहाउँदैन। कांग्रेस कार्यकर्तामा आधारित पार्टी होइन। बेस होइन। त्यसैले कांग्रेसको सदस्यता भनौं। एकै खालको सदस्यता प्रणाली अपनाऔं।’

कांग्रेस इतिहासका जानकार पुरुषोत्तम बस्नेत साधारण सदस्यता लिएको दुई बर्षपछि मात्रै क्रियाशील सदस्यता लिन पाउने व्यवस्था फलो हुन्जेल सदस्यता विवाद नभएको बताउँछन्। जब साधारण सदस्य भएको २ वर्षपछि क्रियाशील पाउने व्यवस्थालाई पालना गरिएन तबदेखि सदस्यता विवाद देखिन थालेको उनको भनाइ छ। 

‘साधारण सदस्यता लिएको २ वर्षपछि मात्रै क्रियाशील सदस्यता लिन पाउने व्यवस्था हुन्जेल समस्या थिएन। साधारण सदस्य हुँदा उसको क्रियाकलाप कस्तो थियो? त्यो हेरेर मात्रै क्रियाशील दिइन्थ्यो,’ बस्नेत भन्छन्, ‘क्रियाशील पाएपछि उसले गाउँ र जिल्ला तहको चुनाव लड्न पाउने स्थिति थियो। तर, साधारण सदस्यताको प्रावधान छ। तर, त्यो नभएजस्तो स्थिति उत्पन्न भएको छ।’ 

यस्तो छ सदस्यतासम्बन्धी विधानको व्यवस्था

४. नेपाली कांग्रेसमा देहाय बमोजिमका सदस्य रहने छन्ः

(१) नेपाली कांग्रेसको सदस्य। 

(२) नेपाली कांग्रेसको क्रियाशील सदस्य। 

(१) नेपाली कांग्रेसको सदस्यता प्राप्त गर्ने योग्यता 

(क) देहायको योग्यता पुगेको नेपाली नागरिक तोकिए बमोजिमको शुल्क बुझाई नेपाली कांग्रेसको सदस्य बन्न सक्नेछ। 

(१) १८ वर्ष उमेर पूरा भएको। 

(२) नेपाली कांग्रेसको आदर्श, उद्देश्य, नीति र विधानमा आस्था भएको छ। 

(३) नेपाली कांग्रेसको अनुशासनभित्र रहन मन्जुर गरेको। 

(४) प्रचलित कानुनले राजनीतिक दलको सदस्य हुन अयोग्य नठहरिएको। 

(५) नेपाली कांग्रेसको सदस्यता प्राप्तिको आवेदन फारममा उल्लेखित प्रतिज्ञा/सपथ लिन मन्जुर गरेको। 

(६) अन्य राजनीतिक दलको सदस्य नभएको वा सदस्यता त्याग गरेको। 

(२) नेपाली कांग्रेसको क्रियाशील सदस्यता: 

धारा ४ (१) बमोजिमको योग्यता भई नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्तिका लागि तोकिए वमोजिमको आवेदन फारम भरी आफ्नो सदस्यता भएको पार्टी वडा कार्यसमितिको कार्यालयमार्फत् तोकिए बमोजिमको शुल्क सहित आवेदन गर्न सक्नेछ। 

(३) देहाय बजोजिमको योग्यता पुगेको नेपाली कांग्रेसको सदस्यले नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गर्नेछ। 

(क) पार्टीको उद्देश्य, नीति, कार्यक्रमलाई निरन्तर सहयोग पुर्‍याउँदै आएको। 

(ख) निर्वाचनमा पार्टीको निर्देशनमा सक्रियतापूर्वक संलग्न रहेको र निर्वाचनको समयमा पार्टी र उम्मेदवारको पक्षमा काम गरेको। 

(ग) पार्टीका विभिन्न कार्यक्रम, अभियान वा आन्दोलनको क्रममा विभिन्न कष्ट, यातना, जेल वा निर्वासन भोगेको। 

(घ) पार्टीले आयोजना गरेको प्रशिक्षण, गोष्ठी, अन्तरक्रिया लगायत राजनीतिक, सामाजिक, सांस्कृतिक एवं विविध रचनात्मक कार्यक्रमहरुमा सक्रियतापूर्वक सहभागी भएको। 

(ङ) पार्टी वा भ्रातृ संघको माध्यमबाट विकास निर्माण र अन्य सामाजिक कार्यमा सक्रिय रहेको। 

(च) प्रचलित कानुनले राजनीतिक दलको सदस्यता लिन अयोग्य नठहराएको। 

(छ) आफूजिम्मा रहेको वा आफूले तोकिए बमोजिम बुझाउनु पर्ने पार्टीको रकम वा सम्पत्ति बुझाउन बाँकी नरहेको वा बुझाउन नपर्ने गरी सम्बन्धित निकायले निर्णय गरेको। 

