काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसेको हो ।
यसअघि आजै बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको थियो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको आगामी बैठक र नेपाल–भारत सीमा समस्याबारे छलफल हुनेछ । साथै अन्य विषयमा पनि बैठकमा छलफल हुने उनले जानकारी दिए ।
बैठकमा केहीबेर अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पनि सहभागी भएका थिए । उनले आफ्नो स्वास्थ्यमा तीव्र सुधार भइरहेको जानकारी दिएका थिए ।
एक वर्षपछि नेकपाको स्थायी कमिटी बैठक बस्न लागेको हो । अघिल्लो वर्ष मंसिर २९ गतेयता नेकपा स्थायी कमिटी बैठक बसेको छैन।