एजेन्सी– फिनल्याण्डकी नवनियुक्त प्रधानमन्त्री साना मरिनले फिनल्याण्डलाई बालकदेखि वृद्धसम्मले बाँच्न लायक देश बनाउने बताएकी छिन् ।
३४ वर्षीया प्रधानमन्त्री मरिनले आफ्नो कार्यभार सम्हालेपछि चार वर्षभित्र फिनल्याण्डको स्थिति अहिलेभन्दा राम्रो हुने बताइन्। ‘म यस्तो समाज निर्माण गर्न चाहन्छु, जहाँ बालकदेखि वृद्धवृद्धासम्म मानवीय तरिकाले हुर्कन र बाँच्न सकुन्।’
सोसल डेमोक्रेटिक पार्टीबाट यातायात मन्त्री रहेकी मरिन प्रधानमन्त्री अन्टी रिन्नेले छोडेपछि नेतृत्वमा छनोट भएकी हुन्।
उनले सेन्ट्रल लेफ्ट कोलिसनमा सामेल ५ पार्टीको नेतृत्व गर्दैछिन्। मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन्। युक्रेनका प्रधानमन्त्री ओलेक्सी हाचारुक ३५ वर्षका छन् भने न्युजिल्यान्डकी प्रधानमन्त्री जाकिन्दा अर्डेनको उमेर ३९ वर्ष हो।