(ज) आफू प्रतिनिधि सदस्य भएको अधिवेशन र सम्मेलनमा वा उपस्थित हुनु पर्ने बैठक, अधिवेशन, सम्मेलन वा पार्टीले उपस्थित हुन निर्देशन गरेको स्थान र कार्यक्रममा भाग लिएको। 

(झ) जिल्लाभित्र पार्टीको आयोजनामा सञ्चालन भएका विभिन्न कार्यक्रमहरूमा उपस्थित भई सक्रियतापूर्वक जिम्मेवारी पूरा गरेको। तर, पार्टीको अन्य जिम्मेवारीमा जिल्लाबाहिर रहनु पर्ने सदस्यका हकमा र प्रजनन अवधिमा बसेकी महिलाको हकमा यो व्यवस्थाले वाधा पुर्‍याउने छैन। 

(ञ) पार्टी अनुशासन वा आचार संहिताको उल्लङ्घनमा पार्टीबाट कारवाईमा नपरेको। 

(४) नेपाली कांग्रेसको सदस्यता प्रदान गर्ने कार्यविधिः 

(क) नेपाली कांग्रेसको सदस्यको आवेदन फारम पार्टीको सबै निकायमा उपलब्ध हुनेछ। 

(ख) नेपाली कांग्रेसको सदस्यता लिन चाहने व्यक्तिले आवेदन पत्रमा उल्लेखित प्रतिवद्धतामा मन्जुर भई आफ्नो सम्पूर्ण विवरण उल्लेख गरी आफ्नो मतदाता नामावलीमा नाम भएको नेपाली कांग्रेस टोल वा वडा कार्यसमितिको कार्यालय वा पार्टीको जुन सुकै कार्यसमितिमा आवेदन दिन सक्नेछ। प्राप्त आवेदनको आधारमा पार्टी निकायले तुरन्त सदस्यता प्रदान गर्नेछ। सम्बन्धित वडा बाहेकको निकायले सदस्यता प्रदान गरेमा सोको जानकारी सम्बन्धित वडा कार्यसमितिलाई गराउनेछ। वडा कार्यसमितिले सबै सदस्यको अभिलेख राखी पार्टीको माथिल्लो निकायमा पठाउनेछ। पार्टीको जिल्ला कार्यसमितिले मातहतका सवै निकायलाई सदस्यताको विवरण अद्यावधिक राख्न लगाउने र जिल्लाभरिको विवरण जिल्ला कार्यसमितिमा राखी प्रत्येक छ महिनामा प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पठाउनेछ। 

(५) नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्ने कार्यविधिः 

(क) वडा कार्यसमितिले नियमित रुपमा क्रियाशील सदस्यताको सिफारिस गरी गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउनु पर्नेछ। वडा कार्यसमितिले वडा कार्यसमितिको बैठक गरी सोही बैठकमा वडा भित्रका क्रियाशील सदस्य समेत आमन्त्रण गरी क्रियाशील सदस्यता दिनु पर्ने व्यक्तिको नाम कार्यसमितिको बैठकवाट निर्णय गरी राय साथ गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउनेछ। वडा कार्यसमितिले नियमित रुपमा योग्यता पुगेका क्रियाशील सदस्यको नाम सिफारिस नगरेमा गाउँपालिका/नगरपालिका कार्यसमितिले आफू मातहतका वडा कार्यसमितिसंग क्रियाशील सदस्यता दिनु पर्ने नेपाली कांग्रेसका सदस्यको नामावली माग्नेछ। 

(ख) गाउँपालिका/नगरपालिका कार्यसमितिले नाम प्राप्त भएको दुई हप्ताभित्र बैठक गरी सिफारिश भई आएका व्यक्ति विधानको धारा ४ (३) बमोजिम क्रियाशील सदस्यता पाउन योग्य भएमा सोही बमोजिम वडा कार्यसमितिलाई क्रियाशील सदस्यताको फारम उपलब्ध गराउनेछ। 

(ग) वडा कार्यसमितिले सम्बन्धित व्यक्तिलाई फारम प्राप्त भएको दुई हप्ताभित्र फारम भर्न लगाई सिफारिस साथ गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउनेछ। गाउँपालिका/नगरपालिका कार्यसमितिले बैठक गरी क्रियाशील सदस्यताका लागि प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमितिलाई विवरणको जानकारी गराई दुई हप्ताभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गर्नेछ। 

(घ) प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सिफारिस प्राप्त भएको बढीमा एक महिनाभित्र प्राप्त सिफारिसमा योग्यता पुगेका व्यक्तिलाई कार्यसमितिको बैठकवाट निर्णय गरी क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गर्नेछ। प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सदस्यताको सम्पूर्ण विवरण राखी मातहतका निकायलाई राख्न लगाउने र जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पठाउनेछ। 

(ङ) नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय भएको सदस्यलाई केन्द्रीय सभापति, प्रदेश सभापति र जिल्ला सभापतिको हस्ताक्षर भएको नेपाली कांग्रेसको क्रियाशील सदस्यताको प्रमाण पत्र प्रदान गरिनेछ।

प्रकाशित: Sep 03, 2021| 10:05 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...