भैरहवा– मानव अधिकारको रक्षामा पत्रकारको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीले बताएका छन् । भैरहवामा आयोजित मानव अधिकार र पत्रकार विषयक तालिमको समापन समारोहका वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तिले मानव अधिकारको रक्षामा पत्रकारहरुको भूमिका पनि महत्वपूर्ण हुने बताए । उनले भने, ‘मानव अधिकारको सुनिश्चितता राज्यले गरेको छ । त्यसको सकारात्मक प्रचार गरी मानव अधिकारको प्रत्याभूत गर्ने जिम्मेवारी पत्रकार र सन्चार क्षेत्रले पनि लिनुपर्दछ ।’
मानव अधिकार पत्रकार समाजको आयोजनामा भएको ३ दिने मानव अधिकार र पत्रकारिता विषयक तालिमको समापन गर्दै सभामुख घर्तिले राज्यले सत्य निरुपण तथा मेलमिलापलाई सक्रिय बनाई छिट्टै कार्यान्वयनमा तहमा लैजाने बताए । उनले प्रदेश सरकारले अहिलेसम्म ४८ वटा कानुन बनाएको जानकारी दिँदै ती कानुनलाई कार्यान्वयनमा लैजाँदा मिडियाको सकारात्मक सहयोग र प्रचार आवश्यक रहेको पनि बताए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश ५ का अध्यक्ष मौसम रोकाले पत्रकार जगतले राज्यको प्रदत्त कानुनभित्र रहि जनताका हक र अधिकारको विषयमा सूचित गर्ने काममा अझै खटिनुपर्ने बताए ।
मानव अधिकार पत्रकार समाजका अध्यक्ष घनश्याम खड्काले पत्रकारहरुले मानव अधिकारको विषयमा जानकारी नहुँदा कतिपय समाचारले झनै पीडा दिइरहेको बेला पत्रकारहरुलाई मानव अधिकार र पत्रकारिता विषयमा दिइएको तालिम उपलब्धीमूलक भएको बताए ।
प्रदेश ५ का १२ जिल्लाका पत्रकाहरुको सहभागिता रहेको उक्त तालिममा तीन दिनसम्म मानव अधिकार र पत्रकारिता विषयमा विषयविज्ञहरुले प्रशिक्षण दिएको मानव अधिकार पत्रकार समाजको महासचिव कालिका खड्काले बताइन् ।