बुधबार, वैशाख १२, २०८१

भव्य भयो १३औं साग, लक्ष्यभन्दा बढी स्वर्ण पदक

 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं– विभिन्न आशंकाका बीच मंसिर १५ गते सुरु भएको दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करण मंगलबार भव्यताका साथ सकिएको छ।

triton college

पूर्वाधार निर्माण निकै सुस्त भएका कारण साग तोकिएकै मितिमा हुने आशंका धेरैको थियो। तर, केही सानातिना कमजोरीलाई छाड्ने हो भने सागको उद्घाटनदेखि समापनसम्म भव्य रह्यो।

२०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको मुलुकको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाको गेट झन्डै चार वर्षपछि खुल्यो खेलाडीका लागि।

सागको उद्घाटनमै देखियो भव्यता। दशरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं साग विधिवत् रुपमा सुरु भएको घोषणा गरिन्। त्यसअघि नै केही प्रतियोगिता सुरु भइसकेका थिए।

उद्घाटन कार्यक्रममा नेपालसहित सहभागी सातवटै देशका खेलाडीले मार्चपास गरे। सबै देशको कला, संस्कृति र पहिचान मार्चपासमा झल्किएको थियो।

corrent noodles
Metro Mart

उद्घाटन समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी पनि प्रस्तुत गरिए।

१३औं सागको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी हुन पाएनन्। एपेन्डिक्सको अपरेसन गराएर अस्पतालमा आराम गरिरहेका ओलीले साग उद्घाटन कार्यक्रमको प्रत्यक्ष प्रशारण ट्याबमा हेर्दै नेपाली खेलाडीहरुलाई जितको शुभकामना दिए।

सागको समापन प्रधानमन्त्रीले गर्ने तय भएपनि अस्वस्थताका कारण उनी सहभागी हुन सकेनन्। उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल समापन समारोहका प्रमुख अतिथि बने। समापन कार्यक्रममा प्रधानमन्त्रीकाे भिडियाे सन्देश प्रशारण गरिएकाे थियाे ।

नेपालले तेस्रोपटक साग आयोजना गर्ने अवसर पाएको हो। सन् १९८४ मा नेपालबाटै सुरु भएको साग ९त्यतिबेला साफ० को आठौं संस्करण नेपालले १९९९ मा आयोजना गरेको थियो।

१३औं सागमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका गरी करिब ३ हजार खेलाडीले २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गरेका थिए।

सागको उद्घाटनमा मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोकेका थिए। उनले सन् २००६ मा भएको दशौं सागमा स्वर्ण पदक जितेका थिए। यस्तै सागमा चार पटक स्वर्ण पदक जितेका तेक्वान्दोका दीपक विष्टले ओलम्पिक दीप प्रज्ज्वलन गरे।
१३ औं सागअन्तर्गत काठमाडौं, पोखरा र जनकपुरमा खेलहरू भए। ८ खेल पोखरामा, कुस्ती जनकपुरमा र बाँकी खेल काठमाडौंमा भएका थिए।

लक्ष्यभन्दा बढी स्वर्ण पदक

१३ औं सागमा नेपालले कुल ५१ वटा स्वर्ण पदक जित्न सफल भयो। करातेका मण्डेकाजी श्रेष्ठले करातेको एकल कातामा नेपाललाई पहिलो स्वर्ण पदक दिलाए। उनले पाकिस्तानका खेलाडी नेमतुल्लाहलाई पराजित गरेका थिए।

५१ औं स्वर्ण पुरुष फुटबलमा

पुरुष फुटबलको स्वर्ण पदक नेपालले चुमेको छ। मंगलबार स्वर्णका लागि भएको प्रतिष्पर्धामा नेपालको यू–२३ ले भुटानलाई २–१ ले पराजित गर्दै चौथो पल्ट साग पुरुष फुटबलमा स्वर्ण जितेको हो।

नेपाल अपराजित रहँदै साग फुटबलको फाइनल पुगेको थियो। नेपालको जितमा अभिषेक रिजाल र सुनिल बलले गोल गरे। भुटानका लागि एकमात्रै गोल कप्तान चेन्चो ग्याल्सेनले गरे।

खेलमा अग्रता नेपालले १६औं मिनेटमा अभिषेक रिजालको गोलमार्फत लिएको थियो। अभिषेकले ६ यार्ड बक्स नजिकबाट प्रहार गरेको बलले पोष्टको जाली चुम्न पुगेको थियो। उनले विकास खवासको लामो थ्रोलाई गोलमा परिणत गरेका थिए। तर भुटानका कप्तान चेन्चो ग्याल्सेनले ३६ औं मिनेटमा बराबरी गोल फर्काएपछि पहिलो हाफमा अग्रता बनाउनबाट नेपाल चुकेको थियो।

