काठमाडौं– आइएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करण यही मंसिर २७ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ। महोत्सव बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीको संयुक्त आयोजनामा हुन लागेका हो।
महोत्सवमा अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका ११० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक, सेलिब्रेटी एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजकले जनाएको छ। ३५ भन्दा बढी सेसन र थप रोचक सामग्री समावेश महोत्सवमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकको भनाइ छ।
यस वर्ष महोत्सवमा दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवम् गरिमामय डिएससी पुरस्कार प्रदान गर्न लागिएको छ। २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशिबराबरको उक्त पुरस्कार दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो।