काठमाडौं – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को खेल तालिका सार्वजनिक भएको छ। आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्धघाटन खेलमा शरद भेष्वाकर कप्तान रहेको पोखरा पल्टन र ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुने भएको छ।
मंसिर २८ देखि पुष १२ सम्म पोखरा रंगशालमा हुने पीपीएलमा कुल १७ खेल हुने छन्। प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउँदै छन्। लिग सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ।
लिग चरण पछि शीर्ष टोली स्वतः फाइनलमा पुग्ने छ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेल्नु पर्ने समिकरण छ। पुछारमा रहने तीन टोली लिग चरणबाटै बाहिरने छन्। गत वर्ष फाइनलमा पोखरा पल्टनले चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो।
पीपीएलमा विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन्स, पोखरा पल्टन र एक्स्पर्ट धनगढी ब्लुजको सहभागिता रहेको छ।
हेर्नुस् खेल तालिका