चित्लाङ- अशोक सिंह ठकुरी कुनै समय राजनीति गर्थे। मकवानपरको तत्कालीन जिविस सदस्यसम्म बने। तर, राजनीतिले उनलाई खुसीभन्दा बढी कुण्ठा दियो। अनेक तिकडम गर्नुपर्ने ‘फोहोरी खेल’बाट वाक्क भएपछि राजनीतिबाट अलग भएर कृषि क्षेत्रमा समर्पित भए।
काठमाडौंको चन्द्रागिरिबाट दक्षिणतर्फ पर्ने मकवानपुरको चित्लाङ पर्यटकीय गन्तव्यका रुपमा परिचित छ। यो ठाउँलाई अहिलेको अवस्थामा पुर्याउन अशोकको विशेष योगदान छ। त्यसो त चित्लाङ आफैंमा ऐतिहासिक र सांस्कृतिक नगर हो।
नेपालमै पहिलोपटक बाख्राको दूधबाट चीज उत्पादन, बाख्रा फार्म र होमस्टेले चित्लाङको परिचय थप उचाइमा पुर्याएको छ। यो परिचय दिने व्यक्ति उनै अशोक सिंह ठकुरी हुन्।
‘फर्स्ट नेप्लिज गोट चीज’
राजनीति छाडेर कृषक समूहमा बस्दा अशोकलाई खिसिटिउरी गर्ने धेरै थिए। तरपनि कृषि पेसा पैसामात्र होइन, पहिचान हो, जीवन हो र समृद्धिको बाटो हो भन्ने लाग्यो उनलाई।
कृषिमा जोडिएपछि अशोकलाई अरूले भन्दा केही भिन्न काम गर्ने रुचि जाग्यो। जसले आम्दानी मात्र होइन, चित्लाङकै परिचय फेरियोस्। त्यसैले उनले रोजे– बाख्राको दूधबाट चीज उत्पादन।
कतिपय नेपालीलाई बाख्राको दूधबाटै लाखौँ रुपैयाँ कमाउन सकिन्छ भन्ने थाहै छैन। अशोकको फार्ममा बाख्राको दूधबाट उत्पादित चीज काठमाडौंका पाँचतारे होटलमा ३ हजार रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ अहिले।
अशोकले चीज उत्पादन गर्न चाहिने दूधका लागि ९० वटा बाख्रा पालेका छन्। ती बाख्राबाट दैनिक ६० लिटर दूध उत्पादन हुन्छ। उनी होमस्टेमा आउने अतिथिलाई चीजले स्वागत गर्छन्। दैनिक ६ किलो चीज काठमाडौं पठाउँछन्।
चीज उत्पादन सिक्न फ्रान्स
एउटा दातृ निकायको टोलीले मकवानपुरका एक कृषि प्राविधिकलाई सीप सिकाउन फ्रान्स लग्यो। ती प्राविधिक सीप सिक्न छाडेर उतैबाट भागे। त्यसपछि फेरि आएको दातृ निकायको टोलीलाई उनले आफू वास्तविक कृषक भएको र सीप सिक्न चाहेको सुनाए।
अशोकलाई फ्रान्स जाने अवसर जुर्यो। यो थियो २०५९ सालको कुरा। २८ दिन फ्रान्समा बसेर उनले बाख्राको दूधबाट चीज बनाउन सिके। उनी भन्छन्, ‘मैले छोटो समयमै राम्रोसँग काम सिकेपछि उतै बस्न अफर आयो। मलाई २ लाख ५० हजार नेपाली रुपैयाँ तलब दिन्छौँ भनेका थिए तर बसिनँ।’
सीप सिकेर नेपालमै केही गर्ने, कृषक समूहलाई सिकाउने, सबैलाई स्वरोजगार बनाउने चाहना थियो उनको। स्वदेश फर्किए, र, लगत्तै चीज उत्पादन सुरु गरे।
सुरुसुरुमा व्यावसायिक उत्पादन गर्न गाह्रो भयो। गाउँमा बाख्रा कम थिए। कतिपयलाई बाख्राको दूध दुहुन सकिन्छ भन्ने नै थाहा थिएन। उनले गाउँमा बाख्राको दूध संकलन गर्न थाले। संकलित दूध चीज उत्पादनका लागि अपुग भएपछि आफैँले बाख्रा पाल्न थाले।
बाख्राको दूधबाट चीज उत्पादन हुन थालेपछि स्वदेशी–विदेशी पर्यटक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि उनलाई भेट्न चित्लाङ पुग्न थाले। केहीले उनलाई थप सिकाइदिए। कसैले उनीबाट सिक्न थाले। बिस्तारै उनको व्यवसाय फस्टायो।
पर्यटक बढेपछि होमस्टे
काठमाडौंलगायत आसपासका क्षेत्रबाट ‘मुड फ्रेस’ गर्न जाने ठाउँ हो चित्लाङ। पर्यटकहरू अशोकको चीज उद्योग र बाख्रा फार्ममा आकर्षित हुन थाले। चित्लाङ जानेको संख्या बढ्न थाल्यो।