त्यसपछि दोस्रो हाफमा आक्रामक देखिएको नेपालले थप एक गोल थप्यो। नेपालका लागि सुनिल बलले खेलको ५३औं मिनेटमा हेडमार्फत् उत्कृष्ट गोल गरे। प्रतियोगितामा भुटानले उत्कृष्ट खेल प्रदर्शन गरेपनि फाइनलमा नेपालसँग पाएका केही अवसर गुमाउन पुग्दा पहिलो पटक स्वर्ण जित्दै इतिहास रच्ने अवसरबाट चुक्न पुग्यो।

तर भुटानले सागको फुटबलमा फाइनल पुगेर इतिहास भने कोरिसकेको छ। यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाइनल पुगेको थियो।

सनिलको स्वर्णसँगै भेट्टायो लक्ष्य

सागमा नेपालले ५० वटा स्वर्ण जित्ने लक्ष्य राखेको थियो। सो लक्ष्य बक्सिङमा सनिल शाहीले स्वर्ण पदक दिलाएसँगै पूरा भयो।

सातदोबाटोस्थित कराते हलमा सम्पन्न पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन्। सनिलले भारतका भिरेन्द्रर सिंहलाई अंकको आधारमा हराउँदै स्वर्ण जितेका हुन्।

गौरिकाले तोडिन् आफ्नै रेकर्ड

१३औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत नेपाली पौडी खेलाडी गौरिका सिंहले चौथो स्वर्ण जितेकी छन्।

सोमबार सातबाटोस्थित हिटिङ स्विमिङ पुलमा भएको एक सय मिटर फ्री स्टाइमा उनले स्वर्ण जितेकी हुन्। ९८.१३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै उनले स्वर्ण जितेकी हुन्।

नेपालको साग इतिहासमा एकै संस्करणमा चार स्वर्ण जित्ने उनी पहिलो खेलाडी हुन्। उनले यसअघिका प्रितस्पर्धामा तीन स्वर्ण जितिसकेकी छन्। चौथो स्वर्ण जितेर उनले आफ्नै रेकर्ड तोडेकी हुन्।

महिला फुटबलकी कप्तानको संन्यास घोषणा

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान निरु थापाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेकी छिन्। निरुसँगै राष्ट्रिय टिमकी सदस्य मनमाया लिम्बूले पनि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेकी छिन्।

घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा नेपाललाई रजत दिलाएसँगै निरु र मनमायाले संन्यास घोषणा गरेका हुन्।

भारतसँगको हारलगत्तै प्रशिक्षकले दिए राजीनामा

महिला फुटबल टिम १३ औं सागअन्तर्गत फाइनलमा भारतसँग पराजित भएपछि प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन्। हारको जिम्मेवारी लिँदै महिला टोलीको प्रशिक्षकबाट राजीनामा दिएको खड्काले सञ्चारकर्मीहरुसँग बताएका छन्।

उनी गत वर्ष जेठमा महिला राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका थिए। खड्काकै प्रशिक्षणमा गत वर्ष भुवनेश्वरमा भएको गोल्डकपमा नेपालले भारतलाई पहिलोपटक पराजित गरेको थियो। यस्तै खड्काकै प्रशिक्षणमा नेपाली महिला टोली पहिलोपटक ओलम्पिक छनोटको दोस्रो चरणमा पुगेको थियो।

नेपाली महिला टोलीले सोमबार भारतसँग २–० ले पराजय भोग्दै रजत पदकमा चित्त बुझाएको थियो।

स्वर्ण पदकमा भुटान खाली हात

७ वटा रजत र १३ वटा कास्य गरी २० वटा पदक जितेको भुटान स्वर्ण पदकमा भने खाली हात रह्यो।

भारतले १७२ स्वर्ण, ९३ रजत र ४५ कास्य गरी ३१० वटा पदक जित्यो र पहिलो स्थान हासिल गर्न सफल भयो।

५१ स्वर्ण, ५९ रजत र ९४ वटा कास्य गरी २०४ वटा पदक जितेर नेपाल दोस्रो भयो।

श्रीलंकाले ४० स्वर्ण, ८२ रजत र १२८ वटा कास्य गरी २५० वटा पदक जित्यो।

पाकिस्तानका खेलाडीले ३१ स्वर्ण, ४१ रजत र ५९ कास्य गरी १३१ वटा पदक जिते।

बंगलादेश १९ स्वर्ण, ३२ रजत र ८७ कास्य गरी १३८ वटा पदक जित्यो।

माल्दिभ्सको पोल्टामा १ स्वर्ण र ३ कास्य गरी ४ वटामात्र पदक परे। १३ औं सागमा सबैभन्दा कम पदक माल्दिभ्सले जितेको छ।

१४औं साग पाकिस्तानमा

१४औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० पाकिस्तानमा हुने भएको छ। सोमबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटीले जानकारी दिएको छ।

साथै बैठकले ६ महिनाभित्रमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक पाकिस्तानमा आयोजना गरी १४औं सागको मिति तय गरिने निर्णय गरेको छ।

यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय पनि गरेको छ।

प्रकाशित: Dec 10, 2019| 12:22 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।