काठमाडौं- आइतबारबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा आजबाट राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि आजबाट स्थायी समिति सदस्यहरुले धारणा राख्ने भएका हुन् । सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका छ ।
पार्टी कार्यालय धुम्वाराहीमा आइतबार बसेको बैठकमा अध्यक्षद्वयका तर्फबाट प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा छलफलका लागि राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध गरि पाँचवटा एजेन्डा तय गरिएको थियो । आइतबारको बैठकले पाँच वटै विषयलाई स्वीकार गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
के छ राजनीतिक प्रतिवेदनमा ?
अध्यक्षद्वयका तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा एकीकरणमा भएको ढिलाइका कारण पार्टीमा गुटहरू झाँगिँदै गएको उल्लेख छ । गुट मौलाएकै कारण सरकारको काम प्रभावकारी हुन नसकेको समेत निष्कर्ष निकालिएको छ।
प्रतिवेदनमा पार्टी अन्योलग्रस्त रहेको समेत बताइएको छ । ‘पार्टी संस्थागत छैन । विभिन्न प्रकारका गुट झाँगिँदै जान थालेका छन् । पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृत्ति बढिरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।
एकीकरण प्रक्रियामा भएको ढिलाइले उत्पन्न अन्योल, आशंका र निराशा तथा सरकारको कामकारबाहीमा प्रभावकारिताका लागि पार्टीले खेल्नुपर्ने नेतृत्वदायी भूमिकाको कमीले उत्पन्न समस्यालाई पार्टी नेतृत्वले उचित समीक्षा, आत्मालोचना र जिम्मेवारी लिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तीन महिनाभित्र पार्टी एकीकरण गर्ने प्रतिबद्धता पूरा हुन नसक्दा पार्टी र सरकार सञ्चालन प्रक्रियामै समस्या उत्पन्न भएको पनि जनाइएको छ ।
११ पृष्ठ लामो प्रतिवेदनमा पार्टी एकीकरणमा देखिएको समस्या, मौलाएको गुट÷उपगुट, भारतीय पक्षबाट मिचिएको पश्चिम नेपालको सिमाना, चीनको बीआरआई र अमेरिकाले अघि सारेको इन्डोप्यासिफिक रणनीतिबीचको टकराब र उपचुनाव समीक्षासहितका विषय केलाइएको छ ।
प्रतिवेदनको भूमिकामै स्थायी समिति बैठक ढिलोसम्म नबस्नु गम्भीर कमजोरी र विचलन भएको उल्लेख गरिएको छ ।