अशोकले २०६१ सालमा होमस्टे सुरु गरे। उनको होमस्टेमा एक रातमा ३० जना अटाउन सक्ने क्षमता छ। होमस्टेमा बाख्रा फार्मका कामदारले नै सघाउँदै आएका छन्। महिनामा २० दिन जति उनको होमस्टे भरिभराउ हुन्छ। पाहुनाले बाख्रा फार्म घुम्छन्, चीज चाख्छन्, कोसेली लान्छन् र फेरि पनि आउने बाचासहित बिदा हुन्छन्। अशोकले राजधानीबाट जानेलाई गाडीको पनि व्यवस्था गरिदिन्छन्।
मासिक ३ लाख आम्दानी
अशोकले चीजबाट मासिक २ देखि साढे २ लाख र होमस्टेबाट ५० हजारदेखि १ लाख रुपैयाँसम्म कमाउँछन्। उनको ठूलो खर्च छैन। बाख्रापालनका लागि लिएको केही ऋण छ। त्यसको ब्याज र किस्ता तिर्नुपर्छ। चीज उत्पादन गर्ने मेसिन फ्रान्सेली दाताले नै दिएका हुन्। उनको कान्छो छोरा होटल म्यानेजमेन्ट पढ्दैछन्। जेठा छोराबुहारीले बुवाको काममा सघाइहेका छन्। होमस्टेका ‘कुक’, ‘वेटर’, ‘हेल्पर’ पनि उनीहरु नै हुन्।
‘बाख्रा फार्ममा ७ जना कामदार छन्। उनीहरूलाई तलब दिनुपर्छ। ठूलो खर्च नभएपछि बचत नै छ भन्नुपर्यो,’ अशोक भन्छन्।
दूधका लागि थरीथरीका बाख्रा
अशोकको बाख्रा फार्ममा विभिन्न जातका बाख्रा छन्। तीमध्ये अधिकांश जर्मन सान्नेन जातका बाख्रा छन्। यसले स्थानीय जातको बाख्राको भन्दा बढी दूध दिन्छ। उनीसँग बोयर जातको बोको छ। यसको प्रजनन्बाट उत्पादन हुने पाठा छिटो हुर्किन्छन् र स्वस्थ हुन्छन्।
होमस्टेका पाहुनालाई वाइनले स्वागत
हामेस्टेमा पुग्नेलाई उनी आफैंले उत्पादन गरेको वाइनले स्वागत गर्छन्। होमस्टे सञ्चालनको एक–डेढ वर्षपछि रामपुर कृषि क्याम्पसमा अध्ययनका लागि आएका बेल्जियमका विद्यार्थीले उनलाई बेल्जियम जाने ‘अफर’ गरे सीप आदानप्रदानका लागि।
नेपालमा पनि बाख्राको दूधको चीज उत्पादन हुन्छ भन्ने देखाउन, अनुभव सुनाउन र नयाँ कुरा सिक्न विद्यार्थीले आग्रह गरेपछि उनी बेल्जियम गए। त्यहाँको बसाइमा उनको जीवनमा नयाँ सीप थपियो।
अशोकले तीन महिना बेल्जियम बसेर वाइन बनाउन सिके। अहिले मौसमी फलफूलबाट अर्गानिक वाइन उत्पादन गर्छन्। वाइनको व्यावसायिक उत्पादन गर्ने रहर पूरा भएको छैन। भन्छन्, ‘लाइसेन्स लिन प्रयास गरेको लामो समय भइसक्यो। पैसा खुवायो भने लाइसेन्स सजिलै आउँथ्यो, तर म खुवाउँदिनँ।’
सन्तुष्टिसँगै समस्या पनि
सुरु–सुरुमा बाख्राको दूधबाट चीज उत्पादन गरेर बजार व्यवस्थापन गर्नु चुनौतीपूर्ण थियो। बाख्रापालन, तीनको स्वास्थ्य, लगानी सुरक्षालगायत समस्या पनि थिए। किसानलाई ऋण पाउनै गाह्रो। ऋण दिन पनि बैंकहरुले कमिसन खोज्ने प्रवृत्ति।
बिमा कम्पनीको ठगीले पनि अशोक वाक्क छन्। ‘एक पटक बाख्रा मर्यो। मरेको बाख्रो गाडिदियौं। बिमा रकम माग्दा किन गाडेको ? बिमा पाइँदैन भनेपछि बिमा कम्पनीका कर्मचारीलाई लखेटेँ। बिमा कम्पनीका कर्मचारी अनुगमनमा आउने बेलासम्म मरेको बाख्रो कसरी राख्ने? बिमाले ठग्ने नियत राख्यो, मैले बिमाको झन्झट छोडिदिएँ,’ उनले समस्या सुनाए।
समस्या त छन् नै तर त्योभन्दा ठूलो कुरा सन्तुष्टि छ। ‘परिवारसँगै छु। सबैको माया पाएको छु। चित्लाङको थप प्रचार भएको छ, खुसी छु। राजनीतिमा भएको भए वा राम्रो तलबको लोभमा विदेशतिरै बसेको भए खै कता हराउँथे ?’उनी सन्तुष्टि व्यक्त गर्छन्।
सबै तस्बिर : दिनेश श्रेष्ठ