काठमाडौ– नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालमा पहिलोपटक क्लिनिकल ट्रायल रजिष्ट्री प्लेटफर्म सुरु गरेको छ। औषधि, खोप, उपकरण आदिको प्रभावकारी अध्ययन, अनुसन्धान गर्नको लागि क्लिनिकल ट्रायल प्लेटफर्मको सञ्चालन गरिएको परिषदका कार्यकारी अध्यक्ष प्रा.डा. अन्जनी कुमार झाले बताए।
प्लेटफर्मको स्थापना भएपश्चात् क्लिनिकल अनुसन्धानकर्ताहरुलाई सहज हुने भएको छ। अब क्लिनिकल ट्रायल गर्न चाहने नेपालीहरुलाई विदेशमा गएर क्लिनिकल ट्रायल रजिष्ट्री गराउनुपर्ने बाध्यता हटेको छ। त्यस्तै विदेशी व्यक्ति वा संघसंस्थाहरुले पनि क्लिनिकल ट्रायल गर्नको लागि नेपालमा रजिष्टर गर्न सक्ने अध्यक्ष झाले बताए।
अब नेपालमै विदेशी तथा स्वदेशी अनुसन्धानकर्ताले मानिसको शरीरमा कुनैपनि प्रकारका खोप तथा औषधिहरु परीक्षण गर्न सक्नेछन्। क्लिनिकल ट्रायल रजिष्ट्री प्लेटफर्ममा रजिष्टर गर्नको लागि डब्लुएचओको मान्यताअनुसार अनुसन्धानकर्ताले अनुसन्धान परिषदले निर्माण गरेको फर्म भर्नुपर्नेछ। साथै आफूले परीक्षण गर्न लागेको विषयको बारेमा विस्तृत रुपमा जानकारी गराउनुपर्नेछ।
के हो क्लिनिकल ट्रायल ?
क्लिनिकल ट्रायल औषधि, खोप, उपकरण आदिको प्रभावकारिताको अध्ययन, अनुसन्धान गर्ने कार्य हो। यसअन्तर्गत मानिसहरुमा कुनैपनि खोप तथा औषधिहरुको परीक्षण गर्न सकिन्छ।
क्लिनिकल ट्रायलसम्बन्धी अनुसन्धानहरु बढिरहेको भन्दै अध्यक्ष झाले मानिसहरुमा औषधि, उपकरण, खोपहरु परीक्षण हुने तर दर्ता नेपालमा नहुने र नेपालमा भएका परीक्षणको डेटा पनि नेपालमा नहुने भएकोले नेपालमै ट्रायल रजिष्ट्री प्लेटफर्म निर्माण गरिएको बताए।
क्षति भए जिम्मेवार को ?
क्लिनिकल ट्रायल नयाँ परीक्षण हो। कुनै पनि नयाँ कुरा परीक्षण गर्दा जस्तोसुकै पनि जोखिम हुन सक्छ। परीक्षण गरिएका व्यक्तिलाई उक्त औषधिले क्षति पुर्याएमा सम्बन्धित अनुसन्धानकर्ता (व्यक्ति वा संस्था) ले नै सम्पूर्ण क्षतिपूर्ति बेहोर्नुपर्ने झा बताउँछन्। झाका अनुसार परीक्षण गरिएको व्यक्तिलाई कुनैपनि किसिमको क्षति हुनु हुँदैन।
ट्रायलमा डराउनुपर्दैन
क्लिनिकल ट्रायलको विषयमा मानिसमा डर उब्जिरहेको विषयलाई प्रस्ट पार्दै औषधि व्यवस्था विभागकी डा. आकृति पोख्रेलले डराउनुपर्ने अवस्था नरहेको बताइन्। उनले भनिन्, ‘कुनै पनि औषधि, खोप लगाएतको परीक्षण गर्ने भन्नेबित्तिकै मानिसहरु डराउनु स्वभाविक हो। तर मानिसमा परीक्षण गर्नुपूर्व दुई चरणमा पहिल्यै परीक्षण भइसकेको हुन्छ। मानिसमा क्लिनिकल ट्रायल गर्दा तेस्रो चरणमा गरिन्छ। त्यसैले जोखिम हुँदैन।’ पहिलो र दोस्रो चरणको परीक्षणलाई मानिसको शरीरमा परीक्षण गर्न नदिइने डा. पोख्रेल बताउँछिन्।
यसअघि नेपालका २० हजार बालबालिकामा टाईफाइडको भ्याक्सिन परीक्षण गरिएको थियो। उक्त परीक्षण पनि तेस्रो चरणको परीक्षण भएको र सफल पनि भएको निर्देशक झाले बताए।
सन् २०१९ मा मात्रै स्वास्थ्य अनुसन्धान परिषदको आचार संहिता बोर्डबाट २१ वटा औषधि, उपकरण तथा खोप लागि परीक्षणको लागि स्वीकृत भएको बताइएको छ। विभिन्न नेपाली तथा विदेशी संंस्थाले पनि स्वास्थ्य अनुसन्धानको अनुमति लिएका छन्। अनुसन्धानकर्ताहरुले डब्लुएचओको मान्यताअनुसार प्रस्ताव ल्याए परीक्षणको लागि अनुमति दिने परिषद्का अध्यक्ष डा. झाले बताए।
अनुसन्धानकर्ताहरुले गरेको परीक्षणपश्चात् स्वास्थ्य अनुसन्धान परिषदमा अनिवार्य रुपमा रिपोर्ट बुझाउनुपर्छ। पहिलोपटक गरेको परीक्षणको रिपोर्ट नबुझाएमा अर्को पटकबाट अनुसन्धानको लागि स्वीकृति दिइँदैन।