काठमाडौं। प्रहरीले सरकारी छाप तथा दस्तखत किर्ते गरेर फरार रहेका तत्कालिन सिँचाइ विकास डिभिजन दोलखाका प्रमुख प्रकाश अधिकारीलाई पक्राउ गरेको छ।
दोलखाका प्रहरी प्रमुख डीएसपी मानबहादुर राईका अनुसार रत्ननगर नगरपालिका–४, चितवन घर भई किर्तिपुर नगरपालिका–२, काठमाडौं बस्ने अधिकारीलाई शनिबार काठमाडौंबाट पक्राउ गरिएको हो। तत्कालीन कार्यरत कार्यालयको सरकारी छाप दस्तखत किर्ते गरेको मुद्दा लागेका अधिकारी फरार थिए।
पक्राउ परेका अधिकारी यसअघि सेवाग्राहीसँग घुस लिएको आरोपमा निलम्बित छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले आवश्यक अनुसन्धानपछि दोलखा प्रहरीलाई पक्राउ गर्न पत्राचार गरेको थियो। पक्राउ परेका अधिकारीलाई दोलखा प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।