सोमबार, चैत २४, २०७६

समाचार अर्थ

सेयर बजारमा अर्थमन्त्रीको बहिर्गमन हल्लाको उत्सव, सूचक र कारोबार दुवैमा रेकर्ड

1582450163up-bull-market-rise-bullish-st.jpg
प्रतिकात्मक तस्बिर

काठमाडौं । आइतबार धेरैजसो पत्रपत्रिका र अनलाइन मिडियामा अर्थमन्त्री डा.युवराज खतिवडाको ठाउँमा वामदेब गौतम सांसद हुने समाचार आएपछि त्यसको प्रभाव सेयर बजारमा परेको छ । डा.खतिवडालाई सेयर बजार विरोधीका रुपमा चित्रण गर्ने लगानीकर्ता यो समाचारले हौसिएपछि बजारमा उछाल आएको हो ।

अर्थमन्त्री खतिवडाले सेयर बजार अनौपचारिक क्षेत्र भएकोले लगानी गर्दा बढी नै संयमता अपनाउनुपर्ने बारम्बार बताउँदै आएका छन्। यही फागुन २० गते डा. खतिवडाको सांसदको समयावधि सकिँदैछ ।

अर्थमन्त्रीबारेको समाचार प्रभाव देखिएपछि आइतबार सेयर बजार परिसूचक ६९.५६ अंकले बढेर १५०४.१४ अंकमा अडिएको छ । यो अंक ३० महिनायताको सबैभन्दा बढी हो। यसदिन कारोबारमा पनि रेकर्ड भएको छ ।

आइतबार १७८ कम्पनीको ८७ लाख ६९ कित्ता सेयर तीन अर्ब ६० करोडमा कारोबार भयो । कतिपयले आजको कारोबारलाई अर्थमन्त्रीको बहिर्गमन उत्सवका रुपमा पनि टिप्पणी गरेका छन्।

आइतबार सुरुदेखि नै बढेको बजार ४३ अंकले बढेर पुनः घटी १९ अंकमा पुगेको थियो । त्यसपछि पुनः बढ्न थालेको बजार एक बजेर २२ मिनेट जाँदा ७५ अंकसम्म बढेर १५०९.९२ अंकसम्म पुगेको थियो । त्यसपछि पुनः विस्तारै घट्न सुरु गरेको बजार पुनः बढ्न थालेर ६९ अंकले बढेको थियो ।

सामान्यतया सेयर बजारमा बढेको बेला बेच्ने र घटेको बेला किन्ने सिद्धान्तले काम गर्ने गरेको हुन्छ तर आइतबार भने यो सिद्धान्तले कुनै काम गरेन । यसदिन हल्लाले लगानीकर्ताको मनोबल हौस्याएको थियो । ‘उनीहरु कम्पनीको विश्लेषण गरेर लगानी गर्नेभन्दा पनि पछि बजार बढ्ने हुँदा अहिले नै सेयर सुरक्षित गर्ने तरखरमा देखिए । जसका कारण बजार ह्वात्तै बढ्यो,’ बजार विश्लेषक अनलराज भट्टराईले भने ।

इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले आइतबार अर्थमन्त्रीलाई लक्षित गर्दै एक स्ट्याटस लेखेका थिए, ‘किन बजार बढ्यो भनेर नसोध्नु है। किनकी सबै कुरा राम्रो हुँदाहुँदै हिजोका दिनमा बजार घटिरहनुपर्ने कारण नै थिएन।’ उनले अर्थमन्त्रीको सेयर बजारलाई हेर्ने दृष्टिकोणका कारण बजार घटेको संकेत गरेका हुन् ।

आइतबार सबै परिसूचकमा हरियाली छाएको छ । बजार धेरैपछि ५ प्रतिशतभन्दा बढीले उक्लिँदा कमजोर देखिएको जलविद्युत कम्पनीहरुले पनि कमाउने मौका पाएका छन्।

यसदिन बैकिङ ८६.०१, ट्रेडिङ ७३.११, होटल्स ११.७७, विकास बैंक ८४.५९, जलविद्युत ३३.७५, फाइनान्स २२.५६, निर्जीवन बीमा १३९.८५, उत्पादनमूलक ३८.६२, लघुवित्त ५४.८९, जीवन बीमा १९२.३६, म्युचुअल फन्ड ०.२८ र अन्य २४.६३ अंकले उकालो लागेको छ ।

आइतबार १० करोड भन्दा बढी कारोबार गर्ने कम्पनीहरुमा एनएमबी बैंक १२ करोड ५६ लाख, नेपाल लाईफ इन्स्योरेन्स ११ करोड ८२ लाख, शिखर इन्स्योरेन्स १० करोड ३७ लाख र हिमालय डिष्टिलरी १० करोड ३४ लाख रुपैयाँ रहेका छन् ।

आइतबार १२ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । त्यस्तै यसदिन सबैभन्दा बढी कमाउनेमा फष्ट माइक्रोफाइनान्स विकास बैंक, एनएमबी बैंक, वदेशी लघुवित्त वित्तिय संस्था रहेका छन् भने बजार बढेको दिन पनि गुमाउनेमा ताारागाउँ रिजेन्सी होटल, बरुण हाइड्रोपावर, पन्चकन्या माई हाइड्रोपावर लगायतका २७ कम्पनीका लगानीकर